|

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा खट्ने स्वास्थ्य जनशक्ति अभाव देखिएको भन्दै सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन सरकारलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैय्या मात्रै भन्दा पनि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष रहेको पनि बताएका छन्।

धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन नसकेको भन्दै नेता थापाले यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार रहेको र उनीहरूलाई प्रोत्साहनको प्याकेज बनाउनुपर्ने उल्लेख गरेका छन्।

'अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनी स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिरहेका छन्। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याइँ नगरौं। निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं', उनले भनेका छन्।

'हाल झण्डै ५ हजार योग्य चिकित्सक पिजीको तयारी गरिरहेका छन्। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन्। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ', उनले भने, यसरी जोखिममा काम गर्नेलाई पिजि मा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।'

एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। यस अवस्थामा सरकारी दरबन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानूनी व्यवस्था गर्नुपर्ने नेता थापाको जोड थियो।

'हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्त भइ बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज बनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं', उनले भने।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.