|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, नेपालमा पछिल्लो समयमा तीव्र रुपमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिरहेको छ।

संक्रमणसँगै मृत्युदरको ग्राफ पनि उच्च छ। त्यसो त सरकारले संक्रमण नियन्त्रणका लागि १६ वैशाखबाट जारी गरेको निषेधाज्ञा कायमै छ। निषेधाज्ञाका कारण एसइई मात्रै नभई त्रिविअन्‍तर्गतका वार्षिक परीक्षा पनि रोकिएका छन्।

त्रिविका अनुसार प्रथम वर्षको मानविकी, शिक्षा, व्यवस्थापनलगायत संकायको वार्षिक परीक्षा रोकिएको छ। त्यस्तै, कक्षा–८ परीक्षा पनि रोकिएको छ। यसरी कोभिड तीव्ररूपमा फैलिरहँदा अब परीक्षा के होला भन्दै परीक्षार्थीहरू चिन्तित बनेका छन्।

बोर्ड भन्छ : यो महिना हेरेर मात्र थप कदम चाल्छौँ

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले केही समयसम्म कोरोना संक्रमण दरको अवस्था हेरेर मात्रै एसइई परीक्षाबारे निर्णय लिन सकिने बताए। ‘यो महिनाभर कोरोना संक्रमणको अवस्था हेर्छौं,त्यसपछि कस्तो अवस्था हुन्छ, त्यहीअनुसार थप कदम चाल्छौँ,’पौडेलले भने।

सरकारले २०७६ सालको एसइईको नतिजा कोरोनाकै कारण आन्तरिक मूल्यांकनबाट प्रकाशित गरेको थियो। तर,०७७ को एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट गर्ने अहिलेसम्म कुनै योजना नबनाएको उनले प्रष्ट्याए।

यसपालि पनि आन्तरिक मूल्यांकनबाट परीक्षा गराउने योजना रहेको भन्ने बाहिर हल्ला फैलिएको छ नि? भन्ने प्रश्नमा प्राडा पौडेलले भने, ‘अहिलेसम्म आन्तरिक मूल्यांकनबाट गर्ने केही सोचेका छैनौँ, हेरौँ अब कस्तो परिस्थिति हुन्छ।’ 

उनका अनुसार देशभर दुई हजार १४ वटा परीक्षा केन्द्र तोकिएको छ। करिब पाँच लाख विद्यार्थीले एसइई परीक्षा दिनलाई तयार भएर बसेका छन्।

के भन्छ शिक्षा मन्त्रालय?

कोरोना संक्रमण बढ्दै गएकाले सरकारले पनि अहिलेसम्म केही परीक्षाबारे निर्णय लिन सकेको छैन। परीक्षाको विषयमा हेर र पर्खको अवस्थामै छ सरकार।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय प्रवक्ता दीपक शर्मा भन्छन्,‘सबै परीक्षाका सेडुलहरू केही गरिएको छैन,शैक्षिक सत्रलाई असर नपुर्‍याउन जेठ मसान्तभन्दा अगावै सबै परीक्षा सकिसक्नुपर्ने थियो, तर कोरोना संक्रमणले पुन: समस्या निम्त्याएको छ।’

प्रवक्ता शर्माले वैशाखभरको कोरोना संक्रमणदर अवस्था हेरेर मात्र थप केही निर्णय लिन सकिने बताए। ‘अहिले तीव्र रुपमा कोरोना संक्रमण बढ्दै गएको छ,अहिले केही भन्ने अवस्था छैन,वैशाखभर हेरौं,त्यसपछि थप निर्णय गर्छौ,’ प्रवक्ता शर्माले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.