काठमाडौं : घाटमा शव पोलेकोदेखि अस्पतालमा कोरोना संक्रमितको चित्कारका श्रव्य-दृश्य सामाजिक सञ्जालमा भेटिरहेका छन्। नाकादेखि सडक/गल्ली सम्मका खबर अपडेट भइरहेका छन्।
यतिखेर देशका विभिन्न क्षेत्रमा सरकारले लगाएको निषेधाज्ञा जारी छ। कोरोना जोखिम न्यूनिकरण गर्न घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ।
अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरू कोरोनाको उच्च जोखिममा रहेका छन्। विशेषगरी सूचना प्रकाशन र प्रसारण गर्न अस्पताल, नाका र घाटमा खटिएका पत्रकारहरू कोरोना संक्रमणको उच्च जोखिममा छन्।
कोरोना महामारीको पहिलो चरणमा देशभर करिब ५ सयभन्दा बढी पत्रकार संक्रमित भएका र ७ जना पत्रकारको ज्यान गएको तथ्यांक नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको छ।
यो पटक कोरोनाको दोस्रो लहर भर्खर शुरू भएकोले कति पत्रकारहरू संक्रमित भएका छन् भने एकीन तथ्यांक महासंघले प्राप्त गरिसकेको छैन।
वैशाख ८ गते कोरोना संक्रमणका कारण दाङका एक पत्रकारको मृत्यु भएको थियो। घोराही उपमहानगरपालिका–१७ निवासी ४१ वर्षीय दामोदर अधिकारीले संक्रमणपश्चात् ज्यान गुमाएका थिए।
केही हप्ताअघि उनलाई टाइफाइड देखिएको थियो। उपचाररत अधिकारीको पीसीआर जाँच गर्दा चैत २७ गते कोरोना पुष्टि भएको थियो। संक्रमित रहेको थाहा भएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेसनमा उपचाररत थिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचार निम्ति काठमाडौँमै ल्याइएको थियो।
समाचार संकलन गर्दा संक्रमित भई ज्यान गुमाएका अधिकारी एक उदाहरण हुन्। अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा कार्यरत पत्रकारहरू कोरोना संक्रमित भएका घटना सार्वजनिक भइसकेका छन्।
उनीहरूमध्ये कतिपय अस्पतालमा उपचाररत रहेका छन् भने कतिपय घरभित्रै आइसोलेसनमा बसिरहेका छन्।
पत्रकारलाई उपचार गर्न अस्पताल माग
जोखिममा रहेका पत्रकारहरूको छुट्टै उपचारको प्रबन्ध मिलाउन नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निजी सचिवालयसम्म छलफल गरिरहेको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए।
'अघिल्लोपटक कोरोना संक्रमण भएका पत्रकारहरूबाट पाठ सिक्दै अहिले महासंघले संक्रमित पत्रकारहरूको उपचारका लागि सरकारसँग निश्चित अस्पताल तोकिदिन छलफल गरिरहेको छ,' उनले भने।
महासचिव रोशन पुरीको संयोजकत्वमा संक्रमितका लागि आवश्यक औषधीको जोहो गर्न कार्यदल गठन गरिएको पोखरेलले जानकारी दिए।
'संक्रमितलाई उपचार निम्ति आवश्यक औषधि, अक्सिजन र ग्यास लगायत अन्य सामग्री उपलब्ध गराउन दाता पहिचान एवम् सहायता संकलन गर्ने काम भइरहेको छ,' पोखरेलले भने।
महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ।
कोरोना संक्रमण भई उपचार आवश्यक भएका पत्रकारहरूका लागि निःशुल्क उपचार प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइसकेको अध्यक्ष पोखरेलले जानकारी दिए।
'आवास गृह'लाई अक्सिजनसहितको आइसोलेसन कक्ष बनाइने
कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित 'आवास गृह' लाई अक्सिजनसहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरिसकेको महासंघका महासचिव पुरीले जानकारी दिए।
'प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको छ । महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरिरहेको छ,' उनले भने, 'Portable Oxygen Machine' किन्नका लागि पाइने ठाउँका बारेमा जानकारी दिनका लागि पनि अनुरोध पनि गरिएको छ।'
पुरीले काठमाडौं उपत्यका बाहिर पनि प्रदेश र जिल्ला शाखामार्फत विभिन्न पहल भइरहेको बताए। केन्द्रीय कार्यालयबाट परिपत्र गरिएको उनले जानकारी दिए।
संक्रमणपश्चात् विश्वभर ११ सय ८१ पत्रकारको गुम्यो ज्यान
सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। स्वीट्जरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ। उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ।
यस्तै, भारत तेस्रो स्थानमा रहेको छ। त्यहाँ अहिलेसम्म १०७ जनाले ज्यान गुमाएका छन्।
मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७, इक्वेडरमा ४६, बेलायतमा २८ पत्रकारले ज्यान गुमाएका छन्।
डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१/२१, अर्जेन्टिना र भेनेजुएलामा १७/१७ पत्रकारले ज्यान गुमाएका छन्। पानामामा १६, स्पेनमा १५, र युक्रेनमा १४ पत्रकारको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।