खानाखाजासहित क्वारेन्टाइन वा होटल क्वारेन्टाइनको प्रबन्ध पनि गर्ने

|

विराटनगर  : प्रदेश १ सरकारले कोरोना महामारीमा खटिएका फ्रन्टलाइनका कर्मचारी निधन भए प्रतिपरिवार २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोभिड– १९ का कारणबाट मृत्यु भए परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुनेगरी एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार र शव व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित भए उपचार खर्च बेहोर्ने निर्णय आज बसेको प्रदेश १ मन्त्रिपरिषदले गरेको हो। होम आइसोलेसनमा बस्न नसक्ने अवस्थामा होटल आइसोलेसनमा राख्ने पनि निर्णय गरेको छ।

प्रदेश सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश सरकारले सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशाला र सरकारमातहत अस्पतालको कोभिड वार्डमा खटिने फ्रन्टलाइनरलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णयसमेत भएको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन्।

मन्त्री  राईका अनुसार बैठकले कोरोना उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टाइनमा बस्न सक्ने अवस्था नभए प्रदेश सरकारले खाना–खाजासहितको क्वारेन्टाइन वा होटल क्वारेन्टाइनको प्रबन्ध गर्ने निर्णय गरेको छ।

बैठकले क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टाइनबापत खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने निर्णय  गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.