|

काठमाडौं : कमिसन नपाएपछि भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात रोकेको आरोप खेपेका व्यवसायी सुरज वैद्यले प्रेस विज्ञप्तिमार्फत आफ्नो स्पष्टीकरण दिएका छन्‌।

पछिल्लो समय ​प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध कायम गरेका वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता पनि हुन्‌। तर, अहिलेसम्म नेपालमा आयात भएको भ्याक्सिनमा आफूहरूको आधिकारिक सहभागिता नरहेको उनले दाबी गरेका छन्‌।

​नेपाल र भारत सरकारबीच २० लाख डोज भ्याक्सिन खरिद सम्झौता भएपनि सो प्रकृया बीचमै रोकिएको छ। सिरमको नेपाल एजेन्ट रहेका वैद्यले सरकारसँग कमिशन मागेका र सिरमले पनि सम्झौता विपरीत खरिद प्रकृयामा तेस्रो पक्ष अर्थात सो कम्पनीको नेपाल एजेन्टलाई नै प्रवेश गराउन खोजेपछि नेपालले खोप प्राप्त गर्न नसकेको खबर हालै बाहिरिएको छ। 

तर, खोप खरिद प्रकृयामा चलखेल आरोप खेपेका वैद्यले भने भारतमा पछिल्लो समय कोरोना निकै फैलिएको र सिरम इन्स्टिच्युटमा आगो लागेकाले उत्पादनमा प्राविधिक समस्या भएकाले नेपालमा खोप आउन नसकेको तर्क गरेका छन्‌। उनले लेखेका छन्‌, '२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल र भारतका दुई सरकार बीचको सिधा संवादबाट भएको हो, आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन। बरू यसमा बुझ्नुपर्ने कुरा के छ भने : यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बिच भएको वार्ताबाट हामीले नियमसम्मत रूपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिकप्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ।'

सरकारले नै आफूहरूले लिएको अग्रसरता बमोजिम काम नगर्दा खोप नआएको पनि वैद्यको दाबी छ। खोप ल्याउन सरकारका आधिकारिक निकायसमक्ष सबै प्रस्तावहरू पेश गरेकोबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अवगत रहेको समेत उनले जिकिर गरेका छन्‌। 

रोकिएको खोप ल्याउन आफूहरू तत्पर रहेको र सोही बमोजिम सरकारी संयन्त्रहरूलाई 'हात पनि अघि बढाउन' पनि उनले आग्रह गरेका छन्‌। 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व-अध्यक्ष पनि हुन्‌। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष-२०२० को राष्ट्रिय कार्यक्रम संयोजक समेत बनाएका थिए।

वैद्यद्वारा जारी प्रेस विज्ञप्ति (जस्ताको तस्तै) :

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हवाला दिदै बिभिन्न सञ्चार माध्यममा भारतबाट आयत हुनुपर्ने कोभिड १९ रोग विरुद्धको भ्याक्सिन नेपाल स्थित आधिकारिक बिक्रेताका कारण हुन नसकेको भन्ने समाचार प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ।

अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात गर्न हामी श्री हुकुम डिस्ट्रिब्युसन आधिकारिक बिक्रेता भएको भएपनि अहिले सम्म नेपालमा आयात भएको भ्याक्सिनमा हाम्रो आधिकारिक सहभागिता नरहेको स्पष्ट पार्न चाहन्छौँ। भारत सरकारका तर्फबाट नेपाललाई अनुदान स्वरुप पहिलो चरणमा १० लाख डोज कोभिसिल्ड प्राप्त भएको थियो। त्यसलगत्तै नेपाल सरकार र भारत सरकारका बिच २० लाख भ्याक्सिन डोज खरिद गर्ने सहमति भएको थियो।

नेपाल सरकारको आग्रहमा भारत सरकारको सदाशयता बमोजिम २० लाख डोज विशेष सहुलियतमा नेपाललाई उपलब्ध गराउने सहमति भएको सबैलाई सर्वविदितै छ। जस अनुसार १० लाख डोज भ्याक्सिन समयमै नेपालले प्राप्त गरिसकेको छ। सहमति बमोजिमको बाकि १० लाख डोज भ्याक्सिन भारतमा फैलिएको महामारीको अत्यासलाग्दो दोश्रो लहरको मारमा परेको छ। भारतमा तिव्र रुपमा फैलिएको दोश्रो लहरको महामारी र सिरम इन्स्टिच्युटको कारखानामा आगलागी भएर उत्पादनमा आएको प्राविधिक समस्याका कारण भ्याक्सिन निर्यातमा असहजता आएकाले नेपालमा आयात हुन सम्भव नभएको तथ्यलाई नजरअन्दाज गर्दै विषयान्तर गर्न खोज्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड हो भन्ने हाम्रो बुझाइ छ। र आम जनतामा भ्रम पर्ने गरि स्वास्थ्य मन्त्रालयको समेत प्रतिक्रिया समावेश गरि सार्वजनिक गरिएका समाचार प्रति हाम्रो भन्नु यत्ति छ : “२० लाख डोज भ्याक्सिन आयतको सहमति नेपाल र भारतका दुई सरकार बीचको सिधा संवादबाट भएको हो। आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन। बरु यसमा बुझ्नुपर्ने कुरा के छ भने : यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बिच भएको वार्ताबाट हामीले नियम सम्वतरुपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिक प्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ”। यद्धवी सिरम इन्स्टिच्युटको आधिकारिक बिक्रेता हुनुको नाताले हामीलाई जानकारी भएको विषय के हो भने “सम्झौता बमोजिमको दोश्रो लटको भ्याक्सिन आयात हुन नसक्नुको एउटा मात्रै कारण भारतमा सिर्जना भएको असहज परिस्थिति र उत्पादनमा आएको प्राविधिक समस्या मात्रै हो। यसको मारमा नेपालमात्रै होइन अग्रिम भुक्तानी गरिसकेका विश्वका दर्जनौ देशहरु पनि परिरहेको हामी सबैलाई जानकारी भएकै विषय हो”।

आयातमा सहजता आउने बितिकै सिरम इन्स्टीच्युटले नेपालमा सम्झौता बमोजिमको दोश्रो लटको भ्याक्सिन निर्यात गर्न पहिलो प्रथामिकतामा राखेको नेपाल स्थित आधिकारिक बिक्रेता भएको नाताले सबैलाई जानकारी गराउदछौ। अन्तमा जनताको जिवन रक्षा आजको सबैभन्दा महत्वपूर्ण एजेण्डा हो। सोही आवश्यक्ता महसुश गर्दै हामीले समयमै भ्याक्सिन आयातका लागि सरकारका आधिकारिक निकाय समक्ष सबै प्रस्तावहरु पेश गरेको कुरा स्वयं स्वास्थ्य मन्त्रालयलाई जानकारी भएकै विषय हो।

यदि हामीले लिएको अग्रसरता बमोजिम काम भएको भए सिंगो नेपाली जनतालाई यतिबेला भ्याक्सिन दिइसकिने समेत सम्बन्धित निकायलाई अवगत गराउन चाहन्छौ। यद्धवी फेरि पनि नागरिकको जिवन रक्षालाई पहिलो प्रथामिकतामा राख्दै भ्याक्सिन आयातका लागि हामी हाम्रो तर्फबाट सधै तत्पर रहेको जानकराी गराउँदै सोही बमोजिम सरकारी सयन्त्रहरुको हात पनि अघि बढोस भनि आग्रह गर्दछौ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.