|

‘कति बसिरहन सक्या भन्या, अलिअलि यसो खुट्टा तन्काए पनि हुन्छ नि! एकछिन मर्निङ वाक गरेर आए हुँदैन?’ प्रायः उसकी पत्नीले सधैं भनिरहने वाक्य हुन् यी।

आज पनि उनले त्यसै भनिन्।

‘तिमीलाई निषेधाज्ञा लाग्या थाहा छैन! बिना काम अहिले लखरलखर बाहिर जानै हुँदैन नि!’ उसले भन्यो।

केही दिन अगाडि उसले पत्नीलाई भनेको थियो, ‘सरकारले नै संसारमा सबैभन्दा प्रदूषित शहर काठमाडौ हो भनिराखेको छ, यस्तोमा कसरी बाहिर जानु ?’

केही दिन अगाडि भनेको थियो, ‘कोभिडको यस्तो महामारी छ, के कोभिड भित्र्याउन बाहिर जानु?’

पहिले एकचोटि भन्यो, ‘मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम सफा हुन्छ भन्या'छ। त्यसले भन्या आजसम्म कहिले मिलेको छ र? त्यसैले अहिले पानी पर्नसक्छ। पानी आउँदा भिजिन्छ, अनि सर्दी लाग्छ। त्यसैले आज नजाने।’

अर्को दिन उसले भनेको थियो, ‘तिमीले पनि अघि गुगलमा हेर्‍या होइन? आज अहिले पानी पर्ने देखाएको होइन? अनि कसरी जानु?’

यिनै र यस्तै हुन्छन् उसका जवाफ।

जे भए पनि ऊ कसैले भनेको मान्नेवाला छैन। कसैले केही भनिहाले भने ऊ एउटा न एउटा लफङ्गा लाउँछ र कुरै उडाइदिन्छ। जान्नेहरू भन्छन्‌, ‘विचित्र स्वभावको छ ऊ।’ 

बिहानको निन्द्रा उसलाई मीठो लागेपनि बिहान भने सबेरै उठ्छ अर्थात बिहान पौने चार बजे नै उठ्छ ऊ। त्यसपछि एकछिन कसरत गर्छ। ऊ योगासन जान्दैन। तर योगा भनिने धेरै क्रिया भने गर्छ। शिरदेखि पैतालासम्म सबै अंगप्रत्यंग तानतुन गर्छ, तन्याकतुनुक पार्छ। अनि केही समय प्राणायाम गर्छ।

लगभग एक घन्टा कसरत तथा प्राणायम गरिसकेपछि ऊ ध्यान गर्न बस्छ। ध्यानमा बसेपनि कसरत गर्दा दुखेको ज्यानका कारणले उसको ध्यान कसरततिरै मोडिन्छ।

कसरत गर्दा उहिले सरले पिटिपिटी पिटी खेलाएको सम्झन्छ। पिँडुला दुखेको सम्झन्छ। त्यसरी नै एनसिसि तालिम लिँदा कवाज खेलेको सम्झन्छ। कवाज खेल्नभन्दा पनि काठमाडौंमा पुस महिनाको बिहान जाडोमा उफ्रेर थाकेको बेला पाइने डेरीको चिसो दही सम्झन्छ। एक बोतल चिसो दूध र तात्तातो दुईवटा जेरीको सम्झना बढी हुन्छ उसलाई।

कसरतको क्रममा भुँडीका लाम्टा दुख्दा खोकी लागेको बेला धेरै खोकेर त्यसरी नै भुँडीका लाम्टा दुखेर खोक्न नसकेको सम्झन्छ। त्यसबेला उ खोकी नलागेपनि बल गरेर एकपटक ख्वाक्क खोक्छ।

उसको घरबारीको दुईचार गरा खेतमा सिँचाइको व्यवस्था थिएन। आकाशे पानीको भरमा धान रोप्ने काम हुन्थ्यो। गोरु त छँदै थिए। पानी परेको बेला खेताला खोज्न गाउँतिर जाँदा बुढा मान्छेले पनि जोत्ने हुँदा हली भने मुस्किलले पाइन्थ्यो।

बाउसे गर्ने केटाहरू पनि पाइन्थ्यो। रोपाहार पनि पाइन्थ्यो। आली लाउने लाठे भने भन्या बेला पाउन गाह्रो हुन्थ्यो। त्यसबेला आफैँ ठीक पर्नुपर्थ्यो।

आली लाउने काम साह्रै गाह्रो लाग्थ्यो उसलाई। त्यसमा बल त चाहिन्थ्यो नै, सीप र लगन पनि उत्तिकै आवश्यक हुन्थ्यो।

ताछेको आलीमा पर्याप्त हिलो अड्याएर, चिल्याएर मिलाउन गाह्रै हुन्थ्यो। जोत्दा वा बाउसे गर्दा यसो अलिअलि निहुरिँदा हुन्थ्यो भने आली लाउँदा काम नसकिउञ्जेल निहुरिरहनु पर्थ्यो। त्यतिबेला त खास याद हुँदैनथ्यो, अहिले ऊ विभिन्न कसरत गर्दा पिँडुला, पाखुरा, ढाड र पाँसुला दुख्दा उस बेला जिउ दुखेर बिहान उठ्न नसकेको सम्झन्छ।

कसरतबाट मुस्किलले ध्यान मोडेर देवी-देवताको नाम स्मरण गर्न थाल्छ ऊ। अनेक प्रयत्न गर्दा पनि ऊ मन र मस्तिष्कलाई काबुमा लिन सक्दैन, एकाग्र हुन सक्दैन।

त्यसैबेला उसको नाक सकसकाउँछ र ‘छ्युँ’ गर्छ। छ्युँ गरेपछि ऊ हिजो बिहान मात्र घटेको घटना सम्झन पुग्छ।

नुहाइ धुवाइ सकिएपछि उसले साविकमा झैँ बाफ लियो। अनि कुनै कम्पनी उत्पादित तेल नाकमा हालेर भान्सामा आएर बेसारपानी पिउन थाल्यो। त्यसबेलै उसलाई ‘छ्युँ’ आयो। छ्युँ रोकिने कुरा भएन, उसले छ्युँ गर्‍यो। घरमा बस्दा कसैले पनि मास्क लगाउने कुरा भएन। उसले छ्युँ गरेपछि कोठामा भएका परिवारका सबै सदस्य हतारहतार बाहिर निस्किए।

त्यो सम्झेर ऊ मुस्कुरायो र मनमनै भन्यो, ‘कोरोनाको करामत!’ अनि आफूलाई सम्हाल्दै मनमनमा सम्झ्यो, ‘यस पाराले कसरी ध्यान गरिएला!’

त्यसपछि उसले गायत्री जपेर आफूलाई एकाग्र गर्न खोज्यो। बिस्तारै ध्यानमग्न हुन लागेको अवस्थामा उसले मोबाइलको आवाज सुन्यो र नजानिकनै ध्यान मोबाइलतिर मोडियो।

जागिरमा हुँदा उसको मोबाइलको घण्टी बजिरहन्थ्यो। आफूले सेभ नगरेको अथवा आफूले नचिनेको मानिसको नम्बर भए ऊ बजिरहन दिन्थ्यो। उठाउँदैनथ्यो।

त्यस्ता फोन खासगरी चन्दा माग्ने, अनियमित काम गराउन दबाब दिने, आर्थिक लाभका कुरा गर्ने, केही गर्दा नमाने हप्काउने, तर्साउने आदि हुन्थे। यो कुरा उसले बुझेको थियो। त्यसैले फोन न उठाइदियो, ढुक्क।

अहिले उसको फोन बज्दैन। उसलाई अहिले आफ्नो फोन बजिदियोस् जस्तो लाग्छ। तर पहिले फोन गर्ने कसैले अहिले फोन गर्दैन उसलाई। कसैको फोन आइहाल्यो भने दङ्ग परेर फोन उठाउँछ।

भर्खरकै कुरा हो। फोन आएछ उसकै भतिजको छोरा अर्थात नातिको। नातिले भारतको विजयबाडाबाट कम्प्युटर इञ्जिनियरिङमा स्नातक गरेका हुन्। उनी जर्मनीबाट डेटा एनालिसिसबारे स्नातकोत्तर गर्न जाँदै थिए। उहाँ भर्ना भएपनि कोभिडको कारणले उनी जान सकिरहेका थिएनन्। उनी यहीँबाट अनलाइन क्लास लिइरहेका थिए। उता कोभिड मत्थर भएकाले जाँदैछन् भन्ने सुनेको थियो उसले।

उनै नातिको फोन आउँदा दङ्ग परेर फोन उठाउँदै उसले भन्यो, ‘कहिले जाने हो नाति?’ नातिले जाने कुरा चाहिँ गरेनन्। जानका लागि सायद ४८ घन्टा अगाडि पीसीआर टेस्ट गराएर नेगेटिभ भएमात्र जान पाइने भएर होला, उनले खुशी हुँदै भने, ‘पीसीआर टेस्ट गराएको रिजल्ट आयो।’

‘अनि के भयो त?’ उसले सोध्यो।

स्वभाविक रुपमा नातिले जवाफ दिए,‘नेगेटिभ आयो।’

०००

ऊ आजकल अलिक एब्सेन्ट भएजस्तो लाग्छ। त्यही भएर होला-यो नेगेटिभलाई पनि उसले अन्य नेगेटिभ झैँ नै सम्झियो। र भन्यो, ‘बिचरा जान ठीक पर्‍या! बर्बादै भएछ। अब फेरि पीसीआर टेस्ट कहिले गराउन पाइन्छ नाति?’

उसकी पत्नीले मोबाइल खोसिन् र उनलाई भनिन्, ‘होइन के भनेको? ठीकै भएछ त। नेगेटिभ आएछ।’ अनि नातिलाई सोधिन्, ‘कहिले जाने त नाति?’

नातिले के भने, यता ऊ आफ्नो बेहोसीमा दिक्क मान्दै अर्कै सुरमा लागेर ध्यानमग्न भएछ र केही थाहा पाएन।

लगभग एक घन्टापछि ऊ ध्यानबाट बाहिरियो। पलेँटी खोलेर उठ्न उसलाई निकै गाह्रो भएको महसुस गर्‍यो। दुई हात भुइँमा टेकेर उठ्यो। जिउ तन्कायो। हात गोडा जिउ सबै दुखेको अनुभव गर्‍यो।

त्यसबेला उसले बाल्यकाल अथवा युवा अवस्थामा जस्तो शारीरिक व्यायाम गर्न नसकिने रहेछ भन्ने सोच्यो। ‘भोलिदेखि उमेर अनुसारको व्यायाम मात्र गर्नुपर्ला। जे गरिँदैछ, त्यो बढी नै भइरहेको छ,’ उसले सम्झ्यो।

त्यसैबेला उसकी पत्नी आइन् र भनिन्, ‘होइन! आज त निकै लामो ध्यान पो भयो त‘!

पत्नीको यस वाक्यले ऊ ध्यानबाट पूर्णरूपमा मुक्त भयो।

र, पत्नीको वाक्यबाट शुरू भएको कथा पत्नीको वाक्यमै सकिएछ।

मैले कथा वाचन गरें। कथाको चरित्र मलाई चिनेजस्तो लाग्यो।

चरित्र चिन्न मैले फेरि पढें। धेरै पटक पढेँ।

​हैट! त्यसपछि पो मलाई ज्ञान भयो, पहिले जस्तै ‘फेरि त्यो ऊ...’ चरित्र त म आफैँ नै पो रहेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.