|

सर्लाही : बरहथवा नगरपालिका–३ हजरिया कोइरी टोलका रामप्रसाद महतोले दुई वर्षअघि भैंसी पालन सुरु गरे। आठवटा भैंसी पालेर व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले सानाठूला गरी ३९ वटा छन्। तीमध्ये १७ वटाले दुध दिइरहेका छन्।

१०० वटा भैंसी पाल्ने योजनाका साथ व्यवसाय थालेका महतोले अहिले मनग्य आम्दानी गरिरहेका छन्। दैनिक करिब १०० लिटर दुध बेच्छन्। प्रतिलिटर ६० रुपैयाँले डेरीलाई दुध बिक्री गरेको उनले बताए। ‘बजारको समस्या छैन,’ उनले भने, ‘गाउँघरमै सञ्चालन भएका डेरीले जति भए पनि दुध घरबाटै लैजान्छ।’

केही महिना पहिले सबै भैंसीले दुध दिइरहेको बेला २०० लिटरभन्दा बढी बेचेर दैनिक १२ हजार रुपैयाँ लिएको महतो बताउँछन्। १५ लाख रुपैयाँ लगानीले थालेको व्यवसायबाट उनले अहिले खर्च कटाएर मासिक एक लाख रुपैयाँ कमाइ गर्दै आएको छन्।

फार्ममा उत्पादन भएको गोबर पनि बिक्री हुने गरेको छ। मल स्थानीय किसानहरुले किन्ने गरेको छन्। गोबरमल बेचेर एक वर्षमा तीन लाख रुपैयाँ आम्दानी गरेको महतोले बताए। उनले भैंसीलाई आवश्यक पर्ने घाँसका लागि एक बिघा जग्गामा बारीमा नेपिएर, स्टाइलो, जैलगायत जातका घास लगाएका छन्। डाले घाँस पनि उनको बारीमा छ।

यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि यस क्षेत्रमा पशुपालन व्यवसाय गर्ने किसान बढ्न थालेको महतो बताउँछन्। स्थानीय स्तरमा दुग्धजन्य परिकार उत्पादन र दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि किसानलाई झन् राहत मिलेको उनको बुझाइ छ। 

स्वदेशमै केही गर्ने सोचले २०७६ सालदेखि व्यावसायिक भैंसीपालन सुरु गरेको महतो बताउँछन्। उनी भन्छन्, ‘रोजगारीका लागि विदेश नै जानु पर्छ भन्ने छैन, मेहनत र सिप भए स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।’ आफू र परिवारका सदस्यले मात्र भैंसी स्याहार्न नसक्ने भएकाले उनले दुईजना युवालाई रोजगारी दिएका छन्। यही व्यवसायको कमाइबाट उनले केही जग्गा समेत जोडेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.