समितिका सदस्यलाई झुक्याएर हस्ताक्षर

|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका रती पार्की उमेरले ७२ वर्षका भए। जुँगा दारी पनि चुस्स फुलेका छन्। उनलाई आँखाले साथ दिन छोडिसकेको छ। त्यसैकारण उनी चस्माको साहारा लिन्छन्।

उनका बाजे प्रताप पार्की, बुवा वीरपल पार्की र उनले यही ठाउँमा बाल्यकाल गुजारे। तर, उनले भोगचलन गरेको जग्गा अहिले आएर उग्रतारा क्षेत्र विकास समितिले गुठी जमिनको लालपूर्जा बनाउन प्रयासरत छ।

बुवाबाजेको पालादेखि भोगचलन गरेको जग्गा अरूले आफ्नो बनाउन विभिन्न हत्कण्डा मच्चाएपछि उनीलगायत उनको सिँगो गाउँको निदहराम भएको छ। गाउँका अशिक्षित व्यक्तिहरूलाई झुक्काएर आफ्नो बनाउन खोजेको भन्दै उनी आक्रोशित छन्।

उनले जग्गा भोगचलन गरेको कागजात आफूहरूसँग रहेको बताए। आफूले जग्गाको रसिद तिरेका बताउँदै उनले पोत तिरेका रसिद आफूसित रहेको बताए।

‘उग्रताराको जो वास्तविक गुठी हो, उसको क्षेत्रमा ठूलठूला घर बन्ने, उनीहरूले आफ्नो बनाउने, हामीहरूको जमिन गुठीको नाममा राख्‍ने,’ उनले भने, ‘हामीहरू दलित गरिब भएकोले हेप्ने होच्याउने, बिना जानकारी गराएर उठिबास गराउँदै छन्।’

२५० परिवार सडकमा आउँदै

अमरगढी नगरपालिकाका विभिन्न वडामा गरी ४० वटा कित्ता उग्रतारा गुठी भनेर फिल्ड बुकमा देखिएको छ। ४० वटा कित्ताको क्षेत्रफल १ सय ५८ रोपनी छ। यस जमिनको भोग चलन पुस्तौँदेखि यहाँका स्थानीयहरूले गर्दै आएका छन्।

तर, उग्रतारा क्षेत्र विकास समितिले फिल्ड बुकमा गुठी कायम भएको जमिनको लालपुर्जा बनाउने प्रयास गरेपछि यहाँका करिब २५० परिवार सडकमा आउने भएका छन्। भूमिसम्बन्धी समस्या समाधान आयोग डडेल्धुरामा स्थापना भएसँगै समिति र स्थानीय नागरिकबीच द्वन्द्व सिर्जना भएको छ।

यो क्षेत्रमा पहिले वनजंगल थियो। यस क्षेत्रमा बसोबास गर्नेका पूर्वजहरूले खुन पसिना बगाएर यो क्षेत्रमा बस्ती बसालेको यहाँका स्थानीय बताउँछन्। उब्जाउ कमी हुने भएकोले यस क्षेत्रका नागरिक बालबच्चाको पालनपोषणका लागि तराई जाने गरेका छन्।

आफूहरू तराई गएको मौका छोपेर चोरीछिपी गुठीका नाममा हालेको जमिनको लालपुर्जा पाउनुपर्ने संघर्ष समिति संयोजक दत्ती पार्कीले बताए। ‘हामीले भोगचलन गरेको जमिन उग्रतारा क्षेत्र विकास समितिले आफ्नो भन्दै अदालतमा मुद्दा दिएको छ’ उनले भने, ‘हामीले पनि पाउनुपर्छ भन्दै प्रतिवादी दिएका छौँ। तर, हामी विफल भयौँ।’

आफूले भोगचलन गरेको जमिनको लालपुर्जा नपाएमा सडकमा जाने उनले चेतावनी दिए। लालपुर्जा नपाएमा आफूहरूको परिवार सडकमा आउने र केही भएमा सरकारले ग्यारेन्टी लिनुपर्ने उनको भनाइ छ।

अदालतमा मुद्दा

उग्रतारा क्षेत्र विकास समितिले लालपुर्जा पाउनुपर्ने भन्दै जिल्ला अदालत डडेल्धुरामा निवेदन पेश गरेको छ। स्थानीयहरूले पनि भोगचलनका आधारमा जमिनको लालपुर्जा पाउनुपर्ने भन्दै अदालतमा निवेदन पेश गरेका छन्।

हालको अमरगढी नगरपालिका–३ आइतदेखि अमरगढी नगरपालिका–७ को पोखरासम्म उग्रताराको गुठी जमिन करिब १७ हजार रोपनी रहेको मिथ्य सुन्नमा आउँछ। तर, लालपुर्जा नहुँदा गुठी जमिन देखिँदैन। २०३३ सालको नापीमा अधिकांश जमिन व्यक्तिका नाममा दर्ता भएको क्षेत्र विकास समितिको भनाइ छ।

तर, केही समुदायले भोगचलन गरेको जमिन भने दर्ता गरिएको छैन। दर्ता छुटपिट संघर्ष समिति बनाई अहिले अमरगढी–७ का स्थानीय आफूले उपभोग गरिरहेको जमिन दर्ता गरी लालपुर्जा पाउनुपर्ने पक्षमा उभिएका छन्। उग्रतारा क्षेत्र विकास समिति भने आफ्ना नाममा दर्ता गरी लालपुर्जा पाउनुपर्ने पक्षमा उभिएको छ।

पुस्तौँदेखि आफूहरूले जमिन उपभोग गरिरहेकाले जमिनको लालपुर्जा पाउनुपर्ने स्थानीयको माग छ। स्थानीयले आफूहरूसँग जोता पुर्जा, घरको कर तिरेको प्रमाण, फर्स्या राजीनामा कागजात, ७, १० फराम र कर तिरेको ४ नं. फारामका आधारमा जमिन आफ्ना नाममा दर्ता गराइपाऊँ भनी अदालतमा निवेदनसमेत दिएका छन्।

नेपालको संविधानमा भूमिहीनलाई भूमि दिने व्यवस्था गरेको छ। तर, यहाँ कमाई खाइरहेको भूमिलाई गुठीका नाममा लालपुर्जा बनाई सयौँ परिवारको उठिबास गर्ने काम भइरहेको स्थानीयको दुखेसो छ।

समितिका सदस्यलाई झुक्याएर हस्ताक्षर

उग्रतारा मन्दिर अमरगढी नगरपालिका–८ मा पर्छ। मन्दिर छेउछाउको जमिन स्थानीय  साँकी जातिका समुदायले भागभण्डा नै गरी पक्की घर निर्माण गर्ने कार्य तीव्र रूपमा चालेको स्थानीयको आरोप छ।

मन्दिर छेउछाउको जमिन अतिक्रमण नरोकी पुस्तौँदेखि आफूले भोगचलन गरिरहेको जमिनमा उग्रतारा क्षेत्र विकास समितिले गुठी भएको दाबी गर्दै आएको स्थानीयहरूको गुनासो छ।

मन्दिर छेउछाउमा केही वर्षयता मात्रै अतिक्रमण गरी घर, टहरा निर्माण भइरहेको अमरगढी–७ का स्थानीय पदम पार्की बताउँछन्।

उग्रतारा क्षेत्र विकास समितिको सदस्य भएको समयमा आफूहरूलाई झुक्याएर हस्ताक्षर गराएको टीका पार्कीले बताए। ‘मलाई कालो अक्षर भैँसीबराबर जस्तै हो’ पार्की भन्छन्, ‘उग्रतारा क्षेत्रभित्र ठूलाठूला रडको प्रयोग गरेर भवन बनाउने भन्नुभयो हस्ताक्षर गरेँ।’

उग्रतारा मन्दिर क्षेत्रनजिकको जमिन होला भनेर हस्ताक्षर गरेको भए पनि अमरगढी नगरपालिका–७ पोखरा क्षेत्रमा गुठीको जमिन छ भन्ने आफूहरूलाई जानकारी नभएको हस्ताक्षर गर्ने समितिका सदस्यको भनाइ छ। तत्कालीन समयमा पूर्व–पञ्च र मुखियाहरूको लापरबाहीको कारण समस्या आएको समितिका सदस्य बताउँछन्।

गरिबको उठिबास गर्न खोजिँदै छ : वडाध्यक्ष

यस क्षेत्रका नागरिकले जग्गा भोगचलन गरेबापत अमरगढी नगरपालिकामा समेत दस्तुर बुझाएका छन्। तर, अहिले स्थानीयको समस्यामा अमरगढी नगरपालिकाले हासोमजाक गरिरहेको स्थानीयको आरोप छ।

२०३३ सालमा फिल्ड बुक भएको जग्गालाई उग्रतारा क्षेत्र विकास समाजले एकाएक आफ्नो भन्नु दुःखद भएको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडक बोहरा बताउँछन्। पुर्खौँदेखि बसोबास गरेका यहाँका सयौँ स्थानीयको उठिबास गर्न नहुने उनको भनाइ छ।

‘गरिब घर परिवारको उठिबास गर्न खोजिँदैछ। २०३३ सालदेखि जमिन भोगचलन हुँदा उग्रतारा विकास समितिले एउटा पनि निवेदन दिएन। जग्गा दर्ता पनि गरेन। अदालतमा मुद्दा पनि गरेन,’ उनले भने, ‘अहिले एउटा परिवारको सयौँ जनसंख्या भयो। तब मुद्दा दर्ता गर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.