नेताहरूमा कोरोना संक्रमण बढ्दै

|

काठमाडौं : कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित देशको ठूला शहरहरूमा निषेधाज्ञा लागू भइसकेको छ। यस बेला राजनीतिक दलहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन्। उनीहरू स्वार्थ केन्द्रित लडाइँमा नै व्यस्त छन्। एकापसमा दोषारोपणमा नै समय बिताइरहेका छन्।

कोरोनाको पहिलो लहरमा पनि राजनीतिक दलहरूको भूमिका उल्लेख्य रहेको थिएन। दोस्रो लहर तीव्ररूपमा फैलिएपछि लगाइएको निषेधाज्ञाले सर्वसाधरणको जनजीवन अस्तव्यस्त बनिरहँदा राजनीतिक दलहरूले अझै गम्भीरताको साथ नलिएको टिकाटिप्पणी भइरहेका छन्। चुनावताका जनतालाई आश्वासनको पोका बाड्ने राजनीतिक दलले कोरोना रोकथानमा कुनै भूमिका नखेलेको सर्वसाधरणको गुनासो छ। 

गत साल पनि कोरोना प्रकोपका बेला राजनीति दलहरू खिचातानीमा व्यस्त थिए। यस वर्ष पनि उनीहरू त्यही दलदलमा नै रकेका छन्।  राष्ट्रिय जनामोर्चाकोे अध्यक्ष चित्रबहादुर केसी कोरोना रोकथाममा गम्भीर बन्नुपर्ने बेलामा सरकार सांसद किनबेचको व्यापारमा लागेको आरोप लगाउँछन्।

‘कोरोनाले देश आक्रान्त बनिरहेको छ। सरकारमा बसेको व्यक्तिको जनताप्रति कुनै ध्यान छैन‚' उनले भने‚ 'सबै आफ्नो व्यक्तिगत स्वार्थमै केन्द्रित भइरहेका छन्। अब सरकारले सांसद किनबेचको फोहोरी खेल छाडेर कोरोना रोकथामतिर लाग्नुपर्छ।’

नेताहरूमा नै कोरोना संक्रमित

कोरोना महामारीका बेला कार्यकर्ता भेला गर्दै विभिन्न ठाउँमा पुगेका नेता‚ मन्त्री तथा सांसदहरूमा  कोरोना संक्रमणको सिकार बनेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा सहभागी केही नेतालाई समेत कोरोना संक्रमण भएको छ। 

सार्वजनिक कार्यक्रमको दौडमा रहेको ऊर्जामन्त्री टोपबहादुर रायमाझी, नेताहरू खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेललगायतलाई कोरोना संक्रमण भएको छ। मन्त्रिपरिषदका सदस्य र आफू निकट नेतामा कोरोना देखिएपछि ‍प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्रयाक ट्रेसिङमा परेको चर्चा भएको थियो। तर‚ उनको सचिवालयले त्यसको खण्डन गरेको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नका लागि गरिको परीक्षणमा केही नेताहरूलाई संक्रमण देखिएको छ। जसका कारण कांग्रेस बैठक बस्न सकेन। यी दृष्टान्तले नेताहरुमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। 

दलहरूको आ-आफ्नो दाबी 

सत्ताधारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साता बैठक राखेर कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले स्थानीय तहहरूसँग समन्वय गरेर जनतालाई सहयोग गर्न निर्देशन दिएका थिए।

क्वारेन्टाइन र आइसोलेसन केन्द्रको स्थापना गर्न नेता कार्यकर्तालाई आग्रह गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि एमालेका नेता तथा कार्यकर्ता उक्त काममा लागेको उनीहरुको दाबी छ। 

यता, प्रमुख प्रतिपक्षी कांग्रेसले पनि सरकार कोरोना रोकथाम तथा न्यूनीकरणमा गम्भीर नभएको निष्कर्षसहित आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई कोरोना रोकथममा लाग्न आग्रह गरिसकेको सहमहान्त्री डा. प्रकाशशरण महत बताउँछन्। 

‘हामीले यसअघि कोरोना फैलिएको बेलामा पनि सरकारले भन्दा धेरै खटिएर रोकथाम तथा न्यूनीकरणमा भूमिका खेलेका थियौं' उनले भने‚ 'अहिले पनि सभापतिज्यूले कोरोना रोकथाम तथा जनचेतना जगाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिइसक्नुभएको छ।’

नेकपा माओवादी केन्द्रले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। गत मंगलबार बसेको स्थायी कमिटी बैठकले उक्त माग गर्ने निर्णय गरेको थियो। 

‘कोरोनाको दोस्रो लहरले देशमा नकारात्मक असर पार्नसक्छ‚' माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने‚ 'त्यसलाई मध्यनजर गर्दै सरकार, नागरिक समाज र पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.