एम्बुलेन्स र शव व्यवस्थापन टोली पनि व्यवस्था

|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमितको उद्धारका लागि ३ वटा टोली गठन गरेको छ।

पछिल्लो समय उपमहानगरका कोरोना संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले कुनै पनि संक्रमितलाई समस्या भए तत्काल उद्धारका लागि टोली गठन गरी परिचालन गरेको उमहानगरका मेयर घनश्याम पाण्डेले बताए।

उनले भने, ‘एउटा अक्सिजन व्यवस्थापन गर्ने टोली छ। अर्को एम्बुलेन्सहरूको व्यवस्थापन गर्ने टोली छ, भने अर्को शव वाहन र शव व्यवस्थापन गर्ने टोली छ, उनीहरूले अहिले  खटेर काम गरिरहेका छन्।’ त्यस्तै एउटा स्वास्थ्यकर्मीहरूको आरआरटी टिम रहेको र उनीहरूले कोरोना जोखिममा रहेकालाई तत्काल उद्धार गर्ने गरेको समेत उनले बताए।

उपमहानगरपालिकाले वडा नं ८ मा ५० अक्सिजन बेडसहित आइसोलेसन सञ्चालन गर्न लागेको छ। आफूहरूले निर्माण गरेको आइसोलेसनले मात्र नपुग्ने भएकाले कोरोना विशेष अस्पतालको स्तरोन्नति गर्नेसमेत उनको भनाइ छ।

तुलसीपुर उपमहानगरपालिकाले नै अक्सिजन अभावको समयमा अक्सिजन व्यवस्थापन गरी आइसोलेसन संचालन गर्न लागेको पहिलो उपमहानगरपालिका भएको समेत उनले बताए।

‘अहिले पनि धेरै ठाउँहरूमा अक्सिजन सिलिण्डरहरू खोजी रहेको पाइन्छ,’ उनले भने, ‘हामीले यति छिट्टै व्यवस्थापन गरेर काम गर्न लागेका छौँ। योसँगै अब कोरोना विशेष अस्पतालमा आइसियू र भेन्टिलेटर बेडहरू बढाउनतर्फ लागेका छौँ। आइसोलेसन निर्माणमा ढिलाइ उपमहानगरपालिका वा सरकारको ढिलाइले होइन्। बजारमा अक्सिजनको अभावले गर्दा हो।’

त्यस्तै आइसोलेसन निर्माण कार्य जारी रहेको र बेड अभावका कारण होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सहजताका लागि उपमहानगरपालिकाले उनीहरूको अवस्था अनुसार अक्सिजन सिलिण्डर  घरमै  पुर्‍याउँदै आएको छ।

अहिलेसम्म होम आइसोलेसनमा बसेका अक्सिजन अतिआवश्यक परेका १८ जनालाई अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको उपमहानगरका अक्सिजन व्यवस्थापक संयोजक टोपबहादुर डाँगीले बताए।

आइसोलेसन निर्माण कार्य जारी रहेको र कोरोना विशेष अस्पतालमा बेडको अभावका कारण होम आइसोलेसनमा रहेका संक्रमितलाई त्यो पनि अतिआवश्यक पर्नेलाई मात्र दिइएको उनले बताए।

​‘उपमहानगरमा १३  किलोका ४० वटा अक्सिजन सिलिण्डर आएको थियो,’ उनले भने, ‘हालसम्म अतिआवश्यक पर्ने उपमहानगरका विभिन्न वडाका करिब १८ जना जतिलाई अक्सिजन दिइएको छ। अहिले पनि धेरै ठाउँबाट हामीलाई अक्सिजन चाहियो भनेर फोन आइरहेको छ। तर, हामीसँग आएको अक्सिजन बेलझुण्डी अस्पतालमा अभाव भएपछि उता पठाएका छौँ।’

उपमहानगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको ज्यान गएको छ। एक हजार भन्दा बढी सक्रिय संक्रमित रहेका उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ।

त्यस्तै, जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि कोरोना पिसिआर परीक्षण गर्नेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा निकै भीडभाड हुने गर्दछ। दैनिक २ सय भन्दा बढी पिसिआर परीक्षण गर्न प्रतिष्ठानमा आउने गरेका छन्।

पिसिआर प्रयोगशाला पनि बढे

जिल्लामा प्रतिष्ठानमा मात्र पिसिआर परीक्षण हुने गर्दछ। यता तुलसीपुरमा पनि मेट्रो सिटीले पिसिआर परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ। आइतबारदेखि घोराहीको बिएस डाइग्नोष्टिक सेन्टर र नेपालगञ्जको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकको सहकार्यमा तुलसीपुरमै स्वाब संकलन गर्न थालिएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए।

उपमहानगरपालिकाले एन्टिजेन्टबाट निःशुल्क परीक्षण गर्दै आइरहेको भएता पनि किट अभावमा अहिले स्थगित भएको समेत उनले बताए। मेट्रो सिटीका सञ्चालक बसन्त योगीका अनुसार तुलसीपुरको अरणीको मैदानमा बिहान ८ बजेदेखि १० बजेसम्म स्वाब संकलन गरिन्छ।

स्वाब संकलनदेखि परीक्षण गरेको शुल्क २ हजार लाग्ने उनले बताए। साथै घरमै गएर पनि स्वाब संकलन गर्न सकिने र त्यसका लागि थप एक हजार शुल्क लाग्ने योगीको भनाइ छ।

कोरोनासँग लक्षण देखिएका बिरामीलाई थप सहजताका लागि यस्तो व्यवस्था मिलाइएको उनको भनाइ छ। स्वाब संकलन गरेको २४ घण्टामा रिपोर्ट आउने समेत उनले बताए। यता  जिल्लामा अहिले पनि अक्सिजन अभाव रहेको छ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव भइरहेको अस्पताले जनाएको छ।  अहिले अस्पतालमा  आइसियू र एचडियूमा गरी ५१ जना संक्रमित छन्।

अक्सिजन अभाव हुन नदिने

जिल्लामा दैनिक एक हजार अक्सिजन सिलिण्डर आवश्यक रहेको र करिब साढे ४ सय सिलिण्डर अपुग  हुँदै आएको सरोकारवालाको भनाइ छ। अस्पतालमा अक्सिजनको अभाव हुन नदिन  सोमबार बेलझुण्डीमा छलफल भएको छ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा भएको छलफलमा एक हजार मध्य अपुग साढे ४ सय सिलिण्डर जुटाउन जिम्मा तुलसीपुरका नगर प्रमुख पाण्डे र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई जिम्मेवारी दिइएको छ।

प्रमुख जिल्ला अधिकारीले उद्योग, कलकारखाना, क्रसरमा रहेका सिलिण्डरको लगत संकलन गरी ती उपलब्ध गराउन पत्राचार गर्ने र नगर प्रमुख पाण्डेले प्रदेश र संघमा पहल गर्ने निर्णय भएको छ।

त्यस्तै बैठकले गोग्लीमा रहेको अक्सिजन प्लान्टमा २४ सै घन्टा रिफिलिङका लागि विद्युतको व्यवस्था मिलाउन विद्युत् प्राधिकरणलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

गोग्लीको प्लान्ट सञ्चालनमा ल्याउन सके त्यसले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने सक्ने प्रजिअ पौडेलले बताए। तर, त्यो उद्योग विद्युत् आपूर्तिमा भएको कठिनाइका कारण हाल बन्द छ।

त्यस्तै बैठकले बेलझुण्डीमा अस्पतालमा उपचाररत बिरामीको अवस्था बुझ्न आफन्तले १२ बजेदेखि २ बजेसम्म मात्र अस्पताल जान पाइने निर्णय पनि गरेको छ।

बैठकले जिल्लामा कोरोना संक्रमित गम्भीर प्रकृतिका बिरामीलाई बेलझुण्डी अस्पतालमा लैजान सम्बन्धित पालिकाका कोरोना फोकल पर्सनले लिखित रुपमा सिफारिस गर्नुपर्ने व्यवस्था गर्नुपर्ने पनि निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.