स्ट्याण्डबाई रहन एम्बुलेन्स चालकलाई आग्रह

|

चितवन : आज विश्व रेडक्रस दिवस। रेडक्रसका संस्थापक हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। मानवताको संरक्षण र विपदमा परेका नागरिकको उद्दारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

हाल नेपाललगायत विश्वका कैयौँ देशहरूमा कोरोना महामारी फैलिरहेको छ। यस महामारीमा रेडक्रसको भने खासै भूमिका देखिएको छैन। कोरोना संक्रमितहरू एम्बुलेन्सको अभावमा छटपटिएरै मर्न बाध्य भएको सूचनाहरू बढ्न थालेका छन्।

चितवनमा पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा रेडक्रससँगको अपेक्षा बढेको छ। संक्रमितलाई आवश्यक परेको बेला अस्पताल पुर्‍यायाउनका लागि एम्बुलेन्स चालकहरूलाई २४सै घण्टा स्ट्याण्डबाई बस्न भनिएको नेपाल रेडक्रस सोसाइटी चितवनले जनाएको छ।

रेडक्रसका एम्बुलेन्सहरूले बिरामीसँग प्रतिकिलोमिटर ४० रुपैयाँभन्दा बढी भाडा लिन नपाउने रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले बताए।

‘आफू पनि बच्नका लागि न्यूनतम शुल्क लिन भनिएको हो। यदि यसले पुगेन भने स्थानीय तहहरूसँग समन्वय गर्छौं तर बिरामीसँग बढी शुल्क लिँदैनौँ’, उनले भने।

तोकिएभन्दा बढी भाडा लिनेलाई रेडक्रसले नै कारबाही गर्ने उनी बताउँछन्। कसैले बढी भाडा मागे वा लिएमा आफ्नै मोबाइल नम्बर ९८५५०५८३९९ मा खबर गर्न उनले आग्रह गरे।

‘जति पनि एम्बुलेन्सहरू छन्, ती स्ट्याण्डबाई रहने र आफ्नो गाडीलाई स्यानिटाइज गरेर सुरक्षित राख्ने भनिएको छ’, उनले भने, ‘बिरामीलाई अस्पताल वा घरसम्म पुर्‍याएपछि गाडीलाई किटाणुरहित बनाउने गर्नुपर्छ। विपदको बेला सके निःशुल्क गरौँ।’ रेडक्रस सोसाइटी चितवन शाखाअन्तर्गत घुम्ती रक्तदान गर्ने एकसहित जम्मा २२ वटा एम्बुलेन्स छन्। तीमध्ये २० वटा एम्बुलेन्स नियमित रुपमा सञ्चालनमा छन्।

‘कोरोनाका बिरामी भनेर कसैलाई पनि फरक व्यवहार नगर्न एम्बुलेन्स चालकहरूलाई भनेका छौँ’, उनले भने, ‘पिपिई, मास्क, पञ्जालगायत सुरक्षाका सामग्री लगाउनुहोस्। बिरामी र चालकको सम्पर्क नहुनेगरी सुरक्षित भएर बिरामी बोक्नुस् भन्ने हाम्रो धारणा हो।’ चालकहरूको लागि सुरक्षा सामग्रीहरू रेडक्रसले उपलब्ध गराएको उनी बताउँछन्।

स्थानीय तहले मागे एम्बुलेन्स

एम्बुलेन्स सञ्चालन र चालकको सम्पूर्ण खर्च व्यहोर्ने गरी संक्रमितलाई ओसारपसार गर्न स्थानीय तहहरूले एम्बुलेन्स मागेको उनले बताए। ‘एम्बुलेन्सको मर्मत सम्भार गर्ने र चालकलाई दिने सेवा सुविधालगायतको खर्च पनि व्यहोर्ने भनेर कतिपय पालिकाहरूले एम्बुलेन्स माग्नुभएको छ’, उनले भने, ‘भरतपुर महानगरपालिकाले पनि माग गरेको छ। एम्बुलेन्स दिने कि नदिने भनेर भोलि (आइतबार) निर्णय हुन्छ।’

उनका अनुसार बिरामीलाई निःशुल्क ओसारपसार गर्ने भनेर भरतपुर महानगर, माडी, राप्ती र खैरहनी नगरपालिकाले एम्बुलेन्स माग गरेका छन्। रेडक्रसको पार्वतीपुर उपशाखाले बिरामीहरूलाई निःशुल्क अस्पताल पुर्‍याउने र ल्याउने गरेको उनले बताए। निःशुल्क एम्बुलेन्स सेवाका लागि स्थानीय दाताहरुले अक्षय कोषको स्थापना गरेको छन्।

मानिसहरुलाई जथाभावी हिँड्डुल नगर्न, हिँड्नै परेमा अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने विषयमा सचेतना वृद्धि गर्न उपशाखाका स्वयमसेवकहरुलाई खटाइएको उनले बताए।

त्यसैगरी, थोरै संख्यामा सामाजिक दूरी कायम गर्दै रक्तदानका कार्यक्रमहरू सञ्चालन गर्न पनि विभिन्न संघसंस्थाहरूलाई आग्रह गरिएको उनी बताउँछन्।

‘कोभिड र लकडाउनका कारण रक्तदान कार्यक्रम कम भएका छन्’, उनले भने, ‘बिरामीलाई रगत पुर्‍याउन धौ–धौ हुन लागेको छ। आफू सुरक्षित भएर रक्तदान गरौँ भनेर भनेका छौँ।’ चितवनमा रेडक्रसका ४१ वटा उपशाखा रहेका छन्।

                              नेपाल रेडक्रस सोसाइटी चितवन शाखाअन्तर्गतका एम्बुलेन्स र एम्बुलेन्स चालकहरुको सम्पर्क नम्बर

        

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.