|

म्याग्दी : कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ। 

मंगलबारदेखि मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडक खण्डमा कालोपत्रे सुरु गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नम्बर ३ को ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीका इन्जिनियर सचिन शर्माले जानकारी दिए। शर्माको अनुसार ५५ करोड ३० लाख १६ हजार ६०१ रुपैयाँमा उक्त सडक खण्डको कालोपत्रेको ठेक्का लिइएको हो। सडक आक्सपाल्ट प्रविधिको कालोपत्रे हुने उनले बताए।

शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्रे र १३ सय मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनीले अहिलेसम्म ७० प्रतिशत काम सकेको छ। आगामी असार मसान्तसम्म काम सक्ने लक्षका साथ काम भइरहेको बताइएको छ।

सडकलाई दुई लेनको हुनेछ। घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भैसकेको शर्माले बताए। सडका साढे ८ मिटर फराकिलो गरी कालोपत्रे गरिँदै छ।

त्यसैगरी शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नम्बर २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रेको तयारी गरिएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ, काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ।

वि.सं. २०६४ सालमा नेपाली सेनाले ट्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि ४ प्याकेजमा स्तरोन्नतिको काम भैरहेको छ। पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रेको तयारी भैरहेको सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका प्रमुख अमृत दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.