महन्थइतर भन्छन् : ओलीलाई समर्थन गर्नु विष पिउनुसरह

|

काठमाडौं : चौथो शक्तिको रुपमा स्थापित मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको सँघारमा छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने या नजाने विषयमा जसपा अब फुट्न मात्र बाँकी छ। 

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव समूह ओली सरकारलाई कुनै हालतमा समर्थनसमेत नगर्ने पक्षमा छन् भने पूर्वराजपा समूह भने सरकारमा जान खुट्टा उचालेर बसेको छ। 

जसपाका बाबुराम–उपेन्द्र पक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगागी कदम चालेको आरोप लगाउँदै आएका थिए। यो समूहले प्रतिपक्षीसहित नयाँ सरकार बनाउनुपर्ने माग अघि सार्दै आएको छ।

तर अर्का महन्थ अध्यक्ष ठाकुर भने ओलीलाई सत्ता संकट परेको र आफ्ना केही मागमा ‘बार्गेनिङ' गर्दै आइरहेको छ। यो पक्ष यही सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छ। 

पार्टीभित्र चरम विवाद चुलिएको छ। जसपाका नेताहरू नै पार्टी विभाजन हुन लागेको स्विकार्न थालेका छन्। नेता भट्टराईनिकट विश्वदीप पाण्डेले मंगलबार फेसबुकमार्फत पार्टी विभाजनको संघारमा रहेको बताइसके। उनले लेखेका छन्- ‘कांग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिबकरिब फुटको संघारमा पुगेको छ। हामी सकभर पार्टी फुटबाट जोगाउन प्रयासरत छौँ, तर हिजो बेलुकादेखि देशीरविदेशी शक्ति पैसाको झोलासहिको गाडीमा केही सांसद् र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दै छ।’ ​सांसदहरूमाथि प्रलोभन मात्रै नभएर डर र त्रासको धम्कीसमेत आइरहेको उनले लेखेका थिए।  

'ओलीलाई कुनै हालतमा सघाउन सकिँदैन'

ओलीलाई कुनै पनि हालतमा विश्वासको मत दिन नसकिने अध्यक्ष  ठाकुरइतरका नेता रामबाबु यादव बताउँछन्। भन्छन्, ‘दुई पार्टीबीचको एकता प्रक्रिया टुंगिएको थिएन। तर, उहाँहरू लोभ लालचमा पर्नुभयो। बैठक राख्नै छाड्नुभयो। केपीलाई काँध थाप्न अघि सर्नुभयो। हाम्रो त पहिल्यै ओलीदेखि दुई धार त थियो नै। संसद् विघटन गरेपछि कांग्रेस र जसपामा आन्दोलन जाने या नजाने भन्ने विषयमा दुई धार देखियो। उहाँहरू जनताको अगाडि नांगो हुने डरले मात्रै जनताको अगाडि सडकमा जानुभएको थियो।’ अध्यक्ष ठाकुर संसद् पुनःस्थापनापछि केपी दरबार बालुवाटार धाउन थालेका उनले आरोप लगाए।

‘कांग्रेसले पनि संवैधानिक नियुक्तिमा आफ्नो भाग पायो। उहाँहरू अहिले ओलीको गोटी मात्रै हुनुभएको छ। संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका लागि नलडेकाहरू मात्रै भइदिएको राजनीतिमा रमाएकाहरूको समूह बनिरहेका छन्,’ यादवले भने, ‘संसदीय र कार्यकारिणी समितिको बैठकले निर्णय गर्छ, तर, हामीले ओलीलाई समर्थन गर्नु भनेको विषय खानु हो।’ लोकतन्त्रमा लोकतन्त्रलाई नै हत्या गर्नेतिर लागेकाहरूलाई समर्थन गर्न नसकिने उनको तर्क छ। 

‘ओली सरकार फाल्न हरप्रयत्न गछौँ। हामी सफल हुन्छौँ भन्ने लागेको छ। उहाँहरूलाई अरू कुनै उपाय नलागेपछि डुल्दै हस्ताक्षर अभियान चलाउनुभएको छ। हामीले हस्ताक्षर अभियान चलाएका छैनौँ’, यादवले थपे। 

ओली प्रवृत्ति मौलायो

यादवले पार्टीभित्र ओली प्रवृत्ति मौलाएको पनि आरोप लगाए। 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बहुमत सदस्य लिएर बालुवाटारमा ओलीलाई बैठक राख्न आग्रह गरेको स्मरण गर्दै पार्टीमा ओली प्रवृत्ति मौलाएको उनले बताए। 

उनले भने, ‘हामीले पार्टीको बैठक राखौँ मात्रै भनेका हौँ। उहाँहरूले पार्टीलाई एकल निर्णयबाट चलाउन चाहनुहुन्छ। पार्टीको कार्यकारिणी समितिको बैठक राख्नै नचाहने। बाध्य भएर बालकुमारीमा एउटा बैठक बसेको थियो। त्यसपछि अहिलेसम्म कुनै बैठक बस्न सकेको छैन।’

आफूहरू केपी ओलीलाई फाल्नकै लागि लागिपरेको यादव दाबी गर्छन्। पार्टीमा केपी ओलीविरुद्ध पार्टीमा २२/२३ सांसद् रहेको उनको भनाइ छ। 

‘उहिले उहाँहरू सत्ताको आडमा सांसद्को पोको लिएर र मन्त्रीलगायत सरकारी नियुक्तिको आश्वासन बाँडेर धाइरहेको हामीले देखेका छौँ। प्रभाव र दबाब राखेर उहाँहरू अगाडि बढ्न खोज्नुभएको छ’, यादवले भने, ‘संसदीय दलको बैठकमा मुस्किलले ५ जनाबाहेक सांसद् ओलीविरुद्ध नै हुनुहुन्छ। केपीको बिदाइ गर्नुपर्छ भन्ने उहाँहरूको धारणा छ।’  

बैठक बसेर आधिकारिक धारणा

यता जसपाका अर्का नेता केशव झा भने पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँछन्। भने, ‘पार्टीमा कुनै विवाद छैन। दुई वटा विचार देखियो। वर्तमान परिस्थितिमा बैठक बसेर धारणा सार्वजनिक गछौँ।’ 

तर, उनी पार्टीभित्र दुवै समूहबाट हस्ताक्षर संकलन गरेको स्वीकार गदैनन्। ‘विश्वासको मतको सन्दर्भमा पहिलादेखि हाम्रो माग सम्बोधन भए सहयोग गर्न सकिन्छ भन्ने विषयको सम्भावना हुन सक्छ भनेका हौँ’, उनले भने, ‘हाम्रो माग सम्बोधन भएको खण्डमा यही सरकारलाई निरन्तरता दिन सकिन्छ। तर, त्यस विषयमा पार्टीले छलफल गरेर निर्णय गछौँ।’  

जसपा एक नबस्ने अन्य दलको निष्कर्ष

जसपाभित्र चुलिएको विवादले अब जसपा एउटै पार्टी नबस्ने अन्य दलले आकलन गर्न थालेका छन्। 

‘हामीले प्रधानमन्त्रीलाई समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ। यसमा पनि केपी ओलीले आफ्नो सरकार जोगाउन जस्तोसुकै कदम चाल्न सक्नुहुन्छ’, माओवादीका एक नेताले थाहाखबरसँग भने, ‘अहिलेको परिस्थिति हेर्दा जसपा एकै ठाउँमा रहने सम्भावना हामीले देखेका छैनौँ। बैठकमा त्यसबारे पनि प्रसंग चलेको थियो।’ ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीले नयाँ सरकार बनाउँने विकल्पबारे निरन्तर छलफल गरिरहेको ती नेताको भनाइ छ। 

यस्तै, आजै बसेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। एमालेभित्र ओलीविरुद्ध संघर्ष गरिरहेका माधव नेपाल समूहले पनि कसरी अघि बढ्नेबारे आज छलफल गरेको छ। 

बैठकमा ओली सरकार ढाल्न आफ्नो पक्षबाट कस्तो कदम उठाउँदा उपयुक्त हुन्छ भन्नेबारे पनि छलफल भएको बैठक सहभागी एक नेताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.