|

काठमाडौं : देशका विभिन्न जिल्लामा कोरोनाले थप १६ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन्।

बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति ७ बजे यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा कैलालीका ८० वर्षीय पुरुष र ५५ वर्षीय पुरुष छन् भने बाँकेका ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला छन्।

कैलालीमा थप तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले संचालन गरेको कोभिड अस्थाई अस्पतालमा उपचारका क्रममा बझाङका २६ बर्षीय पुरुष, बर्दियाका ३० बर्षीय पुरुष र धनगढीका २२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका डाक्टर दिलिप श्रेष्ठले जानकारी दिए। उनका अनुसार बझाङका पुरुषको गएराति साढे ८ बजे, धनगढीका पुरुषको गएराती साढे १० बजे र बर्दियाका पुरुषको राति साढे १ बजे मृत्यु भएको हो।

 पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय पुरुषको मृत्यु भएको  जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

पर्सागढी नगरपालिका ९ का पुरुषलाई  गत बैशाख ७ गते कोरोना पुष्टि भएको थियो । यस्तै पछिल्लो पटक नारायणी अस्पतालमा १ सय ९२ जनाको परीक्षण गर्दा ११५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये पर्साका मात्रै ८७ जना रहेको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए।

 बागलुङमा कोरोना संक्रमणका कारण स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाकी सदस्य ३० वर्षीया महिला जनप्रतिनिधिको उपचारका क्रममा गएराति धौलागिरी अस्पतालमा मृत्यु भएको हो। उनलाई वैशाख १९ गते कोरोना पुष्टि भएको थियो । श्वास प्रस्वासमा समस्या भएकी उनको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो।
मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४१ वर्षिया एक महिला रहेकी छिन्। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड-१९ अस्पतालमा उपचाररत उनको आज विहान मृत्यु भएको हो। योसँगै मकवानपुरबाट कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

यस्तै उपचारका लागि ६ दिन अघि काठमाडौँबाट झापाको बिएण्डसी अस्पताल लगिएका  कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ती बृद्धलाई वैशाख १५ गते हेलिकप्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थिए। 

सोमबार नै काठमाडौँबाट झापाका अर्का कोरोना संक्रमितलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ। 

यसै गरी कोरोना संक्रमणबाट सल्यानमा दुई र धरानमा एक संक्रमितको मृत्यु भएको छ। सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिका निवासी ७० वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

अस्पतालले मृतकलाइ अक्सिजन दिएर उपचार गरेपनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ। यस्तै अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि सोमवार सल्यान अस्पताल पुगेका शिद्धकुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमबार राति नै ती पुरुषको पनि ज्यान गएको छ ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररार्थ सप्तरीका एक संक्रमितको मंगलबार मृत्यु भएको छ। सप्तकोसी नगरपालिकस्थित श्री रास्ट्रिय माविमा कार्यरत कार्यरत शिक्षकको मृत्यु भएको हो।

उनलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापका विरामी उनको विहान ५ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.