|

धनकुटा : यातायातका साधन गुड्दा होस् वा हावा चल्दा लेगुवावासीलाई सधै पिर हुन्छ। गाडी गुड्दा वा हावा चल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ। त्यही धुलोले शरीर भरिन्छ। घरभित्रको खानेकुरा र ओछ्यान धुलाम्मे हुन्छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–लेगुवा सडक कालोपत्र नहुँदा लेगुवावासीले यस्तो समस्या भोग्दै आएका छन्। सडक हिउँदा धुलाम्मे हुन्छ भने वर्षा लागेपछि हिलाम्मे हुन्छ। सडकमा उडेको धुलोले स्थानीयको स्वास्थ्य समस्या आउने थालेको छ। 

यस सडकखण्ड कालोपत्रे गर्न ठेक्का सम्झौता भएको अवधि सकिएर पटक पटक म्याद थपिए पनि काम सकिएको छैन। सरकार र निर्माण कम्पनीले विभिन्न वहानामा सडक कालोपत्रे नगर्दा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीयले राम्ररी खान, सुत्न नपाएको र धुलोकै कारणले विभिन्न रोग लाग्न थालेको स्थानीय सुवन श्रेष्ठले बताए। निर्माणको जिम्मा पाएको कम्पनीले दुई वर्षदेखि कालोपत्रे गर्ने भनेर प्रतिवद्धता जनाएको र सहज परिस्थितीमा काम नगरेर अहिले परिस्थिति नभएको भन्दै भाग्न खोजेको उनको दाबी छ। धुलोका कारण यस क्षेत्रका होटल बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ।

‘कहिले काहीँ त धुलोले कति दिन बाँचिएला र जस्तो हुन्छ,’ श्रेष्ठले भने ‘अत्यधिक धुलो उड्न थालेपछि त बसाइँ नै सर्नुपर्छ कि जस्तो लाग्छ तर, कहाँ जाने? आफ्नो ठाउँ यही हो भनेर चित्त बुझाउनु परेको छ।’ 

घरै छेउमा भएको सडकमा सवारी साधन आवतजावत गर्दा धुलोले घरै छोप्ने गरेको महालक्ष्मी नगरपालिका–५ लेगुवाका नारायणप्रसाद धमलाले गुनासो गरे। कपडा धोएर सुकाए पनि सुक्न नपाई धुलोले छोप्ने उनले बताए।

सडकको घाँसमा पनि धुलो टाँसिने भएकाले गाईवस्तुले मन लगाएस घाँस नखाने स्थानीय तोर्णबहादुर बस्नेत बताए। ‘हिउँदभरि गाईवस्तुलाई डाले घाँस खुवाउनु पर्छ। सबै धुलोले छोपेको हुन्छ,’ बस्नेतले भने, ‘काटेर ल्याएर दियो मन लगाएर खाँदैनन। वर्षौदेखि यस्तै छ अब कहिलेसम्म हो थाहा छैन।’

धुलोले आवतजावतमा मात्रै नभई स्थानीय विभिन्न रोगको सिकार बनेको स्थानीय देवकुमार श्रेष्ठ बताउँछन्। समस्याबारे पटकपटक निर्माण कम्पनीसँग कुरा गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। ‘मुखमा पस्ने धुलोले त कहिले सास फेर्नै कठिन होलाजस्तो हुन्छ,’ उनले भने, ‘घरको कोठाकोठादेखि बजारभरि धुलो नभएको कतै छैन।’

के हुँदैछ काम?

करिब ३६ करोडको लगानीमा सडक निर्माणको ठेक्का लिएको विरुवा कन्स्ट्रक्सनले पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडकको केही स्थानमा कालोपत्रे र अधिकांश ठाउँमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ। लेगुवाको राम बजार भोजपुर र संखुवासभा प्रवेश गर्ने एक मुख्य बजार पनि हो। यो सडक एक वर्षअघि नै कालोपत्रे भइसक्ने भनेर निर्माण कम्पनीले बताए पनि हालसम्म नभएको स्थानीयले गुनासो गरेका छन्।

मध्य पहाडी लोकमार्गअन्तर्गत धनकुटा हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंगा कन्स्ट्रक्सन र पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडक विरुवा कन्स्ट्रक्सनले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।

सम्झौता अनुसार २०७६ चैत मसान्तभित्र सडकमा कालोपत्रे गरिसक्नुपर्ने हो। तर, सो समयमा काम सम्पन्न नभएपछि सम्झौता अवधि गत पुस १५ सम्म थपिएको थियो। थपिएको अवधिमा पनि काम नसकिएपछि सरकारले गत माघ ११ गते पुनः आगामी असार मसान्तसम्म म्याद थप गरेको छ। थपिएको मितिभित्र निर्माण सक्न निर्माण कम्पनी सँगसँगै मिलेर काम गर्ने मध्यपहाडी आयोजना कार्यालय पाँचथरका प्रमुख सुरेश न्यौपानेले बताए।

उनले हिलेदेखि लेगुवासम्मको सडकमा अधिकांश ठाउँमा काम भइरहे पनि कोरोना संक्रमणको दोस्रो लहर समस्या पार्ने हो कि भन्ने चिन्ता थपिएको बताए। मध्यपहाडी आयोजना प्रमुख न्यौपानेले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरी सडक निर्माणको लागि चाहिने सामग्री नेपाली बजारबाट ढुवानी भइरहे पनि भारतबाट ल्याउने सामान आयात गर्न समस्या भइरहेको बताए। 

यता विरुवा कन्स्ट्रक्सनका सञ्चालक सुवित श्रेष्ठले गत वर्ष भएको लकडाउनले केही असर गरेको र यो वर्ष पनि देशका केही जिल्लामा भएको लकडाउनले कालोपत्रे सक्न समस्या भएको बताए। उनले काम धमाधम भइरहे पनि निर्माण सामग्री सकिन लागेकाले कोरोनाको दोस्रो लहरका कारण ल्याउन समस्या भइरहको बताए। 

‘१३ किलोमिटर सडकमा ५ किलोमिटर कालोपत्रे गरिएको र यो महिना थप ५ किलोमिटर सडक कालोपत्रे गरिने योजना छ,’ श्रेष्ठले भने, ‘जेठमा बाँकी ३ किलोमिटर सडक कालोपत्रे गरेर असारमा फिनिसिङको काम गर्ने योजनामा रहेका छौ, कोरोना कति असर गर्ने हो थाहा छैन।’
  
समयमै निर्माण कार्य नहुँदा हिउँदमा ग्रामीण क्षेत्रका अधिकांश सडक आसपासका गाउँहरु धुलोले गर्दा अस्तब्यस्त बन्ने गरेका छन्। त्यसैमाथि सडक स्तरोन्नति गर्दा बाटो फराकिलो बनाउनका लागि भित्ता काटेपछि निस्केको माटोले अत्याधिक धुलो उड्ने गरेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.