भारतसँग पनि सम्पर्कमा छौँ : मन्त्री ज्ञवाली

|

काठमाडौं : कोरोना साम्य भएको छिमेकी मुलुक चीनसँग प्रत्येक दुई–दुई महिनामा छलफल गरिरहेको सरकारले दक्षिणतर्फको छिमेकी भारतसँग पछिल्लो समय खासै छलफल गरेको छैन।

बिहीबार पनि नेपाल र छिमेकी मुलुक चीनका उच्चस्तरीय सुरक्षा टोलीबीच वार्ता भयो। नेपाल-चीन सीमा सुरक्षा अधिकारीहरूहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) लगाइ रसुवास्थित मितेरी पुलमा छलफल गरेका हुन्‌।  

यतिखेर भारतमा संक्रमण तीव्र फैलिरहेको छ। नेपाललाई पनि भारतकै हालतमा नपुर्‍याउन दुई देशबीचको खुला सीमा व्यवस्थित र नियमन गर्नु अत्यावश्यक भइसकेको छ। यस्तो स्थितिमा दुई देशबीच तत्काल संवाद हुन आवश्यक देखिन्छ। तर, त्यसो हुन सकेको छैन।  

कोरोना रोकथाम तथा न्यूनीकरण विषयमा चिनियाँ अधिकारीसँग छलफल भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए। ‘कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य मापदण्ड, नाका क्षेत्रको अवस्था र आवश्यक सहयोगको विषयमा चिनियाँ टोलीसँग छलफल भएको छ। उहाँहरू नेपालमा महामारी नफैलियोस्‌ भन्नेतर्फ निकै संवेदनशील हुनुहुन्छ’, उनले भने। 

चीनको वुहानबाट शुरू भएको भनिएको कोरोना भाइरसबाट विश्व नै प्रभावित छ। अन्यत्र महामारीको दोस्रो र तेस्रो लहर भयावह बनिरहँदा चीनले त्यहाँ महामारी नियन्त्रण गरिसकेको छ।

चीनसँग निरन्तर रूपमा द्विपक्षीय वार्तामा बसेपनि भारतसँग कोरोना नियन्त्रणका लागि वार्ता भने बस्न नसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वीकार्छन्।  

चीनमा हाल कोरोना संक्रमण फैलिएको र यसबाट मानवीय हताहती भएकोबारे खासै समाचार बाहिरिएका छैनन्। पहिलो चरणमा भयावह स्थिति बेहोरेको चीनले दोस्रो लहरमा भने सुरक्षा सावधानी अपनाएकै कारण यसबाट बच्न सकेको जानकारहरू बताउँछन्।  

भारतसँग छैन द्विपक्षीय वार्ता

दुई-दुई महिनामा चीनसँग विभिन्न तहका बैठकमा बसिरहेको सरकारले अर्को छिमेकी र खुला सीमा भएको भारतसँग भने एकपटक पनि वार्ता गरेको छैन।

भारतमा अहिले कोरोनाका कारण दैनिक हजारभन्दा बढी संक्रमितको ज्यान गइरहेको छ। एकै दिन थपिने संक्रमित २ लाखभन्दा बढी छन्। 

तर, सरकारले भारतमा कोरोना अवस्था र त्यसको असर नेपालमा पर्न नदिनेबारे स्पष्ट नीति बनाएको छैन। बरू, त्यहाँ फैलिएको कोरोनाको विभिन्न भेरियन्ट नेपालमा पनि फेला पारिएको छ र संक्रमितहरू बढिरहेका छन्‌। 

​दुवै देश (नेपाल-भारत) संयुक्त योजना वा आपसी संवेदना आदानप्रदानमा जुट्न सकेका छैनन्। जबकी भारतले कोरोना नियन्त्रण गर्न पहिलो चरणमा नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप  नै पठाएर सद्भाव देखाएको थियो। 

खुला सीमाका कारण नाका कडाइ गरिएपनि नेपालमा संक्रमणदर भने घट्नुको साटो झनै बढिरहेको छ। सीमा नाकामा आवातजावत नियन्त्रण गरेपनि नेपालमा कोरोना भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको छ। भारतसँगको खुला सीमाले कोरोना नियन्त्रणमा चुनाैती थप्दा चीनसँग चाहिँ वार्ता जारी छ। 

चीनसँग निरन्तर रूपमा द्विपक्षीय वार्तामा बसेपनि भारतसँग कोरोना नियन्त्रणका लागि वार्ता भने बस्न नसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वीकार्छन्।  

‘चीनसँग सीमा नाकाको विषयमा वार्ता भइरहेको छ, तर भारतसँग औपचारिक वार्ता भएको छैन,' उनले थाहाखबरसँग भने, 'टेलिफोन संवाद र अन्य माध्यमबाट सम्पर्कमा छाैं, यहाँका सिडियो र भारतका अधिकारीहरूबीच छलफल भइरहेकै हुन्छ।’

‘मापदण्ड लागू गरेका छौँ’

सरकारले तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै आउन नपाउने निर्णय पनि गरेको ज्ञवालीले बताए।

भारतीय नागरिकको हकमा नागरिकको पीसीआर रिपोर्टसहित नेपाल प्रवेश गरेपछि मापदण्डअनुसार आइसोलेसनमा बस्नुपर्छ।

साथै, सीमा नाकामा हेल्थ डेक्स र होल्डिङ सेन्टरमा राखेर परीक्षण गरेपछि मात्रै नेपालतर्फ आउन सकिने व्यवस्था गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.