निजी अस्पताल प्रयोग गर्ने सरकारको तयारी, संचालक भन्छन् : दिन सक्दैनाैं

|

काठमाडौं : मुलुकभर कोरोना संक्रमितको संख्या र मृत्युदरले दिनप्रतिदिन रेकर्ड कायम गर्न थालेको छ। अधिकांश अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। धेरैले बेड नपाउँदा भुइँमा बसी उपचार गराइरहेका छन। 

काठमाडाैं उपत्यकासहित दुई दर्जन बढी जिल्लामा निषेधाज्ञा पनि जारी गरिएको छ। कारण एउटै हो संक्रमण दर बढेकाले त्यसको चेन ब्रेक गर्ने। सरकारले  अस्पतालमा बेड भरिएको र थेग्न मुश्किल परेको भन्दै सबैलाई संवेदनशील बन्न अनुरोध गरिसकेको छ।

देशभर कोभिड संक्रमितलाई उपचार गर्न कति बेड छुट्टयाइएको छ? त्यसको यकिन तथ्यांक सरकारले राख्न सकेको छैन। देशभरका कोभिड उपचार केन्द्रमा भएका आइसोलेसन बेड भरिएकाले संक्रमितले होम आइसोलेसनमा बसी मृत्युवरण गर्नुपर्ने अवस्था आइसकेको छ।

सरकार भने नागरिकलाई सचेत मात्र बनाएको र विभिन्न स्वास्थ्य निर्देशनालय प्रमुखको संयोजकत्वमा संक्रमितलाई उपचार गर्न व्यवस्था मिलाइएको बताउँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म देशभर सक्रिय संक्रमित ४३ हजार भन्दा बढी छन्। अस्पतालमा ३ हजार भन्दा बढी उपचाररत छन्। अहिले पनि धेरै संक्रमित अस्पताल भन्दा बाहिर बस्न बाध्य छन्। कारण एउटै हो बेडको अभाव। देशभर सक्रिय संक्रमितको तुलनामा बेड संख्या अत्यन्तै न्युन छ। 

सक्रिय संक्रमितको दिनप्रतिदिन संख्या बढिरहँदा देशभर कोभिड संक्रमितलाई उपचार गर्न सरकारले विभिन्न प्रदेशमा गरी ६ हजार ९ सय ३७ बेड तयारी गरी उपचार गरिरहेको छ।

थाहाखबरले सबै प्रदेशस्थित स्वास्थ्य कार्यालयमा सम्पर्क गरी बेडको संख्या विवरण माग गर्दा यो संख्या पाइएको छ। प्रदेशस्थित स्वास्थ्य निर्देशनालयमा सम्पर्क गर्दा सरकारी तथा निजी अस्पतालका सबै बेड संक्रमितको संख्याले भरिएको छ।

आइसियु १२ सय १८ र भेन्टिलेटरको संख्या ४ सय ७२ रहेको छ। देशभरका विभिन्न अस्पतालमा गरी आइसियुमा ४ सय १ र भेन्टिलेटरमा १ सय १० जना उपचाररत छन्। संक्रमित भन्दा पाँच गुना कमी उपचारत बेड छन्।

प्रत्येक प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश १ मा कोभिड बेड ११ सय ६०, आइसियु १ सय ८० र भेन्टिलेटर ४०, प्रदेश २ मा सामान्य बेड ४ सय १८, आइसियु ६२, भेन्टिलेटर ४० रहेका छन्। 

बागमती प्रदेशमा १६ सय ३२, आइसियु ५ सय ४६, भेन्टिलेटर २ सय ४२, गण्डकी प्रदेशमा सामान्य बेड १ हजार, आइसियु २ सय २३ र भेन्टिलेटर ६९, लुम्बिनीमा ५ सय २६ बेड सामान्य बेड, आइसियु १ सय १४, भेन्टिलेटर ६१, सुदूरपश्चिममा २ सय ५१, आइसियु ३३, भेन्टिलेटर २३ र कर्णालीमा १९ सय ५० बेड, आइसियु ६२ र भेन्टिलेटर ३४ छन्।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बेड अभाव भएकाले निजी अस्पतालसँग उपचार गर्न बेड थप्न सम्झौताको तयारी भइरहेको छ। एक कर्मचारीले भने,' सबैभन्दा बढी संक्रमित पोखरामा रहेकाले यस क्षेत्रका निजी अस्पतालसँग बेड थप्ने गरी सम्झौता अघि बढाइन्छ।' प्रत्येक जिल्लामा अक्सिजन प्लान्ट बनाउने तयारी भइरहेको उनले बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६० बेड सञ्चालनमा तयारी भइरहेको उनले जानकारी दिए।

'निजी अस्पतालसँग सम्झौता गर्छौ '

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार अस्पतालहरुमा साँच्चै बेडको अभाव भइसकेको छ। निजी अस्पतालसँग उपचार गराउनका लागि सम्झौता गर्ने काम भइरहेको छ। केही अस्पतालसँग भने सम्झौता भइसकेको उनले बताए।

निजी अस्पताललाई प्रयोग नगरेमा अब संक्रमितको संख्याले धान्न नसक्ने डा. अधिकारीको भनाइ छ। तीनै तहका सरकारले अस्पतालको खोजी कार्यमा लाग्न उनले सुझाव दिए। 'महामारीबाट सुरक्षित रहनु बाहेक अन्य विकल्प छैन,' उनले भने,' अस्पतालमा बेड छैन।  यसको औषधि बनेको छैन। सबै सुरक्षित रहनुपर्छ।'

'राज्यले निजी अस्पताललाई सहयोग गरेन'

निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पताल बनाउन नसकिने बताएका छन्। 'अहिले पनि कोभिड संक्रमितको उपचार गरिरहेका छौ,' उनले भने,' राज्यलाई सहयोग गरिरहेका छौ।'

पहिलो चरणको कोभिड देखिएको बेला सहयोग गर्दा राज्यको तर्फबाट कुनै पनि सहयोग प्राप्त नगरेको थापाको भनाइ छ। महामारीले राज्यलाई अप्ठयारो पारिसकेको अवस्थामा सक्ने सहयोग गर्ने उनले बताए।

सरकारले निजी क्षेत्रसँग गरेको सम्झौता पनि बारम्बार उल्लंघन गरेको उनले आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.