|

चितवन : भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ। अस्पतालले सोमबार सूचना जारी गरी कोभिड संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागु गरेको जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जारी गरेका सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ। सूचनामा भनिएको छ, ‘अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ।’ यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ।

फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ। अस्पतालको सेवा लिन आउँदा सेवाग्राहीले अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ। बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ।  

सक्रिय संक्रमितको संख्या हजार नाघ्यो

जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा एक हजार ७० सक्रिय संक्रमित पुगेका छन्। 

कार्यालयका अनुसार सक्रिय संक्रमितमध्ये ८८ जना अस्पतालको आइसोलेसनमा र ९८२ होम आइसोलेसनमा रहेका छन्। यहाँ रहेका संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। महानगरमा ८९०, खैरहनी नगरपालिकामा ३२, माडीमा १६, रत्ननगरमा ८७, राप्तीमा २४ र कालिका नगरपालिकामा १२ सक्रिय संक्रमित रहेका छन्। यस्तै, एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नौ सक्रिय संक्रमित रहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए।

जिल्लामा अहिलेसम्म आठ हजार ४६ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ११७ को मृत्यु भइसकेको छ भने ६ हजार ८५९ जना निको भएर घर फर्किइसकेका छन्। संक्रमितमध्ये तीन हजार ३७० महिला र चार हजार ६७१ पुरुष रहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.