|

काठमाडौं : यदि तपाईं धेरै फुटबल हेर्नुहुन्छ र एउटा टोलीलाई ध्यान दिनुहुन्छ भने याद गर्नुहोस् केही फुटबलरहरू जर्सीभित्र वा बाहिर महिलाहरूले लगाउने भित्री बस्त्र ‘ब्रा’ जस्तै लुगा लगाएका देखिन्छन्।

वास्तवमा उनीहरूले लगाएको त्यो वस्त्र ‘ब्रा’ हैन। त्यो एक उच्च परिष्किृत प्रविधिबाट बनाइएको जिपिएस जडित ‘प्लेयर ट्रयाकिङ डिभाइस’ हो।

जुन खेलाडीहरूको शारीरिक विकासमा सहायता गर्नका लागि डिजाइन गरिएको हो। जसले उनीहरूको खेलस्तरको सुनिश्चित गर्दछ। विश्व फुटबलका हस्ती लियोनेल मेस्सी, जाल्टन इब्राहिमोभिच, नेयमार, लुइस सुआरेज, एन्टोनी ग्रिजमेन जस्ता खेलाडीहरूले प्रशिक्षण र खेलको दौरान जिपिएस जडित डिभाइस लगाएर मैदान उत्रन्छन्।

जसका आधारमा खेलाडीको शारीरिक अवस्थाका बारेमा  टिम प्रशिक्षक र फिजियोलाई मूल्यांकन गर्न सहज हुन्छ। इंग्लिस प्रिमियर लिगका तीनचौथाइ क्लबले जिपिएस प्रयोगलाई प्रभावकारी मानेका छन्।

लिभरपुल, म्यानचेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, लिड्स युनाइटेड, नर्विच सिटी जस्ता क्लबहरूले अधिकतम मात्रामा यसको उपयोग गर्ने गर्छन्। ब्राजिल, बेल्जियम, जर्मनी, अमेरिका र इङल्याण्डलगायत देशका फुटबल टिमले यसको प्रभावकारिता उच्च मानेका छन्।

जुन २०१८ मा विश्व फुटबल महासंघ (फिफा) ले अष्ट्रेलियन कम्पनी क्याटापुल्टलाई पहिलो पटक खेलको दौरान डिभाइस प्रयोग गर्ने अनुमति दियो। त्यसअघिसम्म फिफाले प्रशिक्षणका दौरानबाहेक प्रतियोगितामा जर्सीभित्रबाट ट्रेकिङ डिभाइस लगाएर खेल्न अनुमति दिएको थिएन। अहिले युरोप र अष्ट्रेलियामा उत्पादन भएका डिभाइसहरू धेरै जसो क्लबले प्रयोगमा ल्याएका छन्।

ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका फिजियो गुइल्हेर्म पासोसले जिपिए ट्रयाकिङ डिभाइस ब्याकरुम स्टाफको लागि अत्यन्त उपयोग रहने बताउँछन्। सन् २०१९ मा जिपिए डिभाइस निर्माण कम्पनी स्टाट स्पोर्टसको भिडियोमा पासोसले भनेका छन्, ‘धेरै क्लबहरूले प्रयोग गरिरहेका छन्। उनीहरूले हामीलाई डाटा पठाउँछन् त्यो हाम्रो सिष्टममा एकिकृत गर्छौं जसले हामीलाई खेलाडीको अवस्थाको बारेमा जानकारी पाउन मद्धत गर्छ।

आइप्याडको प्रयोग गरेर टोलीलाई प्रत्यक्ष तरिकाले अनुगमन गर्ने अवसर दिन्छ, त्यसैले प्रशिक्षकलाई उनीहरूको सत्र कसरी हुँदैछ भनेर प्रत्यक्ष प्रतिक्रिया दिन समेत सजिलो छ। खेलाडीहरूको प्रारम्भिक इन्जुरीको बारेमा जानकारी हुनेछ।  त्यसैले प्रशिक्षण नियन्त्रण गर्नका उपयोगी उपकरण हो।’

क्रिष्टल प्यालेसका सहायक विश्लेषक माइक एग्लोन जिपिएस ट्रेकर भेष्ट पछाडि रहेको डिभाइसले खेलाडीको चाल, गति र गिरावटलाई संकलन गर्न मद्धत गर्ने बताउँछन्। स्वाभाविक रुपमा केही प्रशिक्षकले अरूको तुलनामा तथ्यांकगत विश्लेषणलाई बढी जोड दिन्छ। जसको प्रत्यक्षण उदाहरण लिड्स युनाइटेडका प्रशिक्षक मार्सेलो बिअल्सा हुन्। उनी सधै आफ्नो तयारीको बारेमा गहिरो विश्लेषण गर्छन्।

भारतीय फुटबलले सन् २०१५ मा यसको प्रयोग सुरु गरेको थियो। तत्कालीन प्रशिक्षक स्टेफेन कोन्स्टाइनको पहलमा भित्र्याइएको डिभाइसको नतिजालाई ड्यानी डिगानले विश्लेषण गरेका थिए। कोन्स्टाइनले भनेका थिए, ‘खेल विशेषज्ञताको नयाँ तहमा पुगेको छ र अब हामी खेलाडीहरू उनीहरूको प्रशिक्षणको क्रममा निगरानी गर्न सक्छौं, कसरी उनीहरूले कति लामो समयसम्म गर्न सक्छन् त्यसको मूल्यांकन यसले गर्छ। शारीरिक दृष्टिकोणबाट एक खेलाडीको क्षमताहरू पहिचान गर्न यो अनमोल छ।’

तर, यी माथिको तथ्य र विज्ञहरूको भनाइसँग नेपाली फुटबलका विज्ञहरूको तर्क कतै मेल खाँदैन।

अखिल नेपाल फुटबल संघ (एन्फा) का टेक्निकल विभाग प्रमुख कृष्ण थापा खेलाडीमाथि आरोप थोपर्दै नेपाली फुटबलका लागि जिपिएस आवश्यक नरहेको जिकिर गर्छन्। ‘त्यो लगाउन आवश्यक छैन। कम्पलसरी हैन। त्यसकारण नलगाएको। कति मिनेटमा कति डिस्टेन्स कुद्यो भनेर थाहा हुने हो। बेकारमा खेलाडीले लगाउन मन पराएनन्।’ थापाले भने।

नेपाली फुटबल विश्लेषक भनेर चिनिएका सञ्जिव मिश्रसमेत जिपिएस नेपाली फुटबलका लागि आवश्यक नरहेको तर्क गर्छन्। ‘यसले खासै महत्व राख्दैन, अनिवार्य आवश्यक पनि हैन यो डिभाइस’ थाहाकर्मीसँगको कुरामा मिश्रले भने।

महत्व नबुझ्दा प्रयोगविहीन जिपिएस

एन्फाले ३ वर्षअघि खरिद गरेको जिपिएस डिभाइस प्रयोगविहीन अवस्थामा छ। कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघको अध्यक्ष भएपछि नेपाली फुटबलको स्तर वृद्धिका लागि अष्ट्रेलियन कम्पनी क्याटापुल्टको ‘प्लेयरटेक’ डिभाइस खरिद गरिएको थियो।

तत्कालीन समय एन्फाले २० वटा पोड, २ बर्षे अवधिको सफ्टवेयर, २५ वटा प्रो स्टाइल गार्मेन्ट, २ वटा चार्जर र १ थान ब्याग खरिद गरेको देखिन्छ। करिब १० लाख रुपैयामा ती सामाग्रीहरू खरिद गरिएको एन्फा स्रोतले बताउँछ।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको पुरुष टोलीले सन् २०१८ मा बंगलादेशमा भएको १२ औ संस्करणको दक्षिण एसियाली फुटबल (साफ) को तयारीका लागि पहिलो पटक डिभाइसको प्रयोग गरेको थियो। त्यसपछि नेपाली टिमले बंगबन्धु गोल्डकप दौरान प्रयोग गर्‍यो।

महिला टिममा ओलम्पिक छनोटको पूर्व-तयारीस्वरूप भारतमा खेलेको हिरो गोल्डकपका लागि पहिलोपटक डिभाइस प्रयोगमा ल्याएको थियो। त्यसपछि डिभाइस हालसम्म प्रयोगमा आएका छैन।

जिपिएसको उपयोगिता बारेमा नबुझ्दा डिभाइसमा एन्फाले गरेको करिब १० लाख रुपैयाँ लगानी बालुवामा पानी झै भएको छ।

एन्फाका टेक्निकल हेड कृष्ण थापा आफैँ एन्फाले डिभाइस खरिद गरेको हो वा अरूबाट प्राप्त भएको हो भन्नेमा अनभिज्ञ छन्। थापा फिफाबाट आएको जिकिर गर्छन्। ‘खै त्यो हामीले किनेको हैन अरू देशले दिएको फिफाबाट आएको हो त्यो खरिदमा एन्फाको खर्च भएको हैन। एएफसी कि फिफाबाट आएको हो।’

थाहाकर्मीको एन्फाले कोटेशनबाट कम्पनी मार्फत किनेको हो रे ? भन्ने प्रश्नमा थापाले भने, ‘खै त्योचाहिँ खरिद बिक्रीमा सोध्नुपर्छ मलाई थाहा भएन। टेक्निकल हेडको रुपमा मैलेभन्दा खेलाडीले मन नपराएपछि प्रयोग नगरिएको हो। नेपाली फुटबलमा यसको आवश्यक पनि छैन।’

एन्फाका तत्कालीन फिजियो विवेक विक्रान्त अधिकारी केही खेलाडीहरू जिपिएस डिभाइसको प्रयोगबाट उत्साहित रहेको बताउँछन्। ‘तत्कालीन समयमा रोहित (रोहित चन्द)लगायत केही खेलाडीहरूले डिभाइसको प्रयोग गरेर आएको आफ्नो नतिजा बारेमा उत्साहित थिए।’ अधिकारीले भने, ‘जिपिएसमा देखिएको नतिजाको बारेमा एन्फा कहिले गम्भीर नै भएन।’

हाल डिभाइसमा प्रयोग भएको सफ्टवेयरको समेत म्याद सकिएको छ। डिभाइसलाई उपयोगमा ल्याउनका लागि हरेक वर्ष सफ्टवेयर रिन्यु गर्नुपर्ने हुन्छ। जसको लागि प्रत्येक पोर्डको ५० अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ। तर, एन्फाले सफ्टवेयर हालसम्म अपडेट नगराउँदा डिभाइस उपयोगविहीन भएको हो।

नेपाली राष्ट्रिय टोलीका निवर्तमान प्रशिक्षक बालगोपाल महर्जन सफ्टवेयरको समस्याको कारण हाल प्रयोगमा नआएको बताउँछन्, ‘त्यो प्लेयरटेकबाट खरिद गरिएको डिभाइस रिन्यु गरिएको छैन। सफ्टवेयरको समस्याले गर्दा प्रयोग नगरिएको हो। मलाईभन्दा पनि यसको बारेमा बढि फिजियो आविष्कार (आविष्कार पुडासैनी) लाई थाहा छ।’

के हो जिपिएस डिभाइस

जिपिएस डिभाइस एक अत्याधुनिक प्रविधि हो। जुन खेलकुद र खेलाडीलाई लक्षित गरेर तयार गरिएको हो। सेन्सर समावेश भएको डिभाइस भेष्टभित्र एक सानो पोर्ड हुनेछ। र पोर्डले खेलाडीको शारीरिक अवस्थाको सबै डेटा कम्प्युटरमा पठाउँदछ, फिटनेस प्रशिक्षक वा टिमको फिजियोले जिपिएस ट्रयाकरको मद्धतमा खेलाडीको नाडी दर, रक्तचाप, रक्त सञ्‍चार, विशिष्ट क्षेत्रमा खर्च गरेको समय देखाउँदै नक्सा निर्माण गर्न सक्दछन्। जसले हरेक खेलाडीको सवल र कमजोर पक्षको मूल्यांकन गर्न सहयोग पुग्ने देखिन्छ। धेरै व्यावसायिक र राष्ट्रिय टोलीहरूले ती सेवा प्रदायकसँग साझेदारीमा डिभाइस खरिद गरेर प्रयोगमा ल्याएका छन्।

विराटनगर सिटी जिपिएस प्रयोग गर्न उत्साहित

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग खेलिरहेको विराटनगर सिटी फुटबल क्लबसमेत जिपिएस डिभाइस भित्र्याउन उत्साहित छ। विराटनगरले ओप्टा, क्याटापुल्ट, इन्स्टेट, वाइज्कटलगायत कम्पनीहरूसँग डिभाइस खरिदको बारेमा छलफल चलाएको प्रमुख कार्यकारी अधिकृत सुभाशिश कोइरालाले बताए।

‘मुख्य गरी क्याटापुल्ट र ओप्टासँग छलफल चलाइरहेका छौँ। क्याटापुल्टसँग छलफल तय भएको छ। यो सिजनपछि प्रयोगमा ल्याउने अपेक्षा हो। ओप्टाचाहिँ डेटावेस हो क्याटापुल्टचाहिँ जिपिएस हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.