|

रुकुम (पूर्व) : महँगो तलब र सेवा सुविधाको सहज पहुँच भएको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरू आउन आनाकानी गरिरहेका बेला रुकुमपूर्वको दुर्गम गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा दुई डाक्टर दत्तचित्तले सेवा गरिरहेका छन्।

उनीहरू दुर्गमका जनताका लागि रातदिन नभनी सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको सबैभन्दा दुर्गम तथा विकट गाउँमा २४ घण्टा जनताको सेवामा खटिइरहेका दुई डाक्टरलाई स्थानीयले भगवानसरह मानेका छन्। दरबन्दी अनुसारका स्वास्थ्यकर्मी लामो समयदेखि पदपूर्ति नहुँदा यहाँको उपचार सेवा प्रभावित भएको थियो।

पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कोलले एक वर्षपछि डाक्टर पाएको छ। गत वर्षदेखि एक वर्षसम्म डाक्टरविहीन रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलले बल्ल करारको डाक्टर पाएको हो।

एक डाक्टरसहित ९ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा हाल ६ जना मात्र कर्मचारी रहेका छन्। एक डाक्टर, स्टाफ नर्स-एचए एक-एक, अहेव-अनमी ३-३ जना गरी ९ जना कर्मचारीको दरबन्दी रहेको छ। हाल स्टाफ नर्स एचए एक-एक र एक अनमी गरी तीन दरबन्दी खाली रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलले जनाएको छ।

गत वर्ष दरबन्दीको डाक्टर सरुवा भएदेखि खाली रहेको डाक्टरको कोटामा गएको फागुन महिनामा प्रदेश सरकारले करारमा एक डाक्टर पठाइ दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिए।

प्रदेश सरकारले व्यवस्था गरेको डाक्टर कुण्डन प्रसादसँगै प्रदेश सरकारकै कोरोना विशेष स्वास्थ्य कार्यक्रमअन्तर्गतबाट डाक्टर अनिल बुढा मगर (खाम) गरी प्राथमिक स्वास्थ्य केन्द्र कोलले दुईजना करारका डाक्टर पाएको संयाजक गिरीले बताए।

हाल कोरोना भाइरस संक्रमणको जोखिममा दुई डाक्टर पाएकोले गाउँपालिकाबासीको स्वास्थ्य सेवा प्रवाहमा सहज भइरहेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिइन्। करारको डाक्टर आएदेखि औषधि उपचार भइरहेकोले अब ल्याब परीक्षण, भिडियो तथा साधा एक्सरेलगायत सेवा पनि छिट्टै सञ्चालनमा ल्याउन लागिएको उपाध्यक्ष मल्लले बताइन्। कोलमा स्वास्थ्य बिमा सेवा पनि सूचीकृत रहेकोले बिमितका स्वास्थ्य उपचारका लागि फार्मेसी पनि सञ्चालनमा ल्याइँदै छ।

जिल्लाकै दुर्गम गाउँपालिका अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आउन नमानिराखेको अवस्थामा धेरै पटकको प्रदेश सरकार समक्ष अनुरोधपछि मात्र बल्ल करारको डाक्टर पाइएको मल्लको भनाइ रहेको छ। 

एक वर्षसम्म डाक्टरविहीन भएको अवस्थामा जिल्लाकै भौगोलिक रूपले ठूलो र दुर्गम  गाउँपालिकाबासीले रुपैयाँ र समयको धेरै खर्च गरेर अन्यन्त्र स्वास्थ्य उपचारमा जानुपर्ने बाध्यता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.