|

धनकुटा : महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदादेवी पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदीको पुल तरेर खानेपानी लिन जान्छिन्। बेलुका पनि उनको पहिलो काम पानी लिन नै हो। 

पौडेल त एक उदाहरण मात्रै हुन्। लेगुवाका बासिन्दाले वर्षौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन्। पानीको मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महिना खानेपानीको जोहो गर्न घण्टौँ लाग्ने गरेको छ। अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदी सुसाउँदै बगिरहेको छ। तर, त्यही लेगुवा बजारमा खानेपानीको चरम अभाव छ। लेगुवा बजारका बासिन्दा लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन्।

यसअघि प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएकाले खानेपानी लिन नदीपारि जानु परेको पौडेलले बताइन्। नदीपारि भोजपुरमा डिप बोरिङ गरेर निकालिएको खानेपानी रहेको छ। त्यहाँ पनि घण्टौं लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता छ। दिउँसो खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्ने स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन्। वर्खा याममा केहीसहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको उनको भनाइ छ।

श्रेष्ठले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करिब १० वर्ष भयो। तर, अहिलेसम्म कसैले दुःख नदेखेको उनको गुनासो छ। केही समयअघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि त्यही नदीपारिको पानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ।

अरु बेलाभन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याले लेगुवावासी झन् चिन्तित छन्। पानी खोज्न जाँदा कोरोना सर्ने हो कि भन्ने पिरलो उनीहरुलाई छ। किनकि, प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ। खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताउँछन्।

यहाँका स्थानीयले जनप्रतिनिधि आएपछि आफ्नो समस्याको समाधान होला भन्ने आशा गरेका थिए। तर, पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ। लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भए पनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायणप्रसाद धमलाले बताए। उनले महालक्ष्मी नगरपालिकाले ८ लाख रुपैयाँ लगानीमा खानेपानी योजना सञ्चालन गरे पनि सामान गुणस्तरहीन भएर काम नलागेको बताए। ‘खानेपानीको नाला र कल खरिद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो,’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन।’ नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको धमलाको गुनासो छ।

खानेपानी अभावले नै लेगुवाबासी बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन्। छिमेकी जिल्ला भोजपुरले तीन किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको छ। तर, नदीबाट करिब ५०० मिटर मात्रै उचाइ रहेको लेगुवामा पम्पिङ प्रविधिबाट खानेपानी व्यवस्था गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयको गुनासो छ।

महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा नम्बर ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनका लागि मुहान तथा पाइपलाइनको अनुगमन गरेको जनाएको छ। नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइपलाइन थप तथा क्षमता बिस्तारको कामका लागि जिल्ला खानेपानी कार्यालयसँग सहकार्य गरी अघि बढ्ने नगर प्रमुख पर्शुराम नेपालले बताए। उनले लेगुवा बजारमा खानेपानीको समस्या रहे पनि समाधानका लागि नगरपालिका लागिरहेको बताए। ‘गत साल सातवटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन,’ नगर प्रमुख नेपालले भने, ‘अहिले पाइपलाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ।’

नगर प्रमुख नेपालका अनुसार नयाँ पाइपलाइनको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी इस्टमेट पनि भएको छ। ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो,’ उनले भने, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन्।’

हुन त लेगुवा अरुण नदीको किनारमा भए पनि नेपाल सरकारले सुक्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ। यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.