|

रौतहट : कोरोनाको महामारीमा अन्य जनप्रतिनिधिहरू आफैँ भागाभाग गरिरहेका बेला रौतहटका एक वडा अध्यक्ष भने आफैँ गाडी चलाएर धमाधम बिरामी ओसार्न लागेका छन्। चन्द्रपुर नगरपालिका-२ का वडा अध्यक्ष दुत्तबहादुर थिंग आफैँले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन्।

कोभिडको आशंका र ज्वरो आएका बिरामीहरूलाई उनी आफैँले एम्बुलेन्स चलाएर स्वाब परीक्षणको लागि लगेका हुन्। शनिबार उनले आफ्नो वडाका करिब २० जनालाई स्वाब परीक्षणका लागि ओसारेका छन्। एम्बुलेन्सका चालकसमेत बिरामी भएपछि आफैँले बिरामी ओसारेको वडा अध्यक्ष थिंगले बताए।

सेवाकै लागि जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नभएको वडा अध्यक्ष थिंग बताउँछन्। शनिबार मात्रै असनवा, नयाँबस्ती तथा फूलबारीका बिरामीहरूलाई स्वाब परीक्षणको लागि लगेको उनले बताए।

वडाबासीको सेवामा आफू कुनै पनि बेला तयार रहेको उनको प्रतिक्रिया छ। गत वर्ष पनि उनी यसरी नै सक्रिय भएर खटेका थिए। यता, जिल्ला प्रशासन कार्यालय रौतहटले आज शनिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको कारण रौतहट जिल्ला सुनसान छ।

हालसम्म रौतहटमा पछिल्लो समय मात्रै ११ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन् भने २ सय २० जनाभन्दा बढी सक्रिय संक्रमित छन्।​ अत्यावश्यकका सवारीसाधनबाहेक सबै बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.