|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार कोभिडविरुद्धको लडाइँमा सक्रिय बनेको छ। प्रदेशमा संक्रमण बढिरहेका बेला प्रदेश सरकारले करिब साढे चार सय जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको हो।

रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यस्तै, प्रदेश मातहतमा रहेका अस्पतालहरूलाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकेको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले  बताए। मन्त्री सुवेदीले भने, ‘कोभिड–१९ सँग लड्नका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन, हामीले जनशक्ति भर्ना मात्रै होइन, अस्पताललाई आवश्यक पर्ने प्रविधि तथा अक्सिजन  खरिदको प्रक्रिया पनि थालेका छौँ।’

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल  बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आवश्यक पर्ने चार सय ४६ जना जनशक्ति भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अक्सिजन उद्योगको अनुगमन, पूरा क्षमताअनुसार उत्पादन गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको नेतृत्वको टोलीले धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको बुधबार अनुगमन गरेको छ। सामाजिक विकास मन्त्री सुवेदीले उद्योगको अनुगमन गर्दै पूरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न निर्देशन दिए।

मन्त्री सुवेदीले भने,‘उद्योग सञ्चालन गर्न कठिनाइ भए हामीलाई भन्नुहोस्, हामीले के सहयोग गर्नुपर्छ गर्छौं। तर, अस्पताललाई आवश्यक ग्यास उपलब्ध गराउनुहोस्। ग्यास सञ्चालनका लागि पेस्की रकम, जनशक्तिको व्यवस्थापन, विद्युतीय समस्यालगायतका समाधान गर्न मन्त्रालयले पूरा साथ दिनेछ।’ सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने उनले बताए।

सेवा निवृत्त चिकित्सकहरूलाई सहयोग गर्न अपिल

सेती प्रादेशिक अस्पतालले सेवा निवृत्त चिकित्सकहरूलाई उपचारमा सहयोग गर्न अपिल गरेको छ। अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सार्वजनिक सूचना जारी गर्दै सेवा निवृत्त चिकित्सकहरूलाई विपदको अवस्थामा उपचारमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन्।

उनले अस्पतालमा आएर अन्य व्यवस्थापकीय सहयोग गर्न पनि आग्रह गरेका छन्। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.