|

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथानमा छिमेकीले पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

घारीबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायको आज बिहान कीर्तिपुर अस्पताल, काठमाडाैंमा मृत्यु भएको हो। शियाशरणलाई हिजो बिहान छिमेकी अन्दाजी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्किएर आगो लगाएका थिए।

आगोले शरीरका सबैजसो भाग जलेर गम्भीर घाइते भएका शियाशरणलाई धनुषाको लालगढमा सामान्य उपचार गरी हेलिकप्टरमार्फत काठमाडाैं पुर्‍याइएको थियो।

उनलाई पेट्रोल छर्किएर आगो लगाउने शिवजी साह भने अझै फरार छन्। उनको तीव्र रुपमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि दुबई गएका शिवजी अस्ति आइतबार मात्रै घर आएका थिए। पुरानो रिसिइबीका कारण शिवजीले शियाशरणमाथि पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ।

 


 

करेन्ट लागेर मृत्यु

त्यस्तै ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा आज बिहान करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका–७ बयलबास बजारस्थित राजेन्द्र साह तेलीको सडकमा परेको घर भत्काउने क्रममा सोही ठाउँका ६० वर्षीय नथुनी महतो नुनियाको करेन्ट लागेर मृत्यु भएको हो।

बयलवास बजार क्षेत्रमा अहिले सडक कालोपत्रेका लागि धमाधम सडक विस्तारको काम भइरहेको छ। घर भत्काउने क्रममा हम्मरले बिजुलीको नांगो तारमा छुँदा करेन्ट प्रवाह भई नुनियाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ। कान नसुन्ने र आर्थिक अवस्था अत्यन्त कमजोर रहेका मृतक नथुनीले मजदुरी गरेर परिवारको पेट पाल्दै आएका थिए। उनको मृत्युपछि परिवारका सदस्यहरु बिचल्लीमा परेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.