|

काठमाडाैं : बागमती प्रदेशमा राष्ट्रियसभाको उप–निर्वाचनआगामी जेठ ६ गते हुँदैछ। निर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। अब सो पदका लागि गृहमन्त्री रामबहादुर थापा र खिमलाल देवकोटा तथा कृष्ण बहादुर तामाङ बीच त्रिपक्षीय भिडन्त हुने भएको छ। 

उप–निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी पाँच दलले आयोगमा दल दर्ता गरेका भएपनि उम्मेदवारी भने तीनजनाको मात्र परेको हो। उम्मेदवार तीन जना भएपनि मुख्य प्रतिस्पर्धामा थापा र देवकोटा नै रहेका छन्।

देवकोटा एमालेको माधव नेपाल निकटका बुद्धिजीवी हुन्। भने उनी संघियताविद्समेत हुन्। उनलाई कांग्रेस, माओवादी केन्द्र र नेपाल समूहले साझा उम्मेदवारका रुपमा उठाएको हो। थापालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बनाएका हुन्। यो अवस्थामा बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले अध्यक्ष र नेता माधवकुमार नेपाल बीचकै लडाई देखिएको विश्लेषण भइरहेका छन्।

बादलको प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छन्। देवकोटाको प्रस्तावकमा भने माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थक कांग्रेस सांसद राधा घले रहेकी छन्। केन्द्रकै राजनीतिक परिवेशमा ओलीविरुद्धको मोर्चावन्दी स्वरुप अन्य विपक्षी दलहरुले देवकोटालाई उम्मेदवार बनाएको विश्लेषण भइरहेको छ । 

म दलबाट होइन स्वतन्त्र उम्मेदवार हुँ

देवकोटाले आफु एमालेको उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार भएको बताएका छन्। थाहाखबरसँगको कुराकानी देवकोटाले भने,‘अहिलेसम्मको मेरो लडाई, आन्दोलन, र जुन बिषय उठान गरेको छुँ, यो कलमको आन्दोलन हो। मैले निर्वाचन आयोग समक्ष कलम चुनाव चिन्हका लागि निवेदन दिएको छुँ। केही दिनमा पाउछुँ होला।’ आफूलाई एमाले निकट भन्नु गलत रहेको उनको भनाई छ।

आफूले हिजोदेखि नै स्वतन्त्ररुपमा प्रदेश, स्थानीय र संघीयताको पक्षमा यसलाई संस्थागत गर्नका लागि र सिंहदरबारलाई जनताको घर दैलोसम्म कसरी पुराउन सकिन्छ भनेर बहस गरेको उनले सुनाए। देवकोटाले भने,‘आफूले हिजो जुन मुद्धा उठाएको थिए अहिले पनि त्यो मुद्धा छ। म राष्ट्रियसभामा गएर तलैदेखिको आवाज मुखरित हुने पक्ष भन्नेमा जोड दिन्छु। त्यसैका लागि मेरो उम्मेदवारी हो।’

स्वतन्त्र उम्मेदवार भएका कारण कांग्रेसको समर्थन

ओली विरुद्ध मोर्चाबन्दी गरेका दलहरु पनि देवकोटालाई स्वतन्त्र उम्मेदवारकै रुपमा समर्थन गरेको बताइरहेका छन्। एमाले–एमालेकै उम्मेदवार प्रतिस्पर्धी भनेर चर्चा चलेपनि देवकोटालाई समर्थन गरेको कांग्रेसले भने स्वतन्त्र उम्मेदवार भएकाले सहयोग गर्ने निर्णय भएको बताएको छ।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले देवकोटा एमालेको नभई स्वतन्त्र उम्मेदवार भएकाले कांग्रेसले सहयोग गर्ने निर्णय गरेको बताए। उनले भने,‘उहाँ एमालेको होइन स्वतन्त्र हो। उहाँसँग कुनै पार्टीको चुनाव चिन्ह छैन्।’ देवकोटा संघीयताको परिकल्पनाकार र विज्ञको रुपमा काम गरेका स्वतन्त्र व्यक्ति भएकाले नेपाली कांग्रेसले स्वतन्त्ररुपमा उठेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको बाँनियाले बताए।

उम्मेदवारी फिर्ता गर्दैन

देवकोटा वाग्मती प्रदेश योजना आयोगको पूर्व उपाध्यक्ष समेत हुन्। उनले एक वर्ष काम गरेर पदबाट राजीनामा दिएका थिए। पार्टी केन्द्रमा विवाद कायम रहँदा यस्तो देखिनु स्वाभाविक रहेको एमाले नेताहरुले बताएका छन्। एमाले पार्टीबाट दुई जना उम्मेदवार बनेपछि सहमती खोज्ने प्रयास जारी रहेको नेताहरुले बताएका छन्।

केन्द्रमा कुरा मिले एक जनाको उम्मेदवारी फिर्ता हुने भन्ने चर्चा पनि उत्तिकै छ। तर, देवकोटा कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडानमा छन्। ‘उम्मेदवारी फिर्ताको कुरो कल्पना बाहिरको हो, सम्भव छैन्’ देवकोटाले भने,‘सहमती, असहमति भन्दा पनि मेरो आफ्नो मुद्वा जिवितै छ। केन्द्रमा नेताहरु एक भएपनि नभए पनि मैले स्थानीय जनप्रतिनिधिसँग बसेर काम गरेको छु। म जित्छु भन्ने विश्वास छ।’

थापा माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका हुन्। पार्टी परिवर्तन गरेपछि माओवादी केन्द्रले थापालाई कारबाही गरेकाले पद रिक्त छ। सोही पदमा उप–निर्वाचनहुनलागेको हो।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशको प्रदेशसभाका एक सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुई सय ३८ गरी कुल तीनसय ४८ जना मतदाता छन्। मतदान जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.