|

संखुवासभा : जिल्ला कारागार संखुवासभामा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव समूहबीच भएको सहमतिको भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन्। नेता लामालाई परिवारको जिम्मामा छाडिएको छ। उनी शुक्रबार काठमाडौं जाने परिवारिक स्रोतले जनाएको छ।

सरकार र विप्लव समूहबीच गत फागुन २१ मा सहमति भएको थियो। सोही अनुसार गृह मन्त्रालयले उक्त समूहका नेताहरूलाई रिहा गर्न सर्कुलर गरेको थियो।

लामा २५ हजार रुपैयाँ धरौटी बुझाएर मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए। लामा २०७६ साउन ५ मा काठमाडौंबाट पक्राउ परेका हुन्। त्यसयता उनलाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको थियो। जिल्ला अदालतले संगठित रूपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी नबुझाएपछि उनी २०७६ फागुन ७ गते कारागार चलान भएका थिए।

नेता लामा तत्कालीन माओवादी पार्टीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए। तर, पार्टी विभाजनपछि मोहन वैद्य नेतृत्वकको पार्टीमा गएका थिए। त्यसपछि उनी विप्लव समूहमा लागेका थिए। माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेको छन्। सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ। उनले सयौं जनवादी गीत रचना‚ संगीत र गाएका छन्।

नेता लामा रिहा भए पनि खाँदबारी कारागारमा रहेका संखुवासभा इन्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राईसहित आधा दर्जन नेता कार्यकता भने रिहा भएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.