|

काठमाडौं : अन्तत: सरकारले निजी कम्पनीहरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले  कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको हो।

विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्‍युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको विभागका प्रवक्ता सन्तोष केसीले बताए।

उनले भने, ‘ यसअघि आकस्मिक प्रयोगका लागि अनुमति दिइएको  र धेरैमा लगाइसकिएको कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई  सबै सेवा सुविधासहित १० प्रतिशत बढी नाफा लिन नपाउने गरी निजी दुईवटा कम्पनीलाई आयात अनुमति दिइएको छ।‘

कोभिसिल्ड खोप नेपालमा करिब २१ लाख बढीले लगाइसकेका छन्। यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका लागि सरकार-सरकार (जिटुजी)बीच मात्रै गर्ने बताएका थिए । तर, संक्रमण बढदै जाँदा निजी कम्पनीहरूलाई खोप खरिदका लागि सामेल गराइएको छ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेर सेरम इन्स्टिच्युट भारतले उत्पादन गरेको २० लाख डोज खोप खरिदका लागि गत फागुन ५ गते सम्झौता गरेको थियो।

सम्झौताको एक हप्ताभित्र खोप आउने र सुरुमा १० लाख डोज खोप पठाएको थियो। १० लाख डोज पठाएको एक हप्तामा पुनः यति नै खोप पठाउने भने पनि  कम्पनीले पठाएकै छैन।

यता, सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिद प्रक्रिया बढाएकै बेला एजेन्टहरू सरकारी तवरबाट रोक्न सफल भई निजीस्तरबाट खोप ल्याउने अनुमति पाउन सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.