|

काठमाडौं : सरकारकै संलग्नतामा कोरोना भाइरसविरुद्धको औषधि (खोप) मा भ्रष्टाचार भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। 

कोरोना संक्रमणको भयावह अवस्था हुँदासमेत सरकार गम्भीर नबनेको बरु उल्टै भ्रष्टाचारमा डुबेको कांग्रेसको भनाइ छ। 

अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नुपरेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनुपरेको दयनीय घटना देखा परेको शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा एक विज्ञप्तिमा भनिएको छ। 

कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बाबजुद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था नगरेको पनि उनले विज्ञप्तिमा लेखेका छन्। 

‘कोभिड–१९ को महामारी दिनानुदिन विस्तार भइरहेको छ। दैनिक हजारौंको संख्यामा कोभिडका बिरामी थप हुँदै छन्। देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भएको छ', जारी विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिबद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन।'

विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले नसुनेको सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध नगरेको पार्टीले जनाएको छ।

'समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन। फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ। यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्णरुपमा जिम्मेवार छ,' कांग्रेसको आरोप छ।

विज्ञप्तिमा भनिएको छ- अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ। सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन। जनताको जिवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो', विज्ञप्तिमा भनिएको छ, 'जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधि (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ। सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु। नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.