बागवानीको नामै फेरियो, विकल्प खोजिँदै

|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-१, मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दुई दशकअघि दशरथचन्द राजमार्ग छेउमै रहेको डाँडामा फलेको स्याउ सडकमा खसेर खेर गएको कुरा सम्झिँदा इतिहासजस्तो लाग्छ। स्याउका लागि प्रसिद्ध सतबाँझमा ​स्याउ फल्न छाडेको दुई दशक नाघिसकेको छ।

डाँडामा रहेका बोटबाट खसेका स्याउ सडकमा असरल्ल देखिन्थ्यो, ’ उनले भने, ‘सडकमा खसेका स्याउ टिपेर पेटभरी खान्थ्यौँ, अनि स्याउमै खेलेर रमाउथ्यौँ, अब ती दिन इतिहास भएको छ, आजभोली चाख्नलाई समेत पाइँदैन।’

त्यतिखेर सतबाँझ क्षेत्रका एकै रुखमा एक क्वीन्टलभन्दा बढी स्याउ फल्ने गरेको र ४/५ रुपैयाँमा बेच्ने गरिएको उनले बताए।

जयसिंहजस्तै गुरुखोलाका ५६ वर्षीय देवदत्त भट्टलाई पनि सतबाँझको स्याउको निकै सम्झना छ। ‘त्यो बेला यहाँ फलेको जस्तो स्याउ अहिले बजारमा कतै देखेको छैन, ’ भट्टले भने, ‘निकै मीठो हुन्थ्यो, अब सम्झनामा मात्रै सीमित रह्यो।’

भर्खरै सडक पुगेकाले यहाँबाट हेलिकप्टरमार्फत स्याउ ढुवानी हुने गरेको भट्टको भनाई छ। उनले भने, ‘सडक भर्खरै खनिएको थियो, यातायातका साधन सञ्चालन हुँदैनथ्यो, हेलिकप्टरमा लादेर यहाँको स्याउ धनगढी र काठमाडौंसम्म पुर्‍याइन्थ्यो, गोल्डेन जातको स्याउको एउटै दानाको तौल आधा किलोग्रामसम्म हुन्थ्यो।’

विद्यालय आउँदा-जाँदा सडकमा खसेका स्याउका दाना टिपेर खाएको रामबहादुर टेर स्मरण गर्छन्‌। उनले भने, ‘लटरम्म फलिरहने स्याउ खसेर सडकसम्म पुग्थ्यो, पेटभरी खान्थ्यौँ, अनि झोलाभरी घर लान्थ्यौँ।’

वि.सं. २०१९ सालमा राजा महेन्द्रले सतबाँझमा बागवानी विकास केन्द्र स्थापना गराएका थिए। त्यसपछि राजा वीरेन्द्रले यो क्षेत्रलाई प्राथमिकता राख्दै २०३६ सालमा भ्रमण गरेका थिए। सोही बेला यस केन्द्रमा हेलिकप्टर बस्ने हेलिप्याड समेत बनाइएको थियो।

स्याउ फल्न छोडेपछि सो बागवानी केन्द्रको नाम हाल सुख्खा फलफूल विकास केन्द्र नामाकरण गरिएको छ। केन्द्रले चर्चेको जमिनको क्षेत्रफल २९ हेक्टर रहेको छ।

जलवायु परिवर्तन र संरक्षण हुन नसक्दा स्याउ फल्न छोडेको जानकारहरूको भनाई छ। ‘जलवायु परिवर्तनका कारण हिउँ पर्न छोडेको छ, स्याउ फल्न आवश्यक चिसो पुग्दैन, ’ सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले भने, ‘स्याउ फल्न १६०० घण्टासम्म ७ डिग्रीभन्दा कम तापक्रम चाहिन्छ, माओवादी द्वन्द्वको बेला कार्यालयमै आगजनी भयो, कार्यालय सारेर सदरमुकाममा बस्नुपर्‍यो, २०५२ सालदेखि २०६२ सालसम्म कोही बसेनौँ, बगैंचाको हेरचाह भएन, रोगकीरा लाग्यो, कार्यालय सरेपछि स्याउका बोटहरूको संरक्षण हुन सकेन, सबै नष्ट हुँदै गए।’

खड्काका अनुसार केन्द्रमा उतिबेला ७८ जातका स्याउ मात्रै लगाइन्थ्यो। पुरानो बगैँचा मासिएकाले स्याउ फल्न छाडेको उनले बताए। त्यतिखेर ​अन्ना भेरिड, गोल्डेन डेलिसियस, रेड डेलिसियस, रोयल डेलिसियस, जुनाथन, मेनकन्टस, फुजी, गाला, होलीक्रिक्स, रेड ग्राभिप्टिन, क्रिस्पिन, काट्जा, रेडजोन, पिपिन लगायत जातका स्याउका बिरुवा रोपिएका थिए। 

पुराना रुखहरू सुक्दै गएपछि हाल स्याउका नयाँ बगैंचा निर्माण कार्य भइरहेको केन्द्रले जनाएका छ। धेरै चिसो र हिउँ नपरेपनि फल्ने जातको स्याउका बिरुवा रोपिरहेका छौँ,’ खड्काले भने, ‘हाल हामीले १६ जातका बिरुवा रोपेका छौँ, एक/दुई वर्षपछि फल्न थाल्छ।’

नयाँ बिरुवाहरू ट्रायलका लागि रोपिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले बताए। उनले भने, ‘हाल ५०० बिरुवा रोपेका छौँ, परीक्षण ट्रायलका लागि रोपेका हौँ, राम्रो फल्यो भने अझै रोप्छौँ।’

स्याउ खेतीको विकल्प खोजिँदै

स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ फल्न छोडेपछि अहिले विभिन्न प्रजातिका फलफूल खेती विस्तार गरिएको छ ।

बागवानी विकास केन्द्रबाट सुख्खा फलफूल विकास केन्द्र नाम रहेकामा हाल स्याउको विकल्पको खोल्न थालिएको छ। 

स्याउ फल्न छोडेपछि स्याउको विकल्पमा केन्द्रले सुख्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको छ। स्याउको विकल्पमा ओखर, नास्पाती किवी, जैतुन, खुर्पानी, आरु, आरूबखडा, सुन्तला, अमिलो, कागती र अनार लगायतका बिरुवा उत्पादन गरिरहेको हो। खास गरेर ओखरका बिरुवा उत्पादनमा जोड दिइएको प्राविधिक सहायक खड्काले बताए।

‘केन्द्रमा हाल २६ वटा नयाँ निजी नर्सरी दर्ता भएका छन्,’ उनले भने, ‘निजी नर्सरीबाट ५ लाख बिरुवा उत्पादन भएका छन्, केन्द्रले भने ५४ हजार बिरुवा उत्पादन गरेको छ, जसमा ओखरका बिरुवा मात्रै ३ लाख ७३ हजारवटा छन्।’

केन्द्रले निजी नर्सरी स्थापना गरेका किसानलाई विभिन्न सीपमूलक तालिम पनि दिने गरेको खड्काले बताए। उनले भने, ‘किसानलाई सीपमूलक तालिम दिने र नयाँ बगैँचामा बिरुवा उत्पादन गर्न जोड दिएका छौँ।’

बिरुवा उत्पादन गर्न हाल यो केन्द्र नमूनाका रूपमा चिनिएको छ। किसानलाई आफैँ बिरुवा उत्पादन गर्ने सीप सिकाइरहेको छ। यहाँ उत्पादित बिरुवाहरू देशका विभिन्न स्थानमा निर्यात हुने गरेका छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै देशका पूर्वी जिल्ला र काठमाडौंमा समेत निर्यात हुने गरेका केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रमार्फत पनि बिरुवा जाने गरेका छन्।

देशका विभिन्न स्थानीय तहले अनुदानका लागि किसानलाई वितरण गर्नका लागि समेत यहाँबाट बिरुवाहरू लैजाने गरेको केन्द्रका प्रमुख भाटले बताए। ‘किसानलाई फलफूल खेतीतर्फ आकर्षित गराउन र आत्मनिर्भर बताउन स्थानीय तहले योजना बनाएका रहेका रहेछन्,’ उनले भने, ‘फलफूलको बिरुवाका लागि हामीलाई नै सम्पर्क गरेर लैजाने गरेका छन्।’

बिरुवा बेचेर प्रत्येक वर्ष राजश्व संकलन बढाइएको केन्द्रले जनाएको छ। गत वर्ष बिरुवा बेचेर २३ लाख रुपैयाँ संकलन भएको थियो। केन्द्रले यो वर्ष फलफूलका बिरुवा बिक्री गरेर ३० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। भाटले भने, ‘५४ हजार बिरुवा बिक्री गरेर ३० लाख राजश्व संकलन गरेका छौँ।’

केन्द्रले सुख्खा फलफूलका बिरुवा उत्पादनमा जोड दिइरहेपनि सिँचाइ सुविधा नहुँदा समस्या हुने गरेको छ। ‘हामीले सिँचाइ सुविधाका लागि १२ वटा आकासे पानीपोखरी निर्माण गरेर पानी जम्मा गर्ने गरेका छौँ,’ प्राविधिक सहायक खड्काले भने, ‘आकासको पानी पोखरीमा जम्मा गरेर सिँचाइ गर्ने गरेका छौँ।’

सिँचाइ अभावबारे माथिल्लो निकायलाई जानकारी गराएपछि हाल डीप बोरिङमार्फत पानी निकाल्ने काम भइरहेको छ। बोरिङका लागि १७ लाख रुपैयाँ टेण्डर भइसकेको छ। 

केन्द्रको सीपले किसान आत्मनिर्भर बन्दै

सुख्खा फलफूल विकास केन्द्रले दिएको सीपमूलक तालिमले किसानहरूलाई आत्मनिर्भर बन्न सहज भएको छ। सीपमूलक तालिमका साथै केन्द्रले निःशुल्क रूपमा बिरुवा समेत उपलब्ध गराउने गरेको छ।

केन्द्रबाट पाएको सीपमूलक तालिमबाट नै आफू आत्मनिर्भर बन्न सफल भएको जे. एम. बहुउद्देश्यीय निजी नर्सरी तथा कृषि फर्मका सञ्चालक रामबहादुर टेरले बताए। उनले भने, ‘सीपमूलक तालिम र निःशुल्क रूपमा बिरुवा दिएकाले आत्मनिर्भर बन्न सजिलो भएको छ।’

‘२० वर्षअघि केन्द्रले दिएको सीपमूलक तालिमले बिरुवा उत्पादन गर्न सहयोग पुग्यो,’ उनले भने, ‘अहिले निजी नर्सरीमा बिरुवा उत्पादन गरेर वार्षिक १० लाख सम्म आम्दानी हुन्छ, यसले नै आत्मनिर्भर बन्न सकेका छौँ।’

यस्तै, गुरुखोला देशदत्त भट्टलाई पनि केन्द्रले दिएको सीपपछि आफैले निजी नर्सरी स्थापन गरेर आत्मनिर्भर बन्न सहज भएको छ। उनले भने, ‘शुरूमा केन्द्रले विभिन्न सीपहरू हामीले सिकायो, अहिले हामी आफैँले नर्सरीबाट बिरुवा उत्पादन गरेर बिक्री गरिरहेका छौँ,’ उनले थपे, ‘निजी नर्सरी आम्दानीको स्रोत बन्दै गएको छ, आत्मनिर्भर हुन सफल भयौँ, हाल सीप हस्तान्तरण समेत गरिरहेका छौँ।’

अब केन्द्रस्थित स्याउ नर्सरीमा जैतुन खेती विस्तार गरिने भएको छ। किसानलाई जीविकोपार्जन हुने खालका बिरुवा नर्सरी बनाएर वितरण गरिरहेको केन्द्रले जनाएको छ।

तेल उत्पादनका लागि जैतुन  निकै प्रसिद्ध वनस्पति भएको र मूल्य पनि राम्रो रहेकाले त्यसको खेती गर्ने तयारी भएको हो। जैतुनको तेल बहु-औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.