|

काठमाडौं : घना आवादी भएको काठमाडौं उपत्यका कोरोना महामारीको दोस्रो लहरमा लपेटिँदै गएको छ। यहाँ वैशाख १६ गते (पछिल्लो लकडाउन शुरू भएको दिन) यतामात्रै १४ हजार जना नयाँ संक्रमित फेला परेका छन्‌। 

सोमबार देशभर भेटिएकामध्ये आधा स‌क्रमित काठमाडौं उपत्यकाकै हुन्‌। देशभर दैनिक संक्रमणदर (पहिचान गरिएको संख्याका आधारमा) ७ हजार नाघिरहँदा काठमाडौं उपत्यकामै ३६ सयभन्दा धेरै भेटिएका छन्‌।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ४८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए। ​सोमबार उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना नयाँ संक्रमित थपिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिमा काठमाडौंमा मात्र २ हजार ९ सय २२ जना भेटिए। ललितपुरमा ५ सय २२ र भक्तपुर २ सय २२ जना संक्रमित थपिएका छन्। 

यसरी हेर्दा उपत्यका कोरोनाको जोखिममा परिसकेको थाहा लाग्छ।

लकडाउनयता पनि थपिएको थपियै 

उपत्यकामा लकडाउनयता मात्र करिब १४ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा संक्रमणदर उच्च देखिएको छ। निषेधाज्ञा पछि काठमाडौंमा मात्र करिब ११ हजार १ सय २९ कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, ललितपुरमा २ हजार ९८ र भक्तपुरमा १ हजार २६ संक्रमित थपिएका छन्।

उपत्यकाभित्र २ सय २७ संक्रमित आइसीयू र भेन्टिलेटरमा

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका अस्पतालमा २ सय २७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार आजसम्म उपत्यकामा  १ सय ७१ जना आइसीयूमा, ५६ जना भेन्टिलेटरमा र १ हजार १ सय ८१ जना आइसोलेसनमा छन्‌।

जसमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको आइसीयूमा १८ जना, भेन्टिलेटरमा ८ जना  र आइसोलेसनमा १ सय ६७ जना छन्। वीरेन्द्र अस्पताल छाउनीको आइसीयूमा ५ जना र आइसोलेसनमा ७१ जना छन्।

वीर अस्पतालमा ६ जना आइसीयू, २ भेन्टिलेटर र ९९ जना आइसोलेसनमा छन्। त्यस्तै, नेपाल प्रहरी अस्पतालभित्र ९ जना आइसीयू र १ सय २९ जना आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालभित्र ९ जना आइसीयूमा, ११ जना भेन्टिलेटरमा र ६६ जना आइसोलेसनमा छन्। त्रिवि शिक्षण अस्पतालभित्र ३५ जना आइसीयूमा छन् भने ७ जना भेन्टिलेटर र १५३ जना आइसोलेसनमा छन्।

पाटन अस्पतालको आइसीयूमा पनि १२ जना छन् भने ९ जना भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्। 

यस्तै, निजामती कर्मचारी अस्पतालको आइसीयूमा १४ जनालाई राखिएको छ भने ३३ जना आइसोलेसनमा छन्। भक्तपुर अस्पतालमा ६ जना आइसीयू, १ जना भेन्टिलेटर र ४८ जना आइसोलेसनमा छन्।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १४१ जना आइसोलेसनमा बसेका छन्। ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा १० जना आइसीयू र ६ जना भेन्टिलेटरमा हुँदा ४४ जना संक्रमित आइसोलेसनमा छन्।

ह्याम्स अस्पतालको आइसीयूमा १८ जना छन्। ५ जना भेन्टिलेटरमा र ८६ जना आइसोलेसनमा छन्।

नेपाल मेडिसिटी अस्पतालभित्र ३६ जना आइसीयूमा हुँदा ७ जना भेन्टिलेटरमा र ४३ जना आइसोलेसनमा बसेका छन्। स्टार अस्पतालमा ५ आइसीयू, १ जना भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

देशभर हाल ७ सय २० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। जसमा ५ सय ७८ आइसीयूमा र १ सय ४२ जना भेन्टिलेटरमा छन्।

यसअघि आइतबार ५ सय ११ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

सुरक्षा मापदण्ड उल्लंघन गर्दै सर्वसाधारण

कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले 'चेन ब्रेक' गर्न वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। तर, सरकारले जारी गरेको निषेधाज्ञा बजार क्षेत्रमै उल्लंघन भइरहेको छ।

प्रहरीले चेक गरेपनि सर्वसाधारणहरू बेफिक्र हिँडडुल गरिरहेका छन्। चेकिङ नहुने स्थानमा त निषेधाज्ञा पालना भएकै पाइँदैन। जसले गर्दा कोरोना संक्रमणदर थप बढ्ने देखिन्छ।

प्रहरीले मास्क नलगाइ हिँडेका र बिना काम बाहिर निस्किएकाहरूलाई पनि होल्डिङ सेन्टरमा राखिरहेको छ। सुरक्षा मापदण्ड अपनाउन सरकारले अनुरोध गरिरहँदा पनि सर्वसाधारणहरू भने अटेर गरिरहेका छन्। जसले गर्दा कोरोना संक्रमणदर भने बढ्दै गएको छ।

नेपालमा सामाजिक/सांस्कृतिक कारणले पनि कोरोना संक्रमणदर फैलिइरहेको छ। बैशाखमा बिहेको सिजन भएकोले जमघट कार्यक्रम रोकिएका छैनन्‌। विभिन्न जिल्लामा नेता तथा मन्त्रीहरूले  रमिता देखाइरहेका छन्‌। उनीहरू सहभागी सभा-सम्मेलनमा सुरक्षा मापदण्ड नअपनाउँदा पनि कोरोना संक्रमणदर बढ्दै गएको देखिन्छ।

निषेधाज्ञा असफल भएको हो?

आम सर्वसाधारणका लागि निषेधाज्ञा आफैँमा अप्रिय शब्द हो। तर, सरकारले निषेधाज्ञा नै जारी गरिसकेपछि कडा रूपमा यसलाई अवलम्बन गर्नुपर्ने हुन्छ।

समाजशास्त्री दिनेश प्रसाईंले निषेधाज्ञा आफैँमा अप्रिय शब्द रहेपनि सरकारले यसलाई अवलम्बन गरेपनि कडाइका साथ लागू नगरेको बताउँछन्।

'दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरका लागि होस् या उद्योग व्यवसायीका लागि होस्, निषेधाज्ञा राम्रो कुरा होइन। तर, सरकार कोरोनाको चेन ब्रेक गर्ने भनिसकेपछि यसलाई कडाईका साथ लागू गरिदिए मात्र संक्रमणदर कम हुनसक्छ,' उनले भने।

निषेधाज्ञाको प्रभाव देखिन एक महिना लाग्ने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्।

'निषेधाज्ञा जारी गरेको एक हप्ता नहुँदै कोरोना रोकथाम हुने भन्ने कुरा गलत छ, अहिले गरेको निषेधाज्ञाको प्रभाव चार हप्तापछि हुने संक्रमणदरले देखाउँछ,' उनले भने।

उपत्यकामा निषेधाज्ञा कडाई गर्दा संक्रमणदर घटेपनि देशका अन्य क्षेत्रमा भने असहज परिस्थिति रहेको छ। विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा आवत–जावत निस्फिक्री रहेकाले नेपालमा तत्कालै कोरोना संक्रमण रोकिने अवस्था भने देखिँदैन। किनभने भारतका विभिन्न राज्यमा कोरोना धुवाँसरी फैलिएको छ।

नेपालमा ३ हजार ३ सय ६२ जना संक्रमितको ज्यान गइसकेको छ। पछिल्लो समय कोरोना संक्रमणदर र मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो पाँच दिनमा मात्र करिब १ सय ५१ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

युवाहरू नै संक्रमण चपेटामा

कोरोनाको दोस्रो भेरियन्टबाट युवाहरू चपेटामा परेको पाइएको छ। पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये धेरैजसो ३० देखि ३९ वर्ष उमेर समूहका छन्‌।

सोमबार कुल संक्रमित देशभर ७ हजार ४ सय ४८ जना मध्ये १ हजार ८ सय ७१ जना संक्रमित ३० देखि ३९ वर्षका रहेको मन्त्रालयले जनाएको छ।

यस्तै,९ वर्ष सम्मका १ सय ५६ जना, १० देखि १९ वर्षका ४ सय २९, जना २० देखि २९ वर्षका १ हजार ६ सय ८८ जना, ४० देखि ४९ वर्षका १ हजार ३ सय ६९ जना, ५० देखि ५९ वर्षका ९ सय ८८ जना, ६० देखि ६९ वर्षका ५ सय २२, ७० देखि ७९ वर्षका २ सय २० जना, ८० देखि ८९ वर्षका ७९ जना ९० देखि १०० वर्षका ९ जना र अज्ञात ४७ जना रहेका छन्‌।

युवाहरू नै संक्रमित हुन थालेपछि कतिपयले कोरोनाको नयाँ भेरियन्टले युवाहरूलाई जोखिममा पारेको हो कि भन्ने आशंका गरिरहेका छन्‌। ​तर,  जनस्वास्थ्यविद् डा. दीक्षितले अघिल्लो भेरियन्ट लहरमा पनि अधिकांश संक्रमितहरू युवा नै रहेको बताए।

'नेपालमा जनसंख्याको हिसाबको हिसाबले युवा जमात बढी छ, यो जमात संकटमा पनि चलायमान देखिन्छ, घरदेखि सडकसम्म, अस्पतालदेखि घाटसम्म नै युवाहरूको उपस्थिति रहेकाले बढी संख्यामा उनीहरू नै संक्रमित भएका हुन्‌,' उनले भने, 'यो भेरियन्ट युवामा बढी संक्रामक हुने र अरू उमेर समूहलाई नदेखिने भन्ने चाहिँ होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.