|

काठमाडौं : 'घुम्तीमा नआउ है आँखा तिमी जुधाउन भन्थ्यौ‚ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र...?' वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनमा विक्षिप्त बनेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ हो यो।

बिहीबार बिहान अचानक अस्वस्थ भएपछि गायक प्रधानलाई काठमाडौंको सुन्धारास्थित न्युरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८४ वर्षीय प्रधानको दिउँसो निधन भयो। उनलाई यसअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्रै डिस्चार्ज भएका थिए।

कलाकार श्रेष्ठले प्रेमध्वजबारे भनेका छन्‚ 'कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी। मनमा मानवता भएको व्यक्ति तिमी, कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।'

वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजको बाल्यकाल भने काठमाडौंमा बित्यो। उनी २००३ सालमा स्थापित काठमाडौंको विश्व निकेतन स्कुलका पहिलो विद्यार्थी थिए। कक्षा १ मा भर्ना भएको पहिलो विद्यार्थी गणेशलाई नाटककार बालकृष्ण समले लेखिदिएको बन्दना गीत गाउन लगाइयो। स्कुलका प्रध्यानाध्यापक थिए प्रेमबहादुर श्रेष्ठ। ती बालकको स्वरबाट मोहित भएका उनी प्रेमबहादुरले गणेश प्रधानको नाम परिवर्तन गरी प्रेमध्वज राखिदिए। प्रेमध्वजको स्वरबाट प्रेमबहादुर मात्र होइन‚ संगीत पारखीहरू सबै मोहित भए। त्यसैले त उनलाई मखमली स्वरका धनी भनी चिन्न थाले।

उनै प्रिय गायक प्रेमध्वजलाई कलाकार मदनकृष्ण यसरी सम्झन्छन्, '२०२६ सालमा कवि दुर्गालाल दाइको शब्दलाई प्रधानको संगीतमा गीत गाएर संगीतको क्षेत्रमा पाइला अगाडी बढाएको थिएँ मैले।'

आफ्नो जीवनलाई प्रेमध्वजको सामीप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी सम्झिएको श्रेष्ठ बताउँछन्। प्रधानको निधनको खबरले आफ्ना आँसुका धारा थाम्न नसकेको उनले बताए।

'गोरेटो त्यो गाउँको लौन आज' भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुञ्जिरहेको छ‚' श्रेष्ठले भने, 'माइती घरको नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेको छ।'

६ दशक नेपाली गीत र संगीतमा अनवरत लागेका उनले  नेपाली सांगीतिक क्षेत्रलाई लामो समयदेखि अभिभावकत्व दिएको वरिष्ठ संगीतकार दीपक जंगम बताउँछन्। पछिल्लो पुस्ताका लागि प्रेरणाका स्रोत रहेका प्रधान स्रोताले मात्र होइन संगीतको क्षेत्रमा पनि 'जिरो हेटर्स' मानिन्छन्। कसैसँग आग्रह वा पूर्वाग्रह नराख्ने व्यक्ति कोही थियो भने प्रधान रहेको जंगमको भनाइ छ। उनले भने‚ 'वहाँको उपस्थिति नेपाली संगीत क्षेत्रमा हुनु र नहुनुले लामो समयसम्म प्रभाव परिरहने छ।'

जंगम र प्रधान ५५ वर्षदेखि सहयात्री थिए। जंगम भन्छन्, 'प्रेम दाइसँग मैले पनि केही काम गरेको छु। कतिपय गीतहरू छन्‚ जुन नेपाली संगीत जगतलाई उठाउनका लागि महत्वपूर्ण रहेका छन्। उहाँले बनाउनुभएको उचाइमा पुग्न ज्यादै कठिन छ। गुणात्मक र संख्यात्मक हिसाबले असंख्य गीत गाउन सानोतिनो कुरा होइन।'

कुनै पनि कार्यक्रममा प्रधानको उपस्थिति नै कार्यक्रमले पूर्णता पाउने गरेको उनले सुनाए। 'प्रधानले सामाजिक तथा गायन क्षेत्रमा अगुवाई गर्ने व्यक्तिको हैसियतले काम गर्नुभयो‚' उनले भने‚ 'हरेक व्यक्तिले आफ्नो क्षेत्रमा आफ्नो जीवनकालमा मूल्य चुकाएको हुन्छ। तर, कति दियो भन्ने कुरा समाजले मूल्यांकन गरिरहेको हुन्छ। त्यो मूल्यांकनको कसीमा प्रधान अब्बल हुनुहुन्छ।'

प्रेमध्वज लोकप्रिय गायक मात्र होइनन्। उनी आफ्नो समयका स्टाइलिस गायक पनि हुन्। उनका ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’‚ ‘घुम्तीमा नआऊ है’ होस् या ‘पर लैजाऊ फूलहरू’, ‘न मान लाज यसरी’, ‘तिमीलाई अचेल कहाँ भेटूँ’लगायतका बोलका कयौं कालजयी गीतहरू छन्। संगीतकार  शान्तिराम राईले प्रेमध्वजका अमर गीतहरू  युगौंसम्म कुनाकन्दरासम्म गुन्जने बताउँछन्। युगौंयुगसम्म बाँच्ने गीतहरू दिएकाले उनी नेपाली संगीतको क्षेत्रमा अजर अमर रहने राई बताउँछन्।

प्रेमध्वजको निधनले नेपाली गीतसंगीत क्षेत्रले एक असल अभिभावक गुमाएको राईले बताए। उनले भने‚ ‘महान् गायक, संरक्षक र एउटा अभिभावक गुमाउनु नेपाली संगीतका लागि क्षति हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.