|

झापा : पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ।

भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो। तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यरात सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले यातायातमा जोर बिजोर प्रणाली हटाउँदै निर्माण सामग्रीसहित अत्यावश्यकबाहेकका सवारीसाधनमाथि पूर्ण रुपमा रोक लगाएको छ।

खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायहरू बिहान ६ देखि बिहान १० बजेसम्म सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, अन्य पसल तथा व्यवसाय पूर्ण रूपमा बन्द गराइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार स्थानीयस्तरमा होम डेलिभरीका लागि आवश्यक व्यवस्था मिलाउने,  होटेल तथा रेस्टुरेन्ट, मिठाई र चिया पसल पूर्णरूपले बन्द गराउन आदेश प्रहरीलाई दिइसकेको बताए।

निषेधाज्ञा उल्लङ्घन र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने प्रजिअ तिमिल्सिनाले थाहाकर्मीलाई बताए।

पूर्ण निषेधाज्ञा जारी भएपछि जिल्ला सदरमुकाम भद्रपुर, बिर्तामोड, काँकडभिट्टा, दमक, अर्जुनधारालगायत मुख्य सहर क्षेत्र बिहान १० बजेपछि सुनसान बनेको छ। सरकारी तथा निजी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरू खुला भए पनि अत्यावश्यक कामबाहेक अन्य सेवाहरू बन्द राखेको पाइएको छ।

बिहान ६ बजेदेखि १० बजेसम्म सरसामान खरिद गर्न स्थानीय जनता घरबाट बाहिर निस्किएका थिए। बजार तथा पसल बन्द भएपछि सडकमा हिँड्नेलाई जो कोहीलाई प्रहरीले नियन्त्रण लिएर होल्ड गर्ने काम गरिरहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

‘आज पहिलो दिन भएकोले जनतालाई सम्झाउन र होल्ड गराउने काम गरेका छौँ,’ डिएसपी थापाले भने, ‘भोलिदेखि पुनः त्यसतै गतिविधि देखियो भने नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाहीका लागि प्रशासन कार्यालय पठाउने छौँ।‘

यो जनताको स्वास्थ्य सुरक्षाका लागि लगाइएको निषेधाज्ञा भनेर जनताले बुझिदिए प्रहरीलाई पनि काम गर्न सजिलो हुने उनको भनाइ छ।

यता जिल्लामा पछिल्लो २४ घण्टामा १७८ जना थपिएसँगै सक्रिय सङ्क्रमित सङ्ख्या ८९८ पुगेको छ। एक साताको अवधिमा जिल्ला पाँच गुणा बढीले संक्रमित थपिएका छन्। जिल्लामा हालसम्म कोरोनाबाट १४३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.