|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले संचारकर्मीलाई स्वतन्त्र ढंगले काम गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मगरले  सत्यतथ्य सूचना पाउनु नागरिकको अधिकार भएको बताए।

त्यसका लागि संचारकर्मीले स्वतन्त्र र निर्भयताका साथ काम गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा उनले जोड दिए। संचारकर्मीले श्रम अनुसारको उचित सम्मान नपाउने अवस्था कायम हुनु दुखद रहेको भन्दै मगरले श्रमको उचित सम्मान पाउने वातावरण निर्माणमा पनि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै लोकतन्त्रको मुख्य आधार नै स्वच्छ र मर्यादित निर्वाचन भएकाले त्यसका लागि पूर्ण प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका हुने बताए।

संविधानमा लेखिएको पूर्ण प्रेस स्वतन्त्रताको सान्दर्भिकता तब हुन्छ जब आम जनताले अनुभुति गर्न पाउँछन्। संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको भरपुर उपभोग गर्दै मर्यादित र विश्वसनिय सामग्री प्रकाशनरप्रसारण गर्नमा जोड दिए।

गलत सूचना संप्रेषणलाई निरुत्साहित गर्न महासंघ जस्ता सस्थाहरुले ध्यान दिन जरुरी छ। महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको पेशागत र भौतिक असुरक्षा झन बढिरहेको बताए। संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भए पनि राज्यले कठोर कानुन निर्माण गर्न खोज्नु दुखद भएको उनको भनाइ छ। राज्यलाई मिडिया नियन्त्रणमुखी कानुन निर्माण नगर्न दबाब दिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई पोखरेलले आग्रहसमेत गरे।

कोरोना महामारीमा सुरक्षित हुँदै सत्यतथ्य सुचना सम्प्रेषण गर्न पोखरेले आग्रह गरे। कोरोनाको बहानामा संचारगृहले संचारकर्मीलाई जागिरबाट ननिकाल्न, सेवासुबिधामा कमि नगर्न तथा सुरक्षित भएर काम गर्ने वातावरण मिलाउन उनले सचेत गराए। भर्चुअल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु सुरेश आचार्य, तारानाथ दाहाल, धर्वेन्द्र झा, शिव गाउले, महेन्द्र विष्ट, सल्लाहकार निर्मला आचार्यलगायतले शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.