विपक्षीसँग निरन्तर संवाद, ओली लचक भए सोच्न सकिने

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा यही २७ गते विश्वासको मत लिँदैछन्। विपक्षी दलबाट मोर्चाबन्दीको प्रयास भइरहेका बेलामा प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट समेत विश्वासको मत पाइनेमा विश्वस्त छैनन्। 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दै गर्दा एमाले भित्रैबाट समानान्तर कमिटी चलाउँदै आएका माधवकुमार नेपाल समूहले अझै विश्वासको मत दिने पक्षमा देखिएको छैन। 

ओलीविरुद्ध संघर्ष गरिरहेको नेपाल समूह ओलीलाई विश्वासको मत दिने समय नजिकिँदै गर्दा आन्तरिक तयारीमा जुटेको छ। तर, अझै कुनै निष्कर्ष निकाल्न सकेको छैन। 

विवाद बढ्दै गएपछि फरक पार्टीको अभ्यास भइरहेको एमालेभित्रको राजनीति अब कसरी अगाडि बढ्छ? भन्नेबारे निर्णय बैशाख २७ गते नै तय हुने देखिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै गर्दा माधव नेपाल समूहको उपस्थितिले एमालेको आगामि कार्यदिशा निर्देश गर्ने आँकलन गर्न थालिएको छ। 

राजीनामाबारे छलफल 

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वा के गर्ने भन्ने बिषयमा छलफल चलिरहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 

‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने बिषयमा छलफल गरिरहेका छौँ। छलफलको क्रममा विभिन्न विषयहरु उठेका छन्। अहिले हामीले कुनै निष्कर्ष निकालेका छैनौँ’ उनले भने। 

ओलीले आफ्नो गल्ती नसच्याए सामूहिक राजीनामा दिनेसम्मका बिषय उठिरहेको उनी स्वीकार गर्छन्। 

उनी भन्छन्, ‘छलफलको क्रममा सामूहिक राजीनामाको कुरा पनि  उठेको छ। तर, त्यो बाहिर प्रचार भएजस्तो अन्तिम निर्णय भइसकेको भने होइन।’

‘ओलीको व्यवहारमा भर पर्छ’

ओलीले विश्वासको मत पाउने या नपाउने भन्नेबारेमा आफ्नै व्यवहारमा भर पर्ने सांसद् विरोध खतिवडा बताउँछन्। 

‘केपी ओली नेतृत्वमा छन्। उनको व्यवहारअनुसार हामी अगाडि बढ्ने हो’ उनले भने, ‘हामीले अहिले अनेकौँ विकल्पबारे छलफल चलाइरहेका छौँ। अन्तिम निर्णयमा पुगेका छैनौँ।’

ओलीले आफ्नो व्यवहार नसुधारे सामूहिक राजीनामा गर्ने भन्नेबारेमा पनि तिव्र छलफल चलिरहेको उनी पनि बताउँछन्। 

ओलीले यसअघिको कमीकमजोरीलाई सच्याएर पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउन सहमत भए विश्वासको मत दिन सकिने उनको भनाई छ। 

माधव पक्षलाई धर्मसंकट !

ओलीले विश्वासको मत लिनको लागि आह्वान गरेको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे माधव नेपाल समूह अझै निर्णयमा पुग्न सकेको छैन। तर, ओलीविरुद्ध उत्रिरहेको बेलामा विश्वासको मत कसरी दिने भन्ने नैतिकताको प्रश्नसमेत उठेको नेताहरु बताउँछन्। 

‘उहाँले हामीलाई जस्तो व्यवहार गर्नुहुन्छ। हामीले पनि त्यस्तै जवाफ फर्काउने हो। अहिलेसम्म उहाँ आफ्नो अडानबाट पछि हट्ने मनस्थितिमा हुनुहुन्न’ नेपाल समूहका एक नेताले भने, ‘राजीनामा भन्दापनि बैठकमा नै सहभागी नहुने कि भन्ने बिषयमा पनि छलफल चलिरहेको छ।’

त्यसो त ओलीले माधव समूहका ३० सांसदमाथि कारवाहीका लागि स्पष्टीकरणसमेत सोधिसकेका छन्। ओलीले पार्टीभित्र दबाव राखेपछि नेता नेपालले पनि विपक्षी मोर्चासँग निरन्तर संवाद गरिरहेका छन्। 

नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेका छन्। उनले प्रचण्डसहित, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग सामूहिक भेटवार्ता गरेको स्रोतले बतायो।

मंगलबार देउवासहित भेटवार्ताका नेता नेपालले बुधबार हात्तीवनमा प्रचण्ड र जसपा अध्यक्ष यादवसँग भेटवार्ता गरेका छन्। 

पार्टी विपरित चले कारबाही

‘हामीले सकेसम्म सहमतिको बाटो खोजिरहेका छौँ। उहाँहरु पार्टीभित्र बसेर छलफल गर्न चाहनुहुन्न’ ओली निकट एक नेता भन्छन्, ‘उहाँहरु पार्टी विपरित चल्न थाल्नुभयो भने आवश्यक कारवाही प्रक्रिया अघि बढ्छ। स्पष्टीकरण सोधिएका सांसद्हरुमाथि के गर्ने भन्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइसकेका छौं।’ 

माधव समूहले ओलीसँग सहकार्यका  लागि सर्वोच्च अदालतले पार्टी पूर्ववत् अवस्थामा फर्काएपछि ०७५ जेठ २ बाटै अघि बढ्नुपर्ने तर्क गर्दै आइरहेको छ। तर, ओलीले एकलौटी रुपमा केन्द्रीय कमिटी विस्तारदेखि महाधिवेशनको मिति समेत तोकिसकेका छन्। 

ओलीले माधव समूहलाई बाइपास गरेर पार्टीलाई एकलौटी ढंगबाट अगाडि बढाइसकेका छन्। त्यति मात्रै नभएर नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ओलीले ६ महिनाको लागि पार्टी साधारण सदस्यसमेत नरहने गरी कारवाही समेत गरिसकेका छन्।

‘पार्टी विपक्षमा मतदान गर्नुहुन्न’

ओली समूहका नेता शेरबहादुर तामाङले माधव समूहले पार्टीको विपक्षमा  मतदान नगर्ने दाबी गर्छन्।

उनी भन्छन्, ‘सामूहिक राजीनामा अहिलेसम्म हल्ला मात्रै हो जस्तो लाग्छ। आधिकारिक रुपमा हामीले पाएका छैनौँ। उहाँहरुले पार्टीको विपक्षमा मतदान गर्नुहुन्छ जस्तो हामीलाई लागेको छैन।’

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउँछ या समर्थन फिर्ता हुन्छ भनेर धेरै कुर्दा पनि प्रतिपक्षीबाट आउन नसकेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उनले बताए। 

‘उहाँहरु पार्टीको विपक्षमा उभिनुहुन्छ भन्ने लागेको छैन। त्यसैले पार्टीबाट कारबाही प्रक्रिया अहिले अघि बढेको छैन। उहाँहरुको एजेण्डा बिषयमा पार्टीभित्र छलफल भइरहको छ’ 

माधव समूहले राजीनामा दिए के हुन्छ?

प्रतिनिधि सभामा २७५ सदस्य छन्। एमालेका १२१ सांसद् छन्। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ। तर, एमालेमा १२१ सांसद् छन्। 

जसमध्ये माधव समूहमा प्रत्यक्ष निर्वाचित भएर आएको २२ सांसद् छन्। उनीहरुको राजीनामाबारे छलफलमा छन्। ओलीले प्रत्यक्ष र समानुपातिकबाट आएका गरी ३० सांसदलाई स्पष्टीकरण सोधेका छन्। ओलीले चाहे सबैलाई कारवाही गर्न सक्छन्।  

संसद्मा कांग्रेसको ६३, माओवादी केन्द्रको ४९ (४ जनालाई कारबाहीपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सांसद् रहेका छन्। जसमध्ये कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बनमा परेका छन्। 

माधव समूहले फ्लोर क्रस नगरेको अवस्थामा पनि ओलीलाई सत्तामा रहिरहन अन्य दलको १५ सांसद् आवश्यक पर्छ। तर, माधव समूहको सामूहिक राजीनामा गरे ओलीलाई सत्ता टिकाउन मुस्किल पर्ने देखिन्छ। 

अहिलेको अवस्थामा ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट आफूलाई आवश्यक पर्ने १५ मत आउनेमा ढुक्क देखिएका छन्। तर, ओलीले माधव समूहको कुरामा अटेर गरिरहे सत्ता टिकाउन सकस पर्ने आंकलन हुन थालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.