|

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनालाई पुग्ने चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु स्टक रहेका बताएको छ। विभागका महानिर्देशक प्रकाश पौडेलले पूर्ण रुपमा लकडाउन भए पनि तीन महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताए।

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले बताए। बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद गरी सञ्चय नगर्न आग्रह गरे। खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने महानिर्देशक पौडेलले बताए।

‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्यूनतम बस्तुको स्टक करिब ३ महिनालाई अझै पनि हामीलाई सप्लाईमा समस्या छैन,’ उनले भने, ‘नआएपनि पुग्छ। खाद्य पद्धार्थको आपूर्ति सहज छ। उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनुभयो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताए। बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनको भनाइ छ।

‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ,’ उनले भने, ‘बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धिलगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ।’

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै पनि प्रकारको समस्या नभएको दाबी गरे। दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ। 

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताए। विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको माग छ। 

‘बजारमा दुई, तीन वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको छ। वृद्धि हुनुपर्ने कारण केही पनि छैन,’ उनले भने, ‘चिनीको मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ। बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुले आपुर्तिमा असहजता छ भनेर हल्ला फिँजाएर आफ्नो अभिष्ट पूरा गर्न लागे। मास्क, सेनिटाइजरमा कालोबजारी छ। त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको  अनुगमनमा जानुपर्छ।’

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.