|

काठमाडौं : उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो। उनीहरुको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख १२ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो। उनीहरुलाई पक्राउ नगर्न उच्च अदालतले दिएको अन्तरिम आदेशको प्रतिकुल हुनेगरी पक्राउ गरिएको भन्दै सर्वोच्चले बिनाशर्त रिहा गर्न आदेश गरेको छ।

सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीच एमसीसी पारित गर्न सहयोग गर्ने सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो। पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफीसमेत मागेको थियो।

काठमाडौं प्रहरीले उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुर र राज्यविरुद्धको अपराध मुद्दामा म्याद लिएर थुनामा राखेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.