|

काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।

प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।

संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ। ५ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

पुरीका अनुसार कोरोनाको पहिलो लहरमा देशभर ३०० पत्रकार संक्रमित रहेका थिए। जसमध्ये ५ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा २ जना पत्रकारको मृत्यु भइसकेको छ।

दोस्रो लहरमा कोरोनाबाट पत्रकार थप जोखिममा रहेको उनले बताए।

पत्रकार महासंघमा होल्डिङ सेन्टर

महासंघले कोभिड-१९ को जोखिममा रहेका पत्रकारहरूका लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ।

महासंघको केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित अतिथि गृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको पुरीले बताए।

‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,' उनले भने।

कोभिड संक्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरले सुविधा उपलब्ध गराइने पुरीले जानकारी दिए। उनका अनुसार सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ।​

अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरू संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । थप ५ बेड निर्माण प्रक्रिया अगाडि बढेको छ ।

'महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरूलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ,' पुरीले जानकारी दिए।​

कोरोनाबाट विश्वभर करिब १२ सय पत्रकारको मृत्यु

सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​

अघिल्लो साता स्वीट्जरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको हो।

भारतमा मात्र १०७ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ।

उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।

मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७,  इक्वेडरमा ४६, बेलायतमा २८ पत्रकारले ज्यान गुमाएका छन्।

यसैगरी डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१/२१, अर्जेन्टिना र भेनेजुएलामा १७/१७ पत्रकारले ज्यान गुमाएका छन्।

पानामामा १६, स्पेनमा १५ र युक्रेनमा १४ पत्रकारको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.