|

रुकुम (पूर्व) : जिल्ला अस्पताल रुकुम पश्चिममा २९ वटा अक्सिजन सिलिण्डर ल्याइएको छ।  प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा सोमबार ५० लिटरका २९ वटा अक्सिजन सिलिण्डर ल्याइएको हो।

खाली सिलिण्डरको व्यवस्था नेता शर्माले गरेका  र त्यसमा अक्सिजन भरेर  नेपालगञ्जदेखि जिल्ला अस्पतालसम्म आफूहरूले ल्याएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

उक्त अक्सिजन जिल्ला अस्पताल सल्लेमा रहेको आइसोलेसन वार्डमा राखिएको रावलले बताए। अब आइसोलेसनमा अक्सिजन चढाउनुपर्ने खालका कोरोना भाइरस (कोभिड–१९) का बिरामी भएमा सहज हुने रावलको भनाइ छ।

यसअघि आइसोलेसनमा अक्सिजनको राम्रो व्यवस्था थिएन। अस्पतालमा आइसोलेसन ८ बेड रहेको छ।

सबै बेडमा बिरामी रहेको अवस्थामा एकैपटक सबैलाई अक्सिजन चढाउन सकिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। यसअघि जिल्ला अस्पतालमा १० वटा मात्र अक्सिजन सिलिण्डर थिए। अब भने अक्सिजन सिलिण्डरको संख्या ३९ पुगेको कोरोना रोग नियन्त्रण फोकल पर्शन रावलले बताए। अहिले आइसोलेसनमा ७ जना बिरामी रहेका छन्।

यसैबीच, जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि भइरहेको छ। मेशिन आइसकेको र पाइपलाइनको सामान आउन बाँकी रहेको छ। बाँकी रहेका सामान ल्याउने काम भइरहेको कर्णाली प्रदेश सरकारले प्लान्ट जडानका लागि खटाएका बायो मेडिकल इन्जिनियर सौरव सिजापतीले बताए। सामान आउन र जडानको काम सकिन अबको २ साता जति लाग्ने उनको भनाइ छ।

अक्सिजन प्लान्ट सञ्चालनमा आए अक्सिजनको अभावमा कोरोना भाइरसका बिरामीहरूलाई बाहिर पठाउनुपर्ने र अक्सिजनको अभावकै कारण बिरामीहरूले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ।   

रुकुमपूर्वमा अक्सिजन कुर्दै स्वास्थ्यकर्मी

संक्रमण रोकथाम र उपचारको तयारी रुकुमपूर्वमा फितलो देखिएको छ। कोरोना संक्रमितलाई अक्सिजनसहितको उपचार आवश्यक पर्दा यहाँको रुकुमपूर्व अस्पतालमा अक्सिजन छैन। अक्सिजन सिलिण्डर सबै खाली छन्। ४६.५ लिटरका ४ सिलिण्डर र १० लिटरको एउटा सिलिण्डर खाली छ। जिल्ला अस्पतालका डा.पूर्णबहादुर पुनले खाली सिलिण्डरमा अक्सिजन भर्नुपर्ने भए पनि कहाँ गएर भर्ने भन्ने निर्क्योल नभएको बताए। अस्पतालमा एचडीयू स्थापना गर्ने निर्णय भएको छ।

पाँच बेडको एचडीयू बनाउने भनिए पनि अहिलेसम्म काम भएको छैन। डा.पुनले अक्सिजन आएपछि पाँच बेडको एचडीयू सञ्चालन हुने बताए। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालमा एचडीयू राख्ने निर्णय गरेको हो। ‘हामी अक्सिजन कुर्दै बसेका छौं,’ डा.पुनले भने, ‘खाली सिलिण्डर भरिएर आएपछि थप काम हुन्छ ।’

जिल्ला अस्पताल साबिकको रुकुमको स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको छ। प्रदेश सरकारसँग थप अक्सिजन माग गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.