|

दाङ : घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेका दाङमा अक्सिजन उद्योग बन्द भएको ६ वर्षपछि सञ्चालनमा आएको छ।  

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुँदै आइरहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि केही राहत हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका प्रहरीको समन्वयमा अक्सिजन उद्योग सुरु भएको हो।  

६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत् अभावका कारण पटक– पटक बन्द हुँदै आएको थियो। यसपटक भने राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान गरी उद्योग सुरु गरिएको छ।

करिब ४ करोड लगानीमा सञ्चालनमा आएको उद्योग पटक– पटक बन्द उद्योग चरम मारमा परेको थियो। उक्त उद्योगबाट दैनिक १५० अक्सिजन सिलिण्डर उत्पादन हुने गरेको उद्योग सञ्चालक टोपराम पौडेलले बताए।

‘हाम्रो उद्योगको क्षमता दैनिक १५० अक्सिजन सिलिण्डर भर्ने क्षमताको हो,’ उनले भने, ‘तर, हामीलाई सबैभन्दा बढी विद्युतकै समस्या हो। दिनमा कम्तीमा २० पटक बत्ती गए एक सय सिलिण्डर मात्र भर्न सकिन्छ। हामीलाई २४ सै घण्टा लाइन भए जति क्षमता छ त्यति उत्पादन गर्न सक्छाैं। तर, जिल्लामा सामान्य अवस्थामा हामीले उत्पादन गरेको सिलिण्डर खपत हुँदैन्थ्यो।’

उनका अनुसार जिल्लामा सामान्य अवस्थामा यति उत्पादन भए पनि पुग्ने गर्दथ्यो। तर, अहिले कोरोना महामारीका कारणले मात्र अभाव भएको हो। आफूहरूबाट उत्पादन भएको अक्सिजन सिलिण्डर जिल्लाका विभिन्न ठाउँलगायत सल्यान, प्युठानसम्म पुर्‍याउने गरेको उनको भनाइ छ।

सामान्य अवस्थामा महिना एक हजारजति अक्सिजन सिलिण्डर खपत हुने गरेको समेत उनले बताए। हिजोआज जिल्लामा दैनिक करिब एक हजार अक्सिजन सिलिण्डर माग भइरहेको छ भने करिब साढे ४ सय अपुग छ।

अहिले  उद्योगले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र कोरोना विशेष अस्पताल बेलझुण्डीलाई पहिलो प्राथमिकता दिँदै उत्पादन सुरु गरेको हो। अब उद्योगलाई नियमित सञ्चालन गर्नुपर्ने घोराही- १५ का स्थानीय भरत पौडेलले बताए।

उनका अनुसार जिल्लामा अक्सिजन क्षमताभन्दा बेड सञ्चालन गर्दा अक्सिजन अभाव भएको हो। अस्पतालहरूमा अक्सिजन सप्लाइ गर्ने पाइप लाइन नहुँदा र भएका अक्सिजन सिलिण्डरहरू स्टक राख्न पनि अभाव भएको बताए।

त्यस्तै अर्की घोराही-१४ की  प्रमिला बस्नेतले जिल्लामा कोरोना संक्रमणका कारण दैनिक मानिसहरूको मृत्यु भइरहेको र अस्पतालहरूमा अक्सिजन अभाव भएको समयमा जिल्लाबाट नेतृत्व गर्नेहरूले ध्यान नदिएको आरोप लगाइन्।

'यस्तो महामारीको समयमा हामीले जिताएर पठाएका नेताहरूले अहम् भूमिका देखाउनुपर्ने हो। तर, उहाँहरूले देखाउनुभएको छैन। जोसँग पैसा छ। त्यसले अस्पतालमा पालो पाएको छ। तर, गरिब दुखी अक्सिजन नपाएर  मर्नुपर्ने अवस्था आएको छ', उनले दुःख पोखिन्। त्यस्तै उनले झिङनीमा रहेको अक्सिजन उद्योग सधैं सञ्चालनमा ल्याउनुपर्ने बताइन्।

जिल्लामा अक्सिजन अभावका कारण घोराही उपमहानगरपालिका र प्रशासनको समन्वयमा उद्योगका लागि छुट्टै विद्युत् उपलब्ध गराई उद्योग सञ्चालनमा ल्याइएको छ। 

अब भने महामारीलाई मध्यजनर गर्दै नियमित सञ्चालनमा सहयोग गर्ने घोराही उपमहानगरका प्रवक्ता  भरतमणि अर्यालले बताए। उद्योगलाई चाहिने खाली सिलिण्डरहरूको समेत व्यवस्था भइरहेको र अब थोरै भए पनि राहत हुने उनको भनाइ छ।

त्यस्तै उपमहानगरपालिकाले ५० वटा अक्सिजन सिलिण्डर किनेर प्रतिष्ठानलाई बिहीबार बिहान दिएको समेत उनले बताए। जिल्लामा नेपालगन्जबाट अक्सिजन सिलिण्डर आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.