|

बर्दिया : बर्दियामा कोरोना संक्रमण भयाबह बन्दै गएको छ। बैशाख १९ गते रातिदेखि बर्दियामा कडा खालको निषेधाज्ञा गरिएको भएपनि स्थानीयले भने निषेधाज्ञाको अवज्ञा गर्दै आएका छन्।

बर्दियाका आठ वटै पालिकाका बजारमा मानिसको चहलपहल बढ्दो छ। निषेधाज्ञाको पालना नभएको पाइएपछि जिल्ला प्रशासनको टोलीले बैशाख २० गते जिल्लास्तरीय अनुगमन पनि गर्‍यो। अनुगमनका क्रममा टोलीले पसलहरु खोलेर भिडभाड नगर्न र अनुमती विनाका सवारी साधन नचलाउन निर्देशन दियो। तर, पनि स्थानीयले नियमको उलंघन गर्दै गरिरहेका छन्। जिल्ला प्रहरीको टोलीले दैनिकजसो ठूलो संख्यामा नियम उलंघन गर्नेलाई कारबाही गरिरहेको छ। 

बढैयाताल, ठाकुरबाबा, गुलरिया, मधुवन बारबर्दिया लगायतका पालिकामा निषेधाज्ञाको उलंघन भएको पाइएपछि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिए। बर्दियाका केहि स्थानमा छिटफुट रुपमा बजार खुल्ला रहेको र अनुमती विनै सवारी साधनहरु चल्ने गरेको पाइएपछि प्रहरीले कडाइ भने गर्न थालेको हो।

कारोना भाइरसको संक्रमण तोड्न बर्दिया प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खासै प्रभावकारी नभएको गुनासो स्थानीयले गरेका छन्। बर्दियामा नाम मात्रैको निषेधाज्ञा छ, स्थानीय भन्छन्, यस्तो लकडाउनले संक्रमण रोक्दैन उल्टै गरिब मर्ने बाटो मात्रै हो। व्यापारीहरुले पनि प्रहरीको आँखा छल्दै व्यवसाय सञ्चालन गरिरहेका छन्।

सीमा नाकामा छैन कडाइ

सीमानाकामा लुकिछिपी बर्दिया प्रवेश गर्नेको संख्यामा कमी आएको छैन। खुला सीमानाका कारण लुकिछिपी भारतबाट सामग्री ल्याउने र यताबाट उता पठाउने काम जारी छ। जसले बर्दियामा संक्रमण भयाबह बन्न सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने सीमानामा स्वस्फूर्त आउजाउ भइरहेको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आउँजाउँमा कडाइ गर्न निर्देशन दिएको बताए।

उनले थाहाखबर सँग भने,‘खुला सीमाना भएका कारण स्थानीय लुकिछिपी बर्दिया प्रवेश गरिरहेका छन्। यसले संक्रमणको जोखिम त बढाउँछ नै अर्कोतर्फ त्यो एक खालको तस्करी पनि हो। हामीले उनीहरुलाई आउजाउमा कडाइ गरिरहेका छौँ।’

उनले सीमामा निर्वाध आउजाउ रोक्ने उनले बताए। कोरोनाको दोस्रो लहर फैलिएयता बर्दियामा एक हजार एकसय ६२ बढी संक्रमित थपिएका छन् भने सोहि १७ जनाले ज्यान गुमाइसकेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.