|

कालिकोट : नेकपा एमाले कालिकोटको पदाधिकारी बैठकले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही (नेशनल) सँग लिखित स्पष्टीकरण मागेको छ। 

पार्टीमा लामो योगदान दिएर निर्वाचित जनप्रतिनिधिसहित जिम्मेवार नेताहरुलाई विधानविपरीत स्वेच्छाचारी ढंगले स्पष्टीकरण सोधेको भन्दै बैठकले पार्टी अध्यक्षसँगै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

उपाध्यक्ष रमेशकुमार शाहीको अध्यक्षतामा बसेको बैठकले पार्टी विधानको अध्याय ७ को धारा ४४ अनुसार प्रत्येक सदस्यले कमिटीको र अल्पमतले बहुमतको मातहतमा रहनुपर्ने प्रावधानविपरीत अध्यक्ष शाही चलेको भन्दै ५ बुँदे आरोप लगाएको छ।

जिल्ला कमिटी सचिव चित्रसिंह गाउँलेले दिएको जानकारीअनुसार अध्यक्ष शाहीले पार्टी विधान र अनुशासन उल्लंघन गरिएको हो।‍ उनले सार्वजनिक रुपमा पार्टी हितविपरीत लेख्ने, बोल्ने गरेका, पार्टीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित आफ्नो पार्टीका नेता तथा कार्यकर्ताका साथै शुभचिन्तक भन्दा पनि विपक्षीसँग बढी साँठगाँठ गरेको, पार्टीको संस्थागत प्रणालीअनुसार छलफल नै नगरी जनवर्गीय संगठनका कमिटी घोषणा गरेको, सर्वोच्च अदालतको फैसलाअनुसार अधिवेशनबाट निर्वाचित कमिटीमा फर्किनै नचाहेको भन्ने विषय स्पष्टीकरणमा सोधिएको छ।

७ दिनभित्रै स्पष्टीकरण बुझाउन माग गरिएको छ। पदाधिकारी बैठकले निषेधाज्ञा हट्नासाथ सचिवालय र जिल्ला कमिटी बैठक बसेर निर्णय अनुमोदन गराउने निर्णयका साथै कोभिड-१९ केन्द्रित हुँदै स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न र कोभिड नियन्त्रण गर्न सक्रिय रहन पार्टी नेता/कार्यकर्तालाई निर्देशन दिइएको छ।

त्यसै गरी सरोकारवाला सबैलाई राहत तथा उद्धारका कार्यमा सरिक हुन पनि अपिल गरेको बताइएको छ। एमाले अध्यक्ष शाहीले हिजो मात्रै शुभ कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं,खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्ट, मुख्यमन्त्रीका स्वकीय सचिव रवीन्द्र बहादुर शाही र शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीसँग स्पष्टीकरण पत्र पठाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.