|

जाजरकोट : जिल्ला अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउन अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। 

दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो। खरिद गरेदेखि अहिलेसम्म नै भेन्टिलेटर बन्द कोठामै राखिएको हो। प्रदेश सरकार मातहत रहेको अस्पतालमा भेन्टिलेटर ल्याइएपनि प्रयोग नहुनु पीडादायी भएको डाक्टरहरू बताउँछन्। 

नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँ अभाव भएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टीकाराम जैसी बताउँछन्। 'प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेर जानकारी गराएको छ,' उनले भने। 

एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएका सामग्री पनि ठाउँ अभावका कारण जोड्न नसकिएको उनले बताए। उनका अनुसार २५ वटामध्ये अहिलेसम्म १५ वटामात्र एचडीयू जोडिएको छ।

जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भएपनि अक्सिजन प्लान्ट खरिद प्रकृया हालै अघि बढाइएको छ। जबकि अघिल्लो वर्ष नै खरिद गर्नुपर्ने थियो।  अक्सिजन प्लान्ट नहुँदा गम्भीर स्वासप्रश्वास समस्या भोगेका बिरामीले उपचार क्रममा सहजता महसुस गर्न नसकेको जैसीले बताए।  

अक्सिजन प्लान्ट खरिद गर्न सम्झौता मात्र भएको, तर जिल्ला अस्पतालमा कहिले उपलब्ध हुने भन्ने निश्चित नरहेको अस्पताल प्रशासनले जनाएको छ। महामारीको समयमा २०० भन्दा बढी बिरामी भएपनि ठाउँ अभावका कारण अस्पतालमा उपचार हुन सकेको छैन।

जिल्ला अस्पतालमा १० जना डाक्टर छन्‌। तर, सामग्री खरिद गर्न नेतृत्वले इच्छा शक्ति नदेखाउँदा हैरान भएको पनि स्वास्थ्यकर्मीहरू बताउँछन्। 

साताअघि दिएको निर्देशन अझै पालन भएन

कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानीय तहले कम्तिमा १० देखि १५ बेडको आइसोलेसन बनाउने निर्णय भएपनि स्थानीय तहले कार्यान्वयन गरेका छैनन्।

भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सीधै घर जाने गरेका छन्। मंगलबार पनि भेरी नगरपालिका-२ मा भारतबाट आएका बिरामी हुँदा व्यवस्थापनमा समस्या आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.