|

म्याग्दी : कोरोनाको दोस्रो लहरका कारण धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निश्चित समयबाहेक अरूबेला बजार खुल्दैनन्।

बजारमा निस्के पनि कोरोना संक्रमण हुने जोखिम उत्तिकै छ। यस्तो अवस्थामा म्याग्दीको सदरमुकाम बेनी बजारका धेरैका छतमा गरिएको कौसी खेती तरकारीको जोहोका लागि गतिलो माध्यम बनेको छ। 

जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख साधना कुमारी श्रेष्ठको घर पनि हुलाक चोकमा नै छ। उनले आफ्नो घरको छतलाई कुनै व्यवसायिक किसानको करेसाबारी भन्दा कम बनाएकी छैनन्।

घरको छतैभरि पुदिनादेखि लिएर टमाटरसम्मका विभिन्न तरकारी लहलह भएका छन्। समय कटाउन पनि सजिलो, आफैंले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा संक्रमणबाट पनि जोगिने भएकाले उनलाई कुनै कुराको पनि पिरलो छैन। 

श्रेष्ठमात्र होइन, बेनी नगरपालिका वडा नं ७ र ८ मा पर्ने बेनीबजारमा १ हजार २ सयभन्दा बढी घर छन्। अधिकांशले कौसी खेती गरेका छन्।

अर्गानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको वचत हुने र घरमा नै बसेर तरकारीको स्याहार गर्दा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकोले कौसी खेती उपयोगी भएको बेनी नगरपालिका ७ वीरेन्द्रचोककी सिर्जना भट्टचन बताउँछिन्।

श्रेष्ठ र भट्टचनजस्तै बजारका ५० महिला र पुरुषले कौसी खेतीसम्बन्धी तालिम नै लिएर यो खेती सुरु गरेका हुन्। आफ्नो वडामा कौसी खेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी नगरपालिका ७ ले केही समयअघि कौसी खेतीसम्बन्धी तालिम नै दिएको थियो। 

भान्छाबाट उत्पन्न फोहोर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तासँग साझेदारीमा तालिम तथा आवश्यक सामग्री खरिद गरी कौसी खेतीलाई व्यवस्थित गरेको बेनी नगरपालिका-७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।

वडाध्यक्ष श्रेष्ठले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केटलगायत माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि परिवारले तरकारी उत्पादन गर्न सक्ने बताए। 

तालिममा अर्गानिक तरकारी खेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो। 

वडा कार्यालयको वार्षिक बजेटअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको थियो। तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रिड जातको समेत जानकारी गराइको अध्यक्ष श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.