|

सर्लाही : हरिवन नगरपालिकाले कोभिड १९ को बिरामीका लागि १०० शय्याको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। पछिल्लो समय नयाँ भेरियन्टसहित कोभिड १९ को दोस्रो लहर सर्लाहीमा पनि तीव्र गतिमा फैलिएपछि नगरपालिकाले अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्वर ४ सासापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ४० शय्या र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शय्याको व्यवस्था गरेको छ। नगर प्रमुख गणेश प्रसाईले नगरका कोही कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्था राखिएको र अक्सिजनसहितको शय्या पनि व्यवस्था गरिएको बताए। साथै, बिरामीको थप उपचारका लागि अन्यत्र लानुपर्ने अवस्था भएमा २४सै घण्टा अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिए।

कोभिड १९ को यो महामारीमा कसरी नागरिकलाई सहजरुपमा एम्बुलेन्स सेवा प्रवाह गर्न सकिन्छ भनेर एम्बुलेन्स चालकसँग पनि नगरपालिकाले छलफल गरेको छ। नगरपालिकाले चालकहरुले भोग्नु परेको समस्या र आइपर्ने समस्याको बारेमा समेत जानकारी लिएको छ। नगरपालिकाले लिएको मानव सेवाको कामलाई सहज रुपमा सेवा प्रवाह गर्न तयार रहेको चालकहरुले प्रतिवद्धता जनाएका छन्। हाल नगरपालिकाभित्र विभिन्न अस्पताल तथा संघसंस्थाले सञ्चालन गरेका १३ वटा एम्बुलेन्स छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.