अर्थविद् भन्छन् : प्रधानमन्त्रीले आफूलाई मात्रै टिकाउन खोजे झनै समस्या

|

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) देश आक्रान्त बनिरहेको बेलामा सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन तयारी गरिरहेको छ। कोरोनाले देशको अर्थतन्त्र धरमराइरहेका बेला अर्थमन्त्री बिष्णु पौडेल नयाँ बजेट ल्याउने तयारीमा व्यस्त छन्‌।

कोरोनाको महामारीले पहिले नै असर गरेको र फेरि दोस्रो लहरले हैरान बनाएका बेला लगभग कोमामा पुगेको अर्थतन्त्र सम्हाल्नेगरी नयाँ बजेट प्रस्तुत गर्न अर्थमन्त्री पौडेललाई निकै सकस पर्ने पक्कापक्की छ।

स्रोत नपुगेको भन्दै आर्थिक वर्षको बीचतिर संशोधन गर्नेगरी फगत औपचारिकता निभाउन प्रचार/वितरणमुखी बजेट ल्याउने नियत अर्थमन्त्रीले राखिरहेका हुन्‌ भने चाहिँ बजेटले खासै अर्थ नराख्ने सरोकारवालाहरू बताउँछन्‌।

सरकारले गत साल बजेट ल्याउँदा पनि कोरोना महामारीको पहिलो लहर 'पीक' मा थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। सरकारले सो बजेट कार्यान्वयन सफल भएको जिकिर गर्‍यो, तर प्रतिपक्षी दलहरूले यसको विपरीत प्रतिकृया दिए। साथै, बजेट कार्यान्वयन असफल भएको भन्दै निरन्तर आलोचना गरिरहे।

दोस्रो चरणको कोरोना लहरले देशको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने संकेत देखिएको बेला जनपक्षीय खालको नयाँ बजेट ल्याउनु चुनौतिपूर्ण छ।

अर्कातर्फ, प्रतिपक्षीले आफू विरुद्धको मोर्चा बलियो बनाउने कोसिस गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जित्न थप जनप्रेमी बजेट ल्याउन दबाव छ। 

कोरोनाले धराशायी बनिरहेको अर्थतन्त्र उकास्ने र आगतका संकट सामना गर्नसक्ने खालको बजेट ल्याउन नसके सरकारलाई आर्थिक मोर्चामा पनि आफ्नो प्रतिरक्षा गर्न सकस पर्नेछ।

सरकारले कोरोना महामारी बेलामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, आइसोलेसन र क्वारेन्टाइन निर्माण, अक्सिजन, भेन्टिलेटर र अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र सम्हालिनसक्ने खालेको बजेट ल्याउनुपर्ने जानकारहरू बताउँछन्‌।

‘पपुलर हैन, परिस्थिति अनुसारको बजेट’ : पाण्डे

सरकारले आगामी बजेट पपुलर खालको नभई हालको परिस्थिति अनुकूल ल्याउनुपर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन्। 

‘कोरोना महामारीले देश आक्रान्त बनिरहेको छ, यस्तो परिस्थितीमा सरकारले आफूलाई लोकप्रिय बनाउने हिसाबले बजेट ल्याउनु भएन, अहिलेको परिस्थिती सम्हाल्नसक्ने खालको बजेट ल्याउनुपर्छ,’ उनले थाहाखबरसँग भने, ‘कोरोनालाई ध्यान राखेर अस्पतालको क्षमता विस्तार, आइसोलेसन, अक्सिजन, स्वास्थ्यकर्मीको व्यवस्थापन, भेन्टिलेटर, क्वारेन्टाइन, उपचारको सहज व्यवस्था र जनतालाई महामारीबाट जोगाउन केन्द्रित बजेट ल्याउनुपर्छ।’

सरकारले लोकप्रियतामात्रै नभएर जनता बचाउने खालको बजेट ल्याउन पाण्डेले सुझाएका छन्‌। उनी भन्छन्, ‘सरकारले जनता र अर्थतन्त्र जोगाउने खालको बजेट ल्याउनमा ध्यान दिनुपर्छ। उद्योग, व्यावसाय र रोजगारी केन्द्रित हुनुपर्छ।’

आफूहरूले गत वर्ष नै पूर्वअर्थमन्त्री मञ्च गठन गरेपनि कोभिडको कारण त्यसले प्रभावकारी ढंगले सरकारलाई दबाव दिन नसकेको बताउँछन्। सरकारले बजेट ल्याउनुअघि भर्चुअल बैठक बसेर परिस्थितीअनुसार बजेट ल्याउन पहल गर्नुपर्ने उनी बताउँछन्। 

‘बजेट ल्याएपनि सरकारले काम गर्न सक्दैन’ : महत

सरकारले बजेट ल्याएपनि काम नै गर्न नसक्ने पूर्व अर्थमन्त्री एवम्‌ कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन्। 

‘सरकार कर्तव्यनिष्ठ र जिम्मेवार छैन। गत साल पनि त्यति लामो समयसम्म लकडाउन गर्‍यो। तर, जनतालाई राहत पुग्नेगरी कुनै कार्यक्रम ल्याउन सकेन,’ उनले भने, ‘स्वास्थ्य र पूर्वाधार विकासबारे ठूला कुरा गरेपनि त्यसलाई कार्यान्वयन गर्न सकेन। सरकारले जनताको कुनै आकांक्षा सम्बोधन हुने काम गरेको छैन।’

ओली सरकारले नै फेरि बजेट ल्याए देशलाई दुर्भाग्यपूर्ण हुने महत टिप्पणी गर्छन्। ‘यो सरकारले बजेट ल्याएर कोरोना महामारीको सामना गर्न सक्दैन, त्यसैले हामी नयाँ सरकार गठन गर्न गरिरहेका छौँ, बजेटअघि नै ल्याउने प्रयासमा छौँ,’ उनले भने। 

‘लोकप्रिय बजेट ल्याउने समय छैन’ : प्याकुरेल

प्रधानमन्त्रीले आफू टिक्नको लागि लोकप्रिय बजेट ल्याउने समय नभएको अर्थविद् विश्वम्भर प्याकुरेल बताउँछन्। 

उनी भन्छन्, ‘दोस्रो चरणको महामारीले भयावह अवस्था निम्याएको छ। सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को झण्डै ४७ प्रतिशत पुगेको छ। त्यसैले प्रधानमन्त्रीले आफू टिक्न बजेट ल्याउने समय छैन।’  

कोरानाबाट संकटमा परेकालाई जोगाउने र सर्वसाधारणलाई खाने/लगाउनेको व्यवस्था गर्नुपर्ने उनले बताए। तत्कालै महामारी कम हुने सम्भावना नरहेकाले अर्थतन्त्र उकालो लाने सम्भावना नभएको उनी सुनाउँछन्। ऋण नलिएसम्म अहिले देश चल्ने अवस्था नभएको उनको भनाई छ। 

अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्ने र कोरोना नियन्त्रणमा कसरी खर्च गर्ने भन्नेबारेमा बजेट केन्द्रित हुनुपर्ने उनी सुझाउँछन्‌।

उनले भने, ‘कोरोनाको दोस्रो लहरले अब अर्थतन्त्र नकारात्मक दिशामा जाने पक्का छ। निजी क्षेत्रसँग सहकार्यमा गरेर सरकारले बजेट ल्याउनुपर्छ। सालको अवस्था हेरेर प्राथमिकता प्राप्त क्षेत्रमा लगानी थप्नुपर्छ। वैदेशिक ऋण बढिरहेको छ। अहिले व्यापार घाटा पनि उच्च छ। हाम्रो खर्च निर्यात गरिएका सामानमा बढी हुन्छ। चीनबाट भन्दा कोलकताबाट घुमेर आउने सामाग्री सस्तो पर्न जान्छ। चीनबाट सजिलैसँग सामान ल्याउन सकिएको छैन, त्यसतर्फ ध्यान दिनुपर्छ।’ 

महामारीबाट ३ खर्ब २२ अर्ब रुपैयाँ क्षति भइसकेको र वार्षिक बजेटको आधा हिस्सा ऋणमै निर्भर रहेकाले सरकार निकै गम्भीर बन्नुपर्ने प्याकुरेल बताउँछन्‌। 

'सरकारले सार्वजनिक संस्थाहरूलाई पनि बेल आउट गर्नुपर्छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी हुन सकेका छैन, रोजगारी दर बढाउन सक्नुपर्छ। पर्यटन क्षेत्र, वैदेशिक संस्थानमा उस्तै समस्या छ,’ उनी भन्छन्‌, ‘यसपालिको बजेटमा खेल्नसक्ने ठाउँ छैन। बजेटको आकार बढाउन मिल्दैन। प्रधानमन्त्रीले आफू टिक्नकै लागि लोकप्रिय निर्णय गरेर बजेट ल्याउन मिल्दैन। अहिले मात्रै नभएर भविष्य पनि हेर्नुपर्छ।’ 

निजी क्षेत्रसँग सहकार्य गरेर कृषि र पर्यटनलगायत क्षेत्रमा बजेट बढाउनुपर्ने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.