|

भक्तपुर : भक्तपुरमा कोरोना संक्रमणपश्चात्‌ ज्यान गुमाएकाको संख्या १३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन पुरुष र एक महिला गरी ४ जनाको मृत्यु भएसँगै भक्तपुरमा संक्रमित मृतकको संख्या १३५ पुगेको हो। मृत्यु हुनेहरुमा ८८ पुरुष र ४७ महिला रहेका छन्।

भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा धेरै संक्रमितको मृत्यु भएको छ। यहाँ ३१ पुरुष र १७ महिला गरी ४८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा ३१ पुरुष १५ महिला गरी ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। सूर्यविनायक नगरपालिकामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ पुरुष र १३ महिला छन्‌।

चाँगुनारायण नगरपालिकामा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए।

भक्तपुरमा हाल १ हजार ८३१ जना सक्रिय संक्रमित छन्‌। तीमध्ये ४८ पुरुष र ५० महिला गरी ९८ जना विभिन्न अस्पताल र ९ सय ५० पुरुष र ७ सय ८३ महिला गरी १ हजार ७३३ जना होम आइसोलेसनमा उपचार गराई रहेको उनले जानकारी दिए।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ६ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। मध्यपुर थिमिपछि सूर्यविनायक नगरपालिकामा ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भक्तपुर नपामा ३ सय ६ जना र चाँगुनारायण नपामा दुई सय ८ जना सक्रिय संक्रमित रहेको मिजारले बताए।

भक्तपुरमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा हालसम्म ६ हजार ५८५ पुरुष र ५ हजार १६० जना महिला गरी कुल ११ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

जसमध्ये ५ हजार ४ सय ९९ पुरुष र ४ हजार २ सय ८० महिला गरी ९ हजार ७ सय ७९ जना डिस्चार्ज भएका छन्।

चार पत्रकार संक्रमित

भक्तपुरका चार पत्रकारलाई कोरोना संक्रमण भएको छ। नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिका अनुसार जिल्लाका तीन पुरुष र एक महिला पत्रकारलाई कोरोना संक्रमण भएको हो। 

संक्रमित चार पत्रकारमध्ये एक जनाको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिको आइसीयु, एक जनाको भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भइरहेको छ भने दुई जना होम आइसोलेसनमा छन्‌। चारै जनाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको अध्यक्ष प्रजापतिले जानकारी दिए। 

अध्यक्ष प्रजापतिले अन्य साथीहरुमा पनि कोरोना संक्रमण हुनसक्ने भन्दै सबैले स्वास्थ्य मापदण्ड अपनाएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरे।

उनले पत्रकार महासंघ भक्तपुरमा आवद्ध तीन पुरुष र एक महिला पत्रकारमा हाल कोरोना संक्रमण देखिएको आफुलाई जानकारी आएको र महासंघमा आवद्ध बाहेक अन्य पत्रकारमा पनि संक्रमण भएको हुन सक्ने भन्दै यसको विषयमा जानकारी बटुल्दै गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.