|

भक्तपुर : सूर्यविनायक नगरपालिका–१० मिलनचोकस्थित एक घरमा सुत्केरीलाई सेकाउन बालेको आगोले निसासिएर एक महिलाको मृत्यु भएको छ। दुईजना घाइते भएको छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाँउपालिका–३, गुडुवाल घर भई हाल मिलनचोक डेरा गरी बस्दै आएकी २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको हो। यसतै, ४० वर्षीया शान्ति माया ब्लोन तामाङ र उनकी छोरी १८ वर्षिया अनिता घाइते भएका छन्। उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको तर राम्ररी बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ।

घटनाबारे सोनाम तामाङले प्रहरीलाई जानकारी गराएका थिए। सोनाम शान्तिमायाका श्रीमान सलामका साथी हुन्। शान्तिमायालाई फोन गर्दा नउठाएपछि सलामले सोनामलाई फोन बुझ्न आग्रह गरेका थिए। सोनाम शान्तिमायाको कोठामा पुग्दा आमाछोरी तीनै जना बेहोस अवस्थामा फेला परेको थिए।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सागर कार्कीसहितको टोलीले पुगेको थियो। प्रहरी ढोका फोडी घाइतेहरुको उद्धार गरी मध्यपुर अस्पताल पठाएको थियो। उपचारको क्रममा सुनिताको मृत्यु भएको हो। 

कोठाको झ्याल र ढोकाभित्रबाट चुकुल लगाई बन्द गरिएको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

प्रहरीका अनुसार बैशाख १९ गते अनिता सुत्केरी भएकी थिइन्। सुत्केरीलाई तातो सेकाउन मकलमा कोइला बालेको तर कोठाको झ्याल ढोका बन्द गरेकाले अक्सिजनको मात्रा अपुग भई तीनैजना बेहोश भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ। मृतकको रगतको नमुना र भिसेरा परीक्षणको लागी सुरक्षित राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.