|

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिका–३ का आइतेबहादुर (नाम परिवर्तन) उच्च शिक्षा लिन घरपरिवारसँग सल्लाह गरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आए। स्‍नातकोत्तर तह पढ्न तीन वर्षअघि वीरेन्द्रनगर झरेका उनी मेहनती थिए।

पढाइकै क्रममा क्याम्पसकै एक युवतीसँग उनी प्रेममा परे। प्रेममा परेको करिव दुई वर्षको गत मंसिरमा विवाह गर्ने योजना बनाएका थिए। तर, उनको योजनामा प्रेमिकाले सहमति जनाइनन्। जसकारण सम्बन्धमा दरार आयो।

उनले तनाव थेग्न सकेनन्। विवाह गरेर आफन्त र परिवारलाई खुशी बनाउने सोचेका उनले प्रेम वियोग सहन नसकेर आत्महत्या गरे।

यस्तै, कालीकोटका रामबहादुर (परिवर्तित नाम) चार वर्षअघि अध्ययन गर्न सुर्खेत झरे। त्यही समयदेखि स्नातक तहको पढाइ र लोकसेवा आयोगको तयारीमा लागे।

तर, उनले सोचेजस्तो भएन। आफ्ना साथीहरू कोहीले क्याम्पसको पढाइ पूरा गरे त कोहीले लोक सेवा आयोग पास गरेर स्थायी जागिरे भए। रामबहादुर क्याम्पस र लोक सेवा दुवै परीक्षामा असफल भए।

जेठो छोरा भएका कारण पढाइ, जागिर र घर व्यवहार धान्नुपर्ने बोझ उनको टाउकोमा थियो। असफलता व्यवस्थापन गर्न नसक्दा उनले गत जेठमा आत्महत्याको बाटो रोजे।

आइतेबहादुर र रामबहादुर मात्रै होइन, तनाव व्यवस्थापन गर्न नसक्दा अधिकांश युवापुस्ताले मृत्यु रोज्ने गरेको पाइएको छ। पछिल्लो चार वर्ष अवधिमा सुर्खेतमा ४२१ जनाले आत्महत्या गरेको प्रहरीकहाँ तथ्यांक छ। आत्महत्या गर्नेमा युवाहरू नै बढी छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ९१ जना, २०७५/७६ मा ९३ जना, २०७६/७७ मा १२८ जना र चालु आर्थिक वर्षको चैत मसान्तसम्म १०९ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेहरू १० देखि ६० वर्ष समूहका छन्। तीमध्ये पनि १८ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा बढी छन्।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार धेरैजसोले अभाव, तनाव, गरिबी र घरेलु हिंसाका कारण आत्महत्या रोज्ने गरेका छन्। पारिवारिक कलह, असफलता, नैराश्य, मानसिक रोग, दीर्घरोग तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण पनि आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती बताउँछन्। उनका अनुसार अभिभावकले सन्तानको मानसिक तनावबारे चासो नदिनाले पनि यस्तो घटना हुने गरेको छ। 

आत्महत्या गर्नबाट रोक्न युवाहरूलाई मनोपरामर्श र जीवन उपयोगी सीपबारे जानकारी दिनुपर्ने प्रहरी नायब उपरीक्षक घर्तीको सुझाव छ। तनाव व्यवस्थापन गर्न सकेमात्र आत्महत्याको दर कम गर्न सकिने उनको भनाइ छ।

शहरमा आत्महत्या धेरै

गाउँको तुलनामा शहरमा आत्महत्याका घटना बढी हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षको तथ्यांकलाई अध्ययन गर्दा सुर्खेतको वीरेन्द्रनगरमा आत्महत्याका घटना सबैभन्दा बढी र चौकुने गाउँपालिकामा सबैभन्दा कम भएका छन्। 

तथ्यांकअनुसार वीरेन्द्रनगर नगरपालिकाभित्र ४३ जना र चौकुनेमा दुईजनाले आत्महत्या गरेका छन्। जसमा पनि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ मा दुई, वडा नम्बर १ मा नौ, वडा नम्बर ६, ९, १२ र १३ मा एक/एक जनाले आत्महत्या गरेका छन्।

यस्तै, पञ्चपुरी नगरपालिकामा तीन, लेकवेंशी नगरपालिका ११, बराहताल गाउँपालिकामा पाँच, चिङ्गाड गाउँपालिकामा तीन, सिम्ता गाउँपालिकामा १०, भेरीगंगा नगरपालिकामा १७ र गुर्भाकोट नगरपालिकामा १५ जनाले आत्महत्या गरेको तथ्यांक छ।

आत्महत्या गर्नेमा पुरुष धेरै 

आत्महत्याका गर्नेहरूमा महिलाको तुलनामा पुरुष धेरै छन्। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा सुर्खेतमा ७६ जना पुरुषले आत्महत्या गरेका छन्। यस्तै, २२ जना महिला र ११ जना बालबालिकाले आफैँले जीवन अन्त्य गरेका छन्‌।

उमेरका आधारमा १० वर्षमुनिका चार, १० देखि १४ वर्ष उमेर समूहका दुई, १४ देखि १८ वर्ष उमेर समूहका १३, १८ देखि ६० वर्ष उमेर समूहका ८० र ६० वर्षभन्दा माथिका १० जना आत्महत्या गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.