विकासका नाममा जताततै विनाश

|

म्याग्दी : नजानेको मानिसले काम आँटे र बिगारे एउटा उखान नेपालीको मुखमा आइहाल्छ - नपाउनेले केरा पायो, बोक्रैसित खायो!

फित्ता समातेर राम्रोसँग मिटरको हिसाब-किताब निकाल्न नसक्ने र भूस्खलनको अर्थ समेत नबुझ्ने व्यक्तिहरूले मोटरबाटो मर्मत तथा निर्माण गर्ने भन्दै डोजरलाई पछि लगाएर अपरेटरलाई निर्देशन दिँदै गरेको तपाइँले देख्नुभएको छ?

यदी छैन भने म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा आउनुहोस्, तपाइँ पनि माथिको ‘नपाउनेले केरा पायो बोक्रैसित खायो’ भन्ने उखान सम्झिदै पेट मिचिमिची हाँस्न पाउनुहुनेछ।

नेपालीको मुख-मुखमा झुण्डिएको यो चर्चित उखानले विकासको नाममा हुने बेथिति, बेथितिको तामेली गर्ने गाउँका स्वघोषित नेता र तिनै टाठा-बाठा नेताको इशारामा चल्ने डोजर अपरेटरको चर्तिकलालाई पनि राम्रैसँग चरितार्थ गरिदिएको छ।

चालू आर्थिक वर्षको अन्त्य हुने दिन जति नजिकिँदै छ, म्याग्दीका गाउँ-गाउँमा बजेट सक्ने मेलो पनि त्यतिकै तीव्र गतिमा छ। बाटो खन्ने, मर्मत गर्ने, सफा गर्ने विभिन्न शीर्षकमा बजेट छुट्याएर वातावरणीय अध्ययन र सरोकारवालाको राजीखुसी बिनै गाउँ-गाउँमा डोजर पसेका छन्। म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा पनि यस्तै भएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा बेनी नगरपालिकाको ५ लाख रुपैयाँ बजेटमा बेनी नगरपालिका-२ बगरफाँटको खहरेखोलादेखि जलकिनीसम्म करिब १ किलोमिटर सडक खनियो।

सो सडक गत साल आएको बाढीले ठाउँठाउँमा भत्कियो। दुई घर जोखिममा परे। बर्खाभरी रात परेपछि बस्नै नसक्ने अवस्था आयो। बाटोदेखि तलको बस्ती नै जोखिममा छ।

अहिले सोही सडक मर्मतका लागि नगरपालिकाले पुनः ५ लाख रुपैयाँ विनियोजन गरेको छ। सोही बजेटमा पीडित पक्षको सल्लाह बिनै धमाधम सडक मर्मतको नाममा जथाभावी खन्ने काम भैरहेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार खहरे खोलाका दुई ठाउँमा ग्याबिन जाली लगाएपछि बाटो खुल्ने अवस्था छ। तर, केही टाठा-बाठाको व्यक्तिगत स्वार्थ पूरा हुनेगरी सडकभन्दा माथिपट्टिको जमिन खनेर बाटो फराकिलो बनाइँदैछ।

डोजर चालकले तिनै टाठा-बाठा व्यक्तिको आदेश तामेली गर्दै मनलाग्दी डोजर घुमाइरहेका स्थानीयको आरोप छ। जमेर बसेको माटो डोजरले खनेर फालिदिँदा थप जोखिम बढेको स्थानीय इन्द्रबहादुर थापाले बताए।

सडकका कारण खहरेखोलादेखि कुरुङ्दीसम्मका पाँच घर र खड्गभवानी कोतको गुठी जग्गा उच्च जोखिममा परेका छन्। ती घर र जग्गाको संरक्षणका लागि कुनै प्रयास गरिएको छैन। न त अघिल्लो वर्षको बजेटको हिसाब-किताब गरी खर्च विवरण नै सार्वजनिक गरिएको छ।

वातावरणीय अध्ययन बिनै मनपरी खनिएको सडकका कारण भूस्खलनको जोखिम उच्च बनेको स्थानीय बुद्धिजीवीले बताएका छन्। खहरेखोला–कुरुङ्दी हुँदै घुमाउने ताल जोड्ने सडक खन्न भनेर बजेट निकासा गरिएपनि जरुवा क्षेत्रका बासिन्दाहरूले गाउँको माथिल्लो भागबाट सडक खन्दा जोखिम हुने भएकाले विरोध गरेका थिए।

त्यसपछि करिब एक किलोमिटर क्षेत्रभित्र नै वर्षेनी डोजरले फन्को मार्दै बजेट सक्ने र सोही क्षेत्रका बासिन्दाहरूलाई जोखिम बढाउने काम मात्र भैरहेको स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.