यसरी भएको थियो हत्‍या...

|

अजय साह

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा घरमा सुतिरहेकै ठाउँबाट वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरेर हत्या गरेको आरोपमा ७ जना जेल चलान भएका छन्।

गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा पिपरा गाउँपालिका-५ सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज (शुक्रबार) जेल चलान गरेको हो।

जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो।

जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासबाट प्रतिवादीहरु कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजीन्द्र यादव र विकास भन्ने बब्लु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएको छ।  झाले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो।

घटनामा संलग्न अन्य दुईजना रञ्जित मिश्र र तेजनारायण झाको हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश दिएको छ।

महोत्तरी जिल्ला अदालतमा मुद्दा नं ०७७–सी१–०२७६ मा प्रतिवादीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दाहरु वैशाख ३ गते दर्ता भई बयान कार्य सम्पन्न भएर आज उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो।

फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब भएका झा दम्पतीको चैत १२ गते एक महिना दुई दिनपछि प्लाष्टिकको बोरामा शरीरका सबै मासु गलिसकेर कंकाल मात्र बाँकी रहेको अवस्थामा माटोमा गाडेको अवस्थामा फेला परेको थियो।

पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कंकाल रहेको बोरा आएपछि झा दम्पतीको अवस्था पत्ता लागेको थियो।

घटनामा संलग्न रहेका ९ मध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा ७ जना जेल चलान भएका हुन्। घटनामा संलग्न अन्य दुई जनाको पनि प्रहरीले दैनिक खोजतलास गरिरहेको र चाँडै फेला पार्ने प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए।

यस्तो थियो घटना

महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ  खाना खाएर सुतेका थिए। तर विहान उनिहरु सुतेको ओछ्यानसहित बेपत्ता भए।

चौतर्फी खोजतलास गर्दा पनि भेटिएन। तर चैत्र १२ गते घटनाको ३० दिन पछि उनीहरुको शव माटोमा गाडीएको अवस्थामा फेला पर्‍यो।

एक महिनापछि चैत्र १२ गते  झा दम्पतीको शव पिपरा–२ मा गाडिएको अवस्थामा भेटियो। शवलाई गलाउन नुनको पनि प्रयोग गरिएको प्रहरीले जनायो।

प्रहरीले जग्गा विक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको निष्कर्ष निकालेको छ।

कान्छी बुहारी उषा झाले भनिन्, ’साँझ खाना खाएर आ आफ्नो कोठामा सुत्न गएका थियौं। भोलिपल्ट बिहान मेरो कोठा बाहिरबाट बन्द गरिएको थियो। नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन्। सासुससुरा घरमा थिएनन्, कोठा पनि खुला थिए। अंशुले सोचिन्, ‘अरुवेला बिहानै उठेर तोरी उखेल्न जानुहुन्थ्यो, त्यतै जानुभयो होला।’

                                                                                              हत्या गरिएका वृद्ध दम्पती    

उषासँग कुराकानी गर्दै अंशु ससुराको मुसाफिरको कोठा पुग्दा ओछ्यान देखिनन्। ‘रगत पानीले पखालेको जस्तो लागेपछि उनले प्रहरीलाई खबर गरिन्। प्रहरीले एउटै घरमा सुत्ने हुनाले कान्छी बुहारीमाथि अनुसन्धान ग¥यो, तर केही शंकास्पद विषय भेटिएन। झा दम्पतीको पनि अत्तोपत्तो थिएन।

उषाको अनुसार घटना भएको राती छिमेकमा विवाह उत्सव चलिरहेको थियो। विहेमा चर्को ध्वनीमा गीत बजिरहेका वेला बुबाआमालाई के भयो केही थाहा पाइएन। उनले भनिन्, ‘बिहान ३ः१५ बजेतिर उठ्दा गेट बाहिरबाट लागेको पाएँ, सासुले सुन्नुहोस् भनेर कराएँ पनि’, उनले सम्झिइन्, ‘केही नबोल्नु भएपछि कान कमजोर भएकाले सुन्नु भएन होला भन्ने ठानेर  सुतेँ।’

यसरी सुरु गरेको थियो प्रहरीले अनुसन्धान

मुसाफिर मालपोतका अवकाश प्राप्त सुब्बा थिए। त्यसैले रिसिइबी हुनसक्ने आशंकामा प्रहरीले अनुस्न्धान गरिरहेको थियो। त्यसक्रममा मुसाफिरलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा विक्री गर्न दबाब दिने गरेको सूचना पायो।

जग्गा जमिनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर नजिकै थियो, उनलाई केही जानकारी हुनसक्ने आधारमा प्रहरी गयो। उनको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीले थप सर्च अपरेशन चलायो र यादवसहित उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादवलाई नियन्त्रणमा लियो।

बयानका क्रममा उनीहरुले त्यो रंग भएको बताए। तर विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरपेछि अनुसन्धान रामबाबुमाथि केन्द्रीत भएको अनुसन्धानमा खटिएका एक अधिकृत बताउँछन्।

उनीमाथि अनुसन्धान केन्द्रीत भएपछि प्रहरीले जग्गाका मुख्य मालिक भारतीय नागरिक रहेका जग्गा व्यवसायी हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण ग¥यो। त्यसक्रममा ठाकुर १० फागनुमा काठमाडौंबाट जनकपुरधाम आएर भोलिपल्ट फर्किएको देखियो। प्रहरीले ठाकुरलाई पनि काठमाडौंबाट पक्राउ गरेर महोत्तरी पु¥यायो, तर, बयानमा उनले काठमाडौंबाट जनकपुर पुगेको स्वीकार गरेनन्।

‘पोलिग्राफ शाखामा लगेर बयानको सत्यता परीक्षण गर्दा उनले ९९ प्रतिशत झुठो बोलेको देखियो’, प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंह भन्छन्, ‘यसले उनीहरुको संलग्नता हुनसक्ने आशंकालाई थप बल पुर्‍याएको थियो।’

अनुसन्धान जारी रहेका वेला हरेन्द्रले भने आफूलाई फसाउन खोजिएको दाबी विभिन्न व्यक्ति मार्फत सार्वजनिक गराएको प्रहरी अधिकृतहरु बताउँछन्। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बोलाएर अनुसन्धान थालिएको प्रहरी अधिकृतहरु बताउँछन्।

ब्युरोले एक जना इन्स्पेक्टरको टोली अनुसन्धानमा खटाएको थियो। सीआईबीले पनि जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर ग¥यो तर, झा दम्पतीको अवस्था अज्ञात रहृयो।

पक्राउ परेकाहरुले अभियोग स्वीकार गरेका थिएनन्, तर उनीहरुको संलग्नता देखिएपछि महोत्तरी प्रहरीले पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गरे। ‘रामबाबुको घरमा रगतको टाटा भेटिनु, रिसिइबी पनि हुनु र प्राविधिक विश्लेषणले पनि घटनामा चार जनाको संलग्ता देखिएको छ’, एसपी एसपी दिनेश आचार्यले भनेका थिए।

झा दम्पतीको हत्या गरेर शव गाडेको वा पोखरीमा गह्रौ वस्तुले थिचेर राखेको हुनसक्ने प्रहरीको आशंका थियो। ‘हामीले महोत्तरी र धनुषाका ४२ वटा पोखरीमा खर्च गरिएको थियो भने केही पोखरीको पानी निकालिएको थियो’, डीआईजी सिंहले सुनाए, ‘खोजीमा र्‍याफ्टिङ बोट पनि प्रयोग गर्‍यो।’

शंकास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली बिहीबार झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम–दक्षिणको पिपरा–२ मा पुगेको थियो।

बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको डीआईजी सिंहले बताए। ‘शवको अवस्था हेर्दा अपहरणपछि तत्कालै हत्या गरेर गाडिएको जस्तो देखिएको छ’, उनले भने, ‘झा दम्पतीको शव छोरा मनिषकुमारले कपडा र आमाको पोतेका आधारमा सनाखत गरेका छन्।’

जग्गा बेच्न  नमान्दा हत्या

प्रहरीका अनुसार हरेन्द्र ठाकुरले प्लटिङ गर्ने तयारी सहित झा दम्पतीको १४ कठ्ठा जग्गा खरिद गर्ने प्रयास गरेका थिए। ठाकुरले आँखा लगाएको जग्गा विक्री गर्ने विषयमा झा पत्नी गीतादेवीको असहमति थियो।

पतिलाई पनि जग्गा बेच्न त्यति इच्छा थिएन। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार ठाकुरको नाममा अगाडि र अन्तिममा पनि जग्गा थियो। बीचको जग्गा विक्री गरिदिन उनीहरुले डेढ वर्षदेखि आग्रह गरेका थिए। केही सीप नलागेपछि उनीहरुले धम्की दिएको छिमेकीहरुले बताए।

वडा नं. ५ का वडाध्यक्ष शम्भुप्रसाद यादव पनि झा दम्पती हराएपछि छिमेकीहरुले जग्गा विवादबारे बताएको सुनायो। झा दम्पतीले जग्गा विक्री नगरे कै कारण अपहरणपछि हत्या गरिएको देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सिंह ले पनि बताए ।

जेठी बुहारी अंशु भन्छिन्, ‘सासु–ससुराको यस्तो हालत गर्ने व्यक्तिलाई पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.